एजेन्सी । अंगोलामा एक फुटबल रंगशालामा भाग दौड मच्चिदा १७ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन् ।
रंगशालामा प्रवेश नपाएका दर्शकले ढोका तोडेर प्रवेश गर्न खोज्दा घटना भएको अधिकारीहरुले जनाएका छन् ।
स्वास्थ्य अधिकारीहरुले भागदौडका क्रममा लडेका व्यक्तिहरु उठ्न नपाएपछि उनीहरुको मृत्यु भएको बताएका छन् ।
भागदौडमा केही व्यक्ति पछारिएको र त्यहीमाथि अरु मानिसले कुल्चिँदा यति ठूलो घटना भएको हो । ८ हजार दर्शक क्षमताको सो रंगशालामा भीड बढेपछि बन्द गरिएको थियो ।
स्थानीय अस्पतालका निर्देशक अर्नेस्टो लुईले केही व्यक्तिमाथि सयौंले टेकेर भाग्दा ७६ जना घाइते भएको र १७ जनाको मृत्यु भएको जानकारी दिएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।
सान्ता रिटा डे कासिया टिमले पहिलो लिग खेलमा लिबोलोसँग प्रतिस्पर्धा गर्ने खेल हेर्नका लागि दर्शकहरु जम्मा भएका थिए । राष्ट्रपति जोसे इडुवार्डोले घटनाको छानविन गर्न निर्देशन दिएका छन् ।