‘कहिले संघर्षको संसदीय तरिका अबलम्बन गरिन्छ त कहिले गैर संसदीय तरिका, कहिले संसदको बहिस्कार गर्ने कार्यनीति अबलम्बन गरिन्छ त कहिले संसदमा भाग लिने, कहिले गैर कानुनी संघर्ष हुन्छन् त कहिले कानुनी तरिकाको अभ्यास गरिन्छ र यी विभिन्न रुप र तरिका एक अर्कासित सम्बन्धित र जोडिएका हुन्छन् ।’ लेनिन
विश्व सर्वहारा वर्गका महान् नेता लेनिनको यो भनाईबाट अहिले नेपालको क्रान्तिकारी माओवादी आन्दोलनलाई नियाल्ने हो भने नेकपा (क्रान्तिकारी माओवादी) ले निर्वाचनलाई उपयोग गर्ने कुरालाई सही, व्यवहारिक र वस्तुवादी ढंगबाट विश्लेषण गरिनु र त्यसलाई क्रान्तिका लागि उपयोगको नीतिबाट हेरिनु जरुरी छ । तथापि अहिले सामाजिक सञ्जालका भित्तादेखि बजारसम्म क्रान्तिकारी माओवादीमाथि भ्रमपूर्ण प्रचारबाजी गरिएको छ ।
क्रान्तिकारीहरुले पुरानै सत्ता अन्तर्गत हुने निर्वाचनमा भाग लिने कि नलिने भन्ने कुरा त्यहाँको वस्तुस्थिति, क्रान्तिको तात्कालिक अवस्था, आन्दोलनको उभार या उतारको अवस्था आदिले निश्चित गर्ने भएपनि यसको सैद्धान्तिक मार्गनिर्देश गर्ने काम भने लेनिनले गरेका छन् र श्रेय पनि उनैलाई जान्छ । उनले घोर भन्दा घोर प्रतिक्रियावादी संसदीय निर्वाचनमा समेत भाग लिएको र त्यो लाभदायक र आवश्यक पनि हुने कुरामा जोड दिएका छन् । अहिले नेपालको क्रान्तिकारी माओवादीले स्थानीय तहको निर्वाचनमा भाग लिने कुरालाई पनि सोही अनुसार हेरिनु उपयुक्त हुन्छ ।
किन भइरहेको छ विरोध ?
नेपालभित्रै अहिले क्रान्तिकारी माओवादीले स्थानीय तहको निर्वाचनमा भाग लिने विषयलाई लिएर दुईखाले बिचार बाहिर आएका छन् । अली बढी नै आफूलाई क्रान्तिकारी ठान्नेहरुले अब क्रान्तिकारी माओवादी पुरानै संसदीय प्रणालीमा गयो भनेर भनिरहेका छन् भने संसदवादमा पतन भईसकेका पूर्व क्रान्तिकारीहरुले यहाँ नआएसम्म त सुखै थिएन, हामी भएकै ठाउँमा आए भन्ने सोचिरहेका छन् । तर यी निर्वाचनको क्रान्तिकारी उपयोगको द्वन्द्ववादलाई ठीक ढंगले नबुझ्ने र बुझ्न नचाहनेका तर्कहरु हुन् । दुवैको गन्तव्य भने एउटै छ कि क्रान्तिकारी माओवादीलाई सिध्याउने ।
एकातिर संसदवादी कोणबाट र अर्को उग्रपन्थी/दक्षिणपन्थी कोणबाट पनि क्रान्तिकारी माओवादीलाई सिध्याउने ठूला षढ्यन्त्रहरु भइरहेका छन् । यी दुवै समूहले क्रान्तिकारी माओवादीभित्र रहेका नेता कार्यकर्तालाई विभिन्न आरोप र लान्छनाहरु लगाउने, क्रान्तिकारी माओवादीभित्रै भिडाउने, एउटा नेताका विरुद्ध अर्को नेतालाई उपयोग गर्ने, चरित्र हत्या गर्ने आदि अनेकौ तिकडमहरु गरिरहेका छन्, अझै गर्नेछन् । त्यसकारण सबै क्रान्तिकारी पंक्ति सचेत बन्नुपर्ने हुन्छ ।
यस्तो अवस्थामा क्रान्तिकारीहरुले हरेक कदम इन्च इन्च नापेर चाल्नुपर्ने हुन्छ । धेर्यतापूर्वक यस्ता अधैर्य, असहिष्णु र अराजक गतिविधिको भण्डाफोर गर्नु र क्रान्तिका लागि पार्टीलाई सुदृढ बनाउँदै चट्टानी एकता कायम गर्नु आजको पहिलो आवश्यकता हो । मुखले आफूलाई क्रान्तिकारी नै भनेपनि अब प्रचण्ड नेतृत्वको माकेले नेपालको क्रान्तिकारी आन्दोलनलाई कुनै हालतमा अघि बढाउन सक्दैन । त्यहाँ जानु र मिसिनु भने अब क्रान्तिकारी आन्दोलनलाई योगदान गर्न सक्दैनौं, हामी पनि पुरानै संसदवादी कित्तामा सामेल भयौं भने आत्मसमर्पण गर्नु हो ।
यो क्रान्तिकारीका लागि स्वीकार्य विषय होइन, जो गए तिनीहरु क्रान्तिकारी होइनन् र रहेनन् भन्नु उपयुक्त हुनेछ । तथापि भुलभुलैयामा परेका, अलमलिएका र झुक्याइएका थुप्रै नेता कार्यकर्ता विद्रोह गरी क्रान्तिकारी माओवादीमा समाहित भइरहेका छन् । यो सकारात्मक पक्ष हो । अझै पनि माकेको संसदवादी मुखुण्डो राम्रैसित उग्रिएपछि त्यो क्रममा अझ तिव्रता आउनेछ । यता उग्रपन्थी/दक्षिणपन्थी बाटो समाएका समूह पनि क्रान्तिकारी माओवादीविरुद्ध भयंकर तरिकाले लागेकै छन् ।
उनीहरुको काम भनेकै अहिले क्रान्तिकारी नेता, कार्यकर्ता र जनतालाई समेत भ्रमित पार्न कोशिस गरिरहेका छन् । यी दुवै प्रवृत्तिले अन्त्यमा जनतालाई धोका दिएका छन् । त्यसकारण पनि सबै नेता कार्यकर्तादेखि जनतासम्म उच्च स्तरको चेतना विकास गर्ने र त्यसलाई तत्कालै खण्डन गरी क्रान्तिकारी कार्यदिशा लागु गर्नु सबैको कर्तव्य हुन जान्छ । यसलाई संगठनात्मक र प्रचारात्मक दुवै तरिकाले गतिलो जवाफ दिनु आवश्यक छ । उनीहरुले क्रान्तिकारी माओवादीको शक्ति क्षीण भयो भनेर आफूलाई बलियो देखाउन खोजिरहेका छन्, तर अवसरवादीहरु कागजी बाघमात्रै हुन्, क्रान्तिकारी साँच्चैका बाघ हुन् ।
के गर्ने क्रान्तिकारीहरुले ?
क्रान्तिकारी माओवादी आन्दोलनलाई विखण्डित गर्नका लागि राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्ति लागिपरेको अवस्था छ । त्यसकारण क्रान्तिकारीहरुको शक्तिलाई सदृढ पार्नका लागि स्थानीय तहको निर्वाचनलाई क्रान्तिका हितमा सचेतता पूर्वक उपयोग गर्नुपर्दछ । यही क्रममा क्रान्तिकारी आन्दोलनलाई संगठन, प्रचार, भण्डाफोर आदि माध्यमबाट सदृढ तुल्याउँदै अघि बढ्नु पर्ने आवश्यकता छ ।
विप्लव नेतृत्वको नेकपाले कुनै सैद्धान्तिक आधार बिना नै निर्वाचन बहिस्कारको कार्यनीति लिएको अवस्था छ भने केही पूर्व क्रान्तिकारीहरुले त्यसैमा डुब्नका लागि चुनावमा भाग लिदैछन् । यसलाई क्रान्तिको द्वन्द्ववादसँग जोडेर हेर्नुपर्दछ । हामी निर्वाचनलाई उपयोग गरेर क्रान्तिकारी संगठन निर्माणका लागि चार पाइला अघि हुनसक्छौं र आन्दोलनलाई अघि बढाउन सक्छौं भने त्यसलाई उपयोग गर्नु संसदवादी हुनु होइन बरु वस्तुवादी हुनु हो ।
क्रान्तिकारी आन्दोलनलाई अघि बढाउनु र आफैमा क्रान्तिकारी आन्दोलनमा निरन्तर समाहित हुनु सानोतिनो कुरा होइन र यो काम औसत मानिसहरुले गर्न सक्दा पनि सक्दैनन् । सैद्धान्तिक आधार बिना दर्जनौंपटक निर्वाचनमा भाग लिएपनि, बहिस्कार गरेपनि दुवै क्रान्तिकारी हुँदैनन् । त्यसलाई द्वन्द्ववादका आधारमा क्रान्तिका हितमा उपयोग गर्नु पर्दछ । अहिलेका भ्रमहरुलाई चिर्दै नयाँ क्रान्तिलाई अघि बढाउन सक्यौं भने मात्रै हामीले सुन्दर बिहानी ल्याउन सक्दछौं । हजारौं सहिद, घाइते, अपांग, अंगभंग पारिएकाहरुको घाउमा मल्हमपट्टी लगाउन सक्छौं । निर्वाचनमा भाग लिएपनि नलिएपनि हाम्रो प्रमुख उद्देश्य नेपाली जनवादी क्रान्तिलाई पूरा गर्नु हो, जुन बाटोबाट छिटो क्रान्तिलाई पूर्णतामा लैजान सकिन्छ, क्रान्तिकारीहरुले गर्ने त्यही हो । क्रमश :






























