काठमाडौं । नेकपा(क्रान्तिकारी माओवादी) निकट जनयुद्धको शहीद तथा बेपत्ता परिवार समाजको सोमबार भएको प्रथम राष्ट्रिय भेलाले समाजको संयोजकमा दिनेश शर्मा ‘सागर’ लाई चयन गरेको छ । क्रान्तिकारी माओवादीको मुख्यालय बुद्धनगरमा भएको उक्त भेलाले शर्माको संयोजकत्वमा ३ सदस्य पछि थप्ने गरी १५ सदस्यीय समाजको केन्द्रीय समिति निर्माण गरेको छ । भेलाले समाजको केन्द्रीय सचिवमा प्रविण लामालाई चयन गरेको छ भने सदस्यहरुमा बिरेन्द्र यादव, सुर्य बहादुर नकर्मी, टंक रेग्मी, प्रविन तामाङ, बल बहादुर मगर, खड्ग बहादुर कुंवर, बाल कुमारी खड्का, कुलराज ज्ञवाली, पेम्डोमा शेर्पा, लेख बहादुर मगर रहेका छन् ।
क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य तथा नेवा राज्य संयोजक समेत रहेका दिनेश शर्माको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन प्रविन लामाले गरेका थिए भने पार्टीका केन्द्रीय अध्यक्ष मोहन वैद्य ‘किरण’ले जनयुद्धमा बगेको शहिदको रगत खेर नजाने भन्दै नयाँ जनवादी क्रान्तिका लागि शहीद परिवारको भूमिका महत्वपूर्ण हुने बताए । समसामयिक राजनीतिक परिस्थिति र पार्टीको अगामी कार्यभारको विषयमा प्रशिक्षणमूलक मन्तव्य राख्दै अध्यक्ष किरणले जनयुद्धका सबै शहीद तथा वेपत्ता परिवारहरुलाई संगठित गर्न आवश्यक रहेको कुरा बताए ।
भेलाबाट निर्वाचित नयाँ कार्यसमितिको बैठकले तीनमहिने सांगठानिक अभियान लिएर सहिद परिवारहरुको घर घरमा जाने निर्णय गरेको छ ।