कञ्चनपुर । २६ फागुन ०७३ मा पुनर्वास नगरपालिका–८ का २६ वर्षीय गोविन्दप्रसाद गौतमको भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली हानी हत्या गरेको घटनाका विरुद्ध प्रदर्शनमा उत्रिएका नेपाली नागरिकहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक रुपमा माफी नमागेसम्म आन्दोलन नरोक्ने बताएका छन् । सार्वभौम राष्ट्रको नागरिकलाई आफ्नै भूमिमा विदेशीले आएर गोली हानेर मार्दासमेत भारतीय सरकारको विरोध गर्न नसक्ने नेपाल सरकारका विरुद्ध पनि प्रदर्शनकारीहरुले नाराबाजी गरेका छन् । उनीहरुले भारतीय सरकारका प्रमुख मोदीले दुःख व्यक्त गरेर हुँदैन सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग राखेको कञ्चनपुरबाट हाम्रा सहकर्मी धनन्जय अवस्थीले बताएका छन् ।
गौतमको हत्याको विरोधमा सुदूरपश्चिम ठप्प भएको छ । सात नं प्रदेशका अधिकांश क्षेत्रमा प्रदर्शन जारी छ । शुक्रबार बिहानैदेखि कैलालीको त्रिनगर भन्सारमा सयौं युवा विरोधमा उत्रिए । प्रदर्शनका क्रममा नाकामा रहेको भन्सार ब्यारियरमा क्षति पुगेको छ । घटनास्थल कञ्चनपुरको पुनर्वास क्षेत्रका बेलौरी, त्रिभुवन बस्ती, आईबीआरडी, आनन्द बजार बन्द गरिए । सदरमुकाम महेन्द्रनगरमा यातायात, बजार, कार्यालय, विद्यालय ठप्प हुन पुगे । दक्षिणी क्षेत्रका केही बजारमा प्रदर्शनकारीले आगजनी र तोडफोड समेत गरेका छन् । कैलालीको सदरमुकाम धनगढीलगायत जिल्लाका सबै सानाठूला बजार क्षेत्र बन्द छन् । उपत्यका लगायत अधिकांश जिल्लामा स्वतस्फूर्त रुपमा प्रदर्शनहरु भएका छन् ।
धनगढीबाट राष्ट्रिय झन्डासहित सीमानाका त्रिनगर पुगेर स्थानीय बासिन्दाले भारतीय ज्यादतीविरुद्ध प्रदर्शन गरेका छन् । सीमातिर अघि बढेका प्रदर्शनकारीलाई रोक्न सशस्त्र प्रहरी त्रिनगर चेकपोस्टमा काँडेतारको ब्यारियर बनाइएको थियो । पुनर्बास नगरपालिका पनि शुक्रबार दिनभर तनावग्रस्त रह्यो । महेन्द्रनगर बजारमा प्रदर्शन मात्रै भए पनि आक्रोशित स्थानीयले घटनास्थल नजिकैको आईबीआरडी बजारमा भारतीय व्यवसायीका पसल तोडफोड गरेका छन् । भारतीय लगानी रहेको भन्दै पुनर्बासका गोविन्दराम पुनमगरको से १ त ६६११ नम्बरको ट्याक्टरमा पनि उनीहरूले आगो लगाए ।
आनन्दबजार पनि दिनभरि तनावग्रस्त बन्यो । बिहीबारभन्दा दोब्बर मानिसको भीडले ढुंगामुढा गरेपछि भारतीय सुरक्षाकर्मीले २८ राउन्ड हवाईफायर गरेका छन् भने नेपाल प्रहरी र सशस्त्रले पनि दुई राउन्ड अश्रुग्यास हानेका छन् । भीडले नमानेपछि अश्रुग्यास हानेको सशस्त्र प्रहरी बल कञ्चनपुरका डीएसपी करनसिंह धामीले बताएका छन् । नेपाल प्रहरीका झन्डै दुई सय र सशस्त्र प्रहरीका तीन सय सुरक्षाकर्मी पुनर्बास क्षेत्रमा खटाइएका छन् । कञ्चनपुरको आनन्दबजार नाकामा बिहीबारदेखि नै आवागमन बन्द छ ।
बुझेनन् आफन्तले सहिद गौतमको शव
गोविन्द गौतमलाई सहिद घोषणा गरिए पनि मृतकका आफन्तले सरकारी निर्णय उल्लेख गरिएको लिखित पत्र नपाउँदासम्म शव नबुझ्ने अडान कायम राखेका छन् । आफन्तले नमानेकै कारण गौतमको शव पोस्टमार्टम समेत हुन सकेको छैन । उनको शव सेती अञ्चल अस्पतालमा राखिएको छ ।
सहिद घोषणा
सरकारले गौतमलाई सहिद घोषणा गरी उनको परिवारलाई दस लाख रुपैयाँ राहत उपलब्ध गराउने, उनको अन्त्येष्टि सम्मानपूर्वक गरिने र उनका सन्ततिको निःशुल्क पठनपाठनको व्यवस्था गर्ने निर्णय गरेको छ ।
विभिन्न राजनीतिक पार्टीहरुको विरोध
गौतमका विरुद्धमा नेकपा (क्रान्तिकारी माओवादी)लगायत प्रायः राजनीतिक पार्टीहरुले विज्ञप्ती निकालेर विरोध गरेका छन् भने कतिपय राजनीतिक पार्टीहरुले हत्याको विरुद्धमा विरोध कार्यक्रम, प्रदर्शन समेत गरेका छन् । क्रान्तिकारी माओवादीले कंचनपुर, कैलाली, बाँके, बर्दिया, दार्जुला, कास्की, रुपन्देहीलगायतका जिल्लाहरुमा विरोध तथा प्रदर्शन गरेका छन् ।