एजेन्सी । भारतमा ५४ वर्षदेखि फँसेका चिनियाँ पूर्व सैनिक वांग छी शनिबार चीन पुगेका छन् ।
उनीसँगै उनका छोरा र छोरी पनि चीन गएका छन् । चीन जानुअघि कुराकानी गर्दै उनले लामो समय बसेको तिरोडी गाउँका जनतालाई आफू आफ्नो जन्म भूमी पुगेर पुनः फर्किएर आउने बताए ।
उनले चीन पुग्दा आफूलाई सन्तोष र खुसी मिल्ने पनि उल्लेख गरे । उनले आफूले इन्दिरा गान्धीको समयदेखि आफूलाई चीन जान दिन या भारतको नागरिकता दिन आग्रह गर्दै आएपनि उनको कुराको अहिलेसम्म सुनुवाई भएको थिएन ।
उनी भन्छन्, ‘मैले हजारौं निवेदन हाले तर कुनैको जवाफ आएन । मैले उच्च अदालतमा मुद्धा हाले, चिनियाँ राजदूतसँग सम्पर्क पनि गरे तर कुनै सहयोग पाइन ।’
केही समयअघि बीबीसीले ‘५४ वर्षदेखि भारतमा फँसेका चिनियाँ सैनिक’ शीर्षकमा उनको कथा छापिएपछि संसारको ध्यान आकर्षित भएको थियो । उनले आफ्ना छोरा र छोरीलाई चीन लगेपनि श्रीमती भने भारतमा नै छाडेका छन् ।
उनको स्वास्थ्य अवस्था ठीक नभएको र विमानमा चढेर जानसक्ने अवस्था नरहेका कारण लिएर जान नसकेको बताएका छन् ।
उनले लामो समयदेखि बस्दा भारतमा पनि माया भएको उल्लेख गर्दै उनले भने, ‘ मेरो जाने इच्छा थिएन, सबै भाई बहिनी जस्तै भइसकेका छन् । तर मेरा त्यहाँ पनि भाई बहिनी छन् । बाबु आमा त वितिसक्नु भयो, अब भाई बहिनीसँग एक पटक भेट्न चाहन्छु ।’
सन् १९६२ को लडाईका क्रममा वांग छी भारतमा पक्राउ परेका थिए र उनलाई चीन जान दिइएको थिएन । भारतीय विमानस्थलमा हिन्दी भाषामा कुराकानी गरेका उनले चिनियाँ विमानस्थलमा पुगेर चिनियाँ भाषामा कुराकानी गरेका थिए ।


































