काठमाडौं । बाग्मती सफाई अभियानको दुई सय साता पुगेको छ । बाग्मती सफाई अभियान दुई सय साता पुगेको अवसरमा शनिबार ‘बाग्मती पदयात्रा’ भइरहेको छ ।
वि.सं. २०७० जेठ ५ गतेदेखि शुरु भएको अभियानलाई थप सशक्त र प्रभावकारी बनाउन सुन्दरीजलदेखि चोभारसम्म पदयात्रा थालिएको हो । पदयात्रामा एक लाखभन्दा बढीको उपस्थिति रहने आयोजकको दाबी छ ।
बाग्मती सफाई अभियानको दुई सय साता पुगेको अवसरमा १५ वटा मुख्य र ३ वटा सहायक स्थानमा आयोजना गरिएको कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरु सहभागी हुँदैछन् ।
बागमती सरसफाई अभियानका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल शंखमूल क्षेत्रमा, नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तिलंगगामा, एमाले नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल कोटेश्वर महादेवस्थान क्षेत्रमा सरसफाई अभियानमा सहभागी हुनेछन् ।
यसअघि २८ चैत्र २०७१ मा एक सय हप्ता पुगेको अवसरमा सुन्दरीजलदेखि चोभारसम्म करिब २८ किलोमिटर लामो मानव सांग्लो बनाइएको थियो ।
बाग्मती सफाई अभियान सञ्चालन भएको दुई सय साता पुगेपनि बाग्मतीमा कागज, प्लास्टिकलगायतका सामग्री टिप्नुबाहेक उपलब्धिमुलक हुन सकेको छैन ।
बाग्मतीको पानीलाई नुहाउन सकिने बनाउने उद्देश्यसहित सफाई अभियान सुरु गरेर केही सातामा केही कर्मचारीले नुहाएपनि त्यसपछि बाग्मतीको पानीलाई सफा गर्ने कार्यमा ठोस प्रगति हुन सकेको छैन ।
बाग्मती सफाई अभियान सञ्चालन गरेपनि काठमाडौं उपत्यकाका बाग्मतीमा मिसाइएको ढल व्यवस्थित गर्न नसक्दा बाग्मती ढलको रुपमा बगिरहेको छ ।