अर्जेन्टिनाले चिलीसँग लियो बदला, ब्राजिलको ७ अंकको अग्रता

अर्जेन्टिनाले चिलीसँग लियो बदला, ब्राजिलको ७ अंकको अग्रता

काठमाडौं । अर्जेन्टिनाले चिलीसँग गत वर्ष कोपा अमेरिका कपमा व्येहोरेको हारको बदला लिएको छ ।

२०१८ मा रुसमा हुने विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले चिलीलाई १–० गोलले हराएको हो । जितसँगै अर्जेन्टिना अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा अर्जन्टिनालाई जित दिलाउन स्टार स्ट्राइकर लिओनल मेसीले १६ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्न पुग्यो । त्यसयता दुवै टिमले गोलका अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।

६५ औं मिनेटमा चिलीका एलेक्सिस पान्सेसले प्रहार गरेको फ्री किक क्रसबारमा लागेर बाहिरिएको थियो ।

अर्जेन्टिनाको १३ खेलबाट २२ अंक भएको छ । समान खेलबाट उरुग्वेको २३ र ब्राजिलको ३० अंक छ ।

शुक्रबार बिहान नै भएको खेलमा उरुग्वेलाई ब्राजिलले ४–१ ले हरायो । ब्राजिलको जितमा पाउलिन्होले ह्याट्रिक गरे भने नेयमारले एक गोल थपे । उरुग्वेका लागि इडिन्सन काभानीले एक गोल फर्काएका थिए ।