काठमाडौं । आजदेखि सहिद सप्ताह सुरु भएको छ । १० वर्षे जनयुद्धका क्रममा मारिएका तथा वेपत्ता पारिएकाहरुको सम्झना तथा परिवारलाई सम्मान गरी सहिद सप्ताह मनाउने गरिएको छ ।
तत्कालीन नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गते जनयुद्ध सुरु गरेको १४ औं दिनमा नै सरकारले गोरखाका ११ वर्षीय बालक दिलबहादुर रम्तेलको हत्या गरेको थियो ।
माओवादी जनयुद्धमा लागेको भन्दै राज्यले निर्दोष बालकको हत्या गरेको दिन र फागुन २१ गते झापा आन्दोलनमा लागेकालाई सुखानीको जंगलमा लगेर हत्या गरिएको दिनसम्मलाई माओवादीले सहिद सप्ताहका रुपमा मनाउने गरेको छ ।
१० वर्षे जनयुद्ध र परिवर्तनका लागि नेपालको वामपन्थी आन्दोलनमा लागेर मृत्युवरण गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुको सम्झनामा सहिद सप्ताह मनाउने गरिएको छ ।
नेपालको १० वर्षे जनयुद्धका क्रममा राज्यको दमनबाट हजारौंको बलिदान भएको छ । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलदेखि सबै सहिदको सम्झनामा विभिन्न कार्यक्रम सहित सहिद सप्ताह मनाउन लागिएको क्रान्तिकारी माओवादीले जनाएको छ ।