एजेन्सी । फ्रान्सको राष्ट्रपति निर्वाचनमा मध्यमार्गी इमानुएल म्याकरोले आफ्नी दक्षिणपन्थी प्रतिद्वन्द्वी प्रतिस्पर्धी म्यारिन ला पेनलाई हराउँदै विजयी बनेका छन् ।

राष्ट्रपति निर्वाचनमा जित हासिल गर्ने पक्का भएपछि नै उनले पेरिसको लुव्र म्युजियमअघि करिब १५ हजार समर्थकलाई सम्बोधन गरेका थिए । पेरिसमा म्याकरोका समर्थकमा खुसीको लहर छाएको छ ।

इमानुएलले आफ्ना समर्थकलाई सम्बोधन गर्दै भने, ‘यो फ्रान्सको जीत हो । यो फ्रान्सको इतिहासको नयाँ अध्याय हो ।’ उनले सम्बोधनका क्रममा आफूले फ्रान्समा पाँच वर्षको कार्याकालमा विभाजनकारी शक्तिविरुद्ध लड्ने बताएका छन् ।

उनले फ्रान्सको एकताको ग्यारेन्टी दिने र युरोपको रक्षा गर्ने बाचा समेत गरेका छन् । उनले आफूले विशाल कार्यको सुरुवात गरेको उल्लेख गर्दै आफूले सार्वजनिक जीवनमा नैतिकतालाई फिर्ता ल्याउने, लोकतन्त्रको जीवनशक्तिलाई फिर्ता गराउने, अर्थव्यवस्थाको प्राण जोगाउने, युरोपलाई पुनर्गठित गर्नका लागि सबैभन्दा बढी ध्यान दिने तथा फ्रान्सका सबै मानिसलाई सुरक्षाको प्रत्याभूति दिलाउने बाचा गरेका छन् ।

यसैगरी उनले चरमपन्थ र वातावरण परिवर्तनसँग पनि लड्ने प्रतिबद्धता जनाएका छन् । म्याकरोका साथमा पत्नी ब्रिजिट समेत मञ्चमा उपस्थित भएकी थिइन् ।

म्याकरोले आफ्ना प्रतिद्वन्द्वी ला पेनलाई मतदान गर्ने समर्थकलाई सम्बोधन गर्दै आगामी दिनमा कट्टरपन्थीलाई कहिल्यै भोट दिनुपर्ने अवस्था सिर्जना नहुने वातावरण बनाउने दाबी गरेका छन् ।

ला पेनले भने निर्वाचनमा आफ्नो हार स्वीकार गरेकी छन् । उनले भनिन्, ला पेनले भने निर्वाचनमा आफ्नो हार स्वीकार गरेकी छन् । उनले भनिन्, ‘यो ऐतिहासिक नतिजा हो, जसमा फ्रान्सका जनताले देशभक्त र रिपब्लिकन गठबन्धनलाई नयाँ राष्ट्रपतिको मुख्या विपक्षीको रुपमा चुनेका छन् । यसको पहिलो चरणमा नै जनताले ठूला पार्टीलाई अस्वीकार गरेपछि नै फ्रान्सको राजनीतिमा ठूलो परिवर्तन आएको प्रष्ट भएको थियो ।’

उनले भनिन्, ‘दोस्रो चरणमा राष्ट्रवादी र वैश्विकरणका हिमायतीबीचको प्रतिस्पर्धा थियो । म फ्रान्समा निर्णायक लडाईको हिस्सा बन्न सबै देशभक्तलाई अपील गर्दछु । आगामी दिनमा तपाईहरुको आवश्यकता पर्नेछ ।’

फ्रान्समा आगामी जुन महिनामा संसदीय निर्वाचन हुँदैछ । म्याकरोका सामु सो चुनाव पनि जित्नुपर्ने चुनौती रहेको छ । किनकी उनको पार्टीका एक जना पनि सांसद छैनन् । सरकार चलाउन महत्वपूर्ण निर्णय गर्न उनले अरु पार्टीका सांसदको सहारा लिनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर