गाविस सचिव गाउँमै जाँदैनन्, कार्यक्षेत्रमा जान निर्देशन

गाविस सचिव गाउँमै जाँदैनन्, कार्यक्षेत्रमा जान निर्देशन

काठमाडौं । गाविस सचिवहरु अझै आफ्नो कार्यक्षेत्रमा नगई सदरमुकाममा नै बस्ने गरेको पाइएको छ ।

संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले गरेको अनुगमनका क्रममा गाविस सचिवहरु अझै कार्याक्षेत्रमा नगई सदरमुकाममा नै बस्ने गरेको पाइएको हो ।

मन्त्रालयले २७ वटा जिल्ला विकास समितिको कार्यालय, २७ वटा नगरपालिका र ३२ वटा गाउँ विकास समितिको अनुगमनका क्रममा यस्तो पत्ता लगाएको हो । मन्त्रालयका सहसचिवहरुले गाविस सचिवहरुले आफ्नो कार्यक्षेत्रमा बसेर काम नगरेको भेटिएको प्रतिवेदन तयार गरेका छन् ।

अनुगमनपछि मन्त्रालयले तत्काल आफ्नो क्षेत्रमा गएर काम गर्न गाविस सचिवहरुलाई निर्देशन दिएको छ । अनुगमन टोलीले गाविस सचिवहरुले व्यक्तिगत घटना दर्ता गर्दा समेत बदमासी गर्ने गरेको रिपोर्ट बुझाएको छ ।

व्यक्तिगत घटना दर्ता गर्दा दर्ता किताबमा हस्ताक्षर नगरी खाली राख्ने गरेको र मरेका व्यक्तिको मृत्यु भएको लगायतको मिति समेत उल्लेख नगरेको पाइएको छ ।

यसरी मरेका मान्छेको मिति उल्लेख नगर्ने र दर्ता किताबमा हस्ताक्षर नगरी बृद्धभत्तामा घोटला गर्ने गरेको पाइएको टोलीले जनाएको छ ।

माओवादी जनयुद्धका क्रममा गाविस सचिवहरुले असुरक्षाको कारण देखाउँदै जिल्ला सदरमुकाममै बसेर काम गर्ने गरेका थिए । त्यसको १० वर्ष बितेपनि गाविस सचिवहरु कार्यक्षेत्रमा बसेर काम गर्ने दर न्युन रहँदै आएको छ ।