काठमाडौं । त्रिविले जारी गरेको निर्वाचन तालिका र आचारसंहिता विपरीत, र सरोकारवाला संगठनहरुबीचमा भएको सम्झौता उलंघन गरी ठूला भनिएका तीन संगठनले क्याम्पसहरुमा गरेको एकमुष्ट फर्जी भर्ना तथा लादिएको सिण्डिकेटको अन्त्य गरेर चुनावको उचित वातावरण नबनाए प्रतिरोध संघर्षमा उत्रने चेतावानी दिंदै मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष सेवन्तराज भण्डारीले शुक्रबार विज्ञप्ती जारी गरेका छन् भने शुक्रबारै पाटन संयुक्त क्याम्पसमा विप्लव र बाबुरामका विध्यार्थी संगठनसँग मिलेर तालाबन्दी गरेका छन् । शुक्रबारै विश्वभाषा क्याम्पसमा विध्यार्थी भर्ना गरेको रजिष्टर नै गायव गरिएको भन्दै क्याम्पसमा भएका कागजातहरु जलाइदिएका छन् ।
क्याम्पस–क्याम्पसमा हावी भैरहेको तीन दलीय सिन्डिकेट तत्काल खारेज गरियोस्, लाखौं रुपैयाको माघ १३ र १४ गते मध्यरातसम्म गरिएको एकमुष्ठ तथा फर्जी भर्ना तत्काल खारेज गरियोस् र सम्बन्धित क्याम्पस प्रशासनलाई समेत कारबाही गरियोस्, उपलब्ध सबै संगठनहरु चुनावमा सहभागी हुने बातावरण सुनिश्चित गरियोस् जस्ता मागहरु अगाडि सार्दै वैद्य निकट अखिल क्रान्तिकारीले आफ्ना मागहरु यथाशिघ्र सम्बोधन नगरिए संगठनले गर्ने प्रतिरोध संघर्षको जिम्मेवार र जवाफदेही सम्बन्धित निकाय नै हुने जारी वक्तव्यमा जनाएको छ ।
क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले पछिल्लो समयमा देशैभरका क्याम्पसहरुमा उल्लेखनीय उपस्थिति देखाउँदै तीन दलीय संगठनहरुको सिन्डिकेटका विरुद्ध आफूलाई कडा रुपमा प्रस्तुत गर्दै आएको छ ।