बार्सिलोना ला लिगाको शीर्ष स्थानमा, मेस्सी, स्वारेज र नेइमारको गोल

बार्सिलोना ला लिगाको शीर्ष स्थानमा, मेस्सी, स्वारेज र नेइमारको गोल

काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार बिहान भएको खेलमा बार्सिलोनाले स्पोर्टिङ गिजोनलाई ६–१ को फराकिलो अन्तरले हराउँदै शीर्ष स्थानमा पुगेको हो ।

बार्सिलोनाका लागि लिओनल मेस्सी, लुइस स्वारेज र नेइमारले गोल गरे । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा मेस्सीले ९ औं मिनेटमा हेडिङ गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । जुआन रोड्रिगेजले ११ मिनेटमा आत्मघाती गोल गरेपछि बार्सिलोना २–० ले अघि बढ्यो ।

खेलको २१ औं मिनेटमा कार्लोस क्यास्ट्रो एक गोल फर्काए भने लुइस स्वारेजले २७ मिनेटमा गोल गरेपछि पहिलो हाफमा नै बार्सिलोनाले ३–१ को अग्रता लियो ।

दोस्रो हाफमा बार्सिलोनाका लागि पाको अल्कासेरले ४९, नेइमारले ६५ र इभान राकिटिचले ८७ मिनेटमा गोल गरेपछि बार्सिलोना ६–१ ले विजयी भयो ।

बिहीबार बिहान नै सकिएको अर्को खेलमा रियल मड्रिड लास पालमससँग ३–३ को बराबरीमा रोकिएको छ । राति नै भएका अरु खेलमा भिल्लारियलले ओसासुनालाई ४–१ ले र ग्रानडाले अल्भेसलाई २–१ ले हराए । सेल्टा डि भिगो र स्पानियोलले भने २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

बार्सिलोनाले २५ खेलमा ५७ अंक जोडेको छ भने एक खेल कम खेलेको रियल मड्रिड ५६ अंक सहित दोस्रो स्थानमा छ ।