दलाल सत्ता र भ्रष्ट संसदीय व्यवस्थाको भण्डाफोर गर्न मेरो उम्मेदवारी

दलाल सत्ता र भ्रष्ट संसदीय व्यवस्थाको भण्डाफोर गर्न मेरो उम्मेदवारी

सामाना साँस्कृतिक परिवार, चोमोलोङ्मा साँस्कृतिक कम्पनी, पूर्वी सामना परिवार हुँदै तत्कालीन रेडियो जनगणतन्त्र नेपाल पूर्वी प्रशारण सेवा र पछि गणतन्त्र एफएममार्फत देश र जनताको पक्षमा आफ्नो कला र गलाले आवाज उठाउँदै आएका क्रान्तिकारी योद्धा, क्रान्तिकारी कवि पेमा लामाले नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाका तर्फबाट धरान उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् । उनै लामासँग गरिएको कुराकानीको सारसंक्षेप :

तपाईले धरान महानगरपालिकामा किन उम्मेदवारी दिनुभएको हो ?
मैले पार्टीको आधिकारिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाका तर्फबाट धरान उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएको छु । हामीले समाज परिवर्तनका लागि लामो संघर्ष गरेका छौं, तर त्यसलाई अझै संस्थागत गर्न सकिरहेका छैनौं । नेपालको जनवादी क्रान्तिका बाँकी कार्यभारलाई पूरा गर्नुपर्ने महत्वूर्ण दायित्व रहेको छ । यसका लागि हामीले विभिन्न रणनीति र कार्यनीतिहरु अपनाउनुपर्ने हुन्छ । सोही क्रममा हामीले अहिलेको निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्दैछौं । पहिलो कुरा यसबाट पार्टीको अवस्था सुदृढ र चलायमान हुनेछ भने दोस्रो कुरा अहिले संसदवादी पार्टीहरुले आम जनतामा जतिपनि भ्रम छरेका छन्् त्यसलाई चिर्न र दलाल राज्यसत्ताका कर्तुतहरुलाई भण्डाफोर गर्नका लागि मैले उम्मेदवारी दिएको हुँ ।

जनयुद्ध र चुनाबी युद्धमा कति फरक हुने रहेछ ? आफ्नो अनुभूति बनाइदिनुहोस् न ।
अनुभूतिका हिसाबले त धेरै फरक छ । संसदीय परिपाटीको निर्वाचन भनेको ‘मास पोलिटिक्स’ हो । यसमा हामी आफ्ना समर्थक, साथीभाई, शुभचिन्तकहरुसँग छ जान्छौं नै हाम्रा विरोधीहरुसँग पनि कहिलेकाँही सहयात्रा गर्नुपर्ने हुदो रहेछ । यस प्रकारको निर्वाचन जित्नका लागि साम, दाम, दण्ड भेदसबैखाले रणनीति अपनाउनु पर्ने हुन्छ । जुन क्रान्तिकारीहरुका लागि त्यति शोभनिय विषय होइन । पहिले सिंगो पार्टीको कार्यनीतिक स्टेपहरुलाई पूरा गर्नका लागि जीउज्यानको बाजी थापेर लडिन्थ्यो । त्यसमा वर्गीय स्वार्थभन्दा बढी केही पनि थिएन । यसकारण पनि बुलेटको राजनीति र ब्यालेटको राजनीति खासगरी क्रान्तिकारीहरुका लागि भिन्न भिन्न अनुभूति हुने संघर्ष हुन् ।

अन्य पार्टीले चुनावका लागि विभिन्न आकर्षक नारा दिइरहेका छन् । तपाईका चुनावी नाराहरु के के छन् ?
पहिलो कुरा अरु पार्टीले दिएका आकर्षक नारा होइनन्, ति भ्रम हुन् । जनतालाई जसले सबैभन्दा बढी भ्रम दिनसक्छ तिनीहरु नै यो संसदीय निर्वाचनमा अघि जाने जस्तो देखियो । यो गलत छ । हामी त्यसप्रकारको भ्रम दिएर चुनाव जित्ने पक्षमा छैनौं । बिशेष गरेर यहाँ जुन प्रकारको अस्तव्यस्तता रहेको छ, त्यसमा खेल्ने कोशिस भइरहेको छ । हाम्रा मुख्य कुरा भनेको क्रान्तिको एजेन्डा हो । अहिले उनीहरुले जति पनि काम गर्छौ भनेका छन्, ति कुनै पनि नयाँ विषय होइनन् । यसअघि पनि उनीहरुले उठाएका तर पूरा हुन र गर्न नसकेका विषय हुन् । यी सबै कुरा पूरा गर्नका लागि हाम्रो राज्यसत्ताको चरित्र के हो ? र यसले धान्न सक्छ कि सक्दैन भन्ने नै हो । हामीले अहिले तल्लो स्तरबाट नै कसरी आम जनतालाई रोजगार प्रदान गर्न र आत्मनिर्भर बनाउन सकिन्छ भन्ने कुरालाई विशेष जोड दिनेछौं । कम्तीमा पनि जनताका आधारभूत आवश्यकताहरुको हल गर्ने, छोराछोरीलाई सुलभ रुपमा शिक्षा प्रदान गर्ने अवस्थाको मात्रै सिर्जना गर्न सकियो भनेपनि धेरै ठूलो उपलब्धी हासिल गर्न सकिन्छ । नाराले हुनेवाला केही पनि छैन ।

धरान नगरमा धेरै लामो समयदेखि बस्दै आउनु भएको छ, यहाँका समस्याहरु के रहेछन् ?
धरान अरुभन्दा धेरै फरक अर्थ र महत्व बोकेको उपमहानगरपालिका हो । यो लाहुरेहरुको बस्ती हो । त्यसैले यहाँका धेरै जनतामा उत्तरआधुनिकतावादी र उपभोक्तावादी चिन्तन हाबी रहेको हामी पाउँदछौंं । युवाहरु पनि लाहुरे लाग्ने नाममा विदेशिने र राजनीतिक चेतना र चासोबाट पुरै कट्ने अवस्था रहेको छ । यसलाई एउटा समस्याकै रुपमा लिनुपर्दछ । यहाँका आम युवाहरुलाई आत्मनिर्भर गराउनुपर्ने समस्या पनि हाम्रा सामू रहेको छ । त्यतिमात्रै होइन यहाँ लागुपदार्थमा रमाउने युवाहरुको संख्या पनि ठूलो रहेको छ । यसलाई हल गर्नुपर्दछ । त्यसैगरी शिक्षा, स्वास्थ्य र रोजगार यहाँको अर्को समस्याका रुपमा रहेको छ । एसियाकै प्रतिष्ठित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान यही रहेको छ भने, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, हात्तिसार क्याम्पसजस्ता प्राविधिक शिक्षालयहरु यही रहेका छन् । तर पनि यस क्षेत्रका कतिपय युवाहरुले क्षमता हुँदा हुँदै पनि आर्थिक अभावका कारण प्राविधिक शिक्षा लिन नसकेको अवस्था छ । त्यसलाई हल गर्नका लागि निश्चित कोटा छुट्याउने पहल हामी गर्नेछौं ।

धरानको अर्को प्रमुख समस्यामा सुकुम्बासी समस्या पनि पर्दछ, यसलाई हल गर्नका लागि के गर्नुहुन्छ ?
सुकुम्बासीको नयाँ परिभाषा आवश्यक छ । वास्तविक सुकुम्बासीहरुलाई राज्यले उचित व्यवस्था नगरीकन सुखै छैन । उनीहरु जुन स्थानमा बसेका छन्, त्यो कुनै व्यक्ति बिशेषको भनएर राज्यको जग्गामा बसिरहेका छन्, त्यो उनीहरुले पाउनुपर्दछ भन्ने हाम्रो भनाई छ । त्यतिमात्रै नभई सुकुम्बासी समस्या हल गर्नका लागि एकीकृत बस्ती निर्माण गर्नुपर्ने आवश्यकता हामीले ठानेका छौं । अरुले जसरी हल्का ढंगले सुकुम्बासी समस्या समाधानको कुुरा गरेका छन्, त्यो केवल भ्रममात्रै हो । यो कुरा सरकार, भूमिसुधार मन्त्रालयसँग सम्बन्धित छ । उनीहरुलाई धनीपूर्जा कसैले गोजीबाट दिने होइन । तर हामी सुकुम्बासीका समस्या समाधानका लागि काँधमा काँध हालेर अघि बढ्नेछौं ।