एजेन्सी । संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको निर्णयलाई लत्याउँदै इजरायलले पुनः प्यालेस्टाइनको पश्चिम किनारामा थप २५ सय यहुदी बस्ती निर्माण गर्ने घोषणा गरेको छ । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले घरेलु आवश्यकता पूरा गर्न बस्ती निर्माण गर्नु परेको बताएका छन् ।
गत डिसेम्बरमा मात्रै सुरक्षा परिषदले प्यालेस्टाइनको पूर्वी जेरुसेलम र पश्चिम किनारामा इजरायले बसाएको अवैध यहुदी वस्ती हटाउँन आदेश दिएको थियो ।

अमेरिका तटस्थ बसेपछि इजरायलको बस्ती विस्तार योजनाका विरुद्ध सुरक्षा परिषदका १५ मध्ये १४ सदस्यले मतदान गरेका थिए । त्यसलाई बेवास्ता गर्दै इजरायलले प्यालेस्टाइनी भूमिमा थप वस्ती विस्तार गर्न लागेको हो । 

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि आफ्नो योजनामा सघाउ पुग्ने इजरायलको विश्वास छ । ट्रम्पले बस्ती निर्माणमा ओबामा प्रशासनभन्दा बढी सहानुभूति राख्ने संकेत गरिसकेका छन् । उनले यहुदी बस्ती विस्तारको कट्टर समर्थकलाई इजरायलका लागि राजदूतमा नियुक्त गरेका छन् । 

प्यालेष्टाइनले भने इजरायलको कदम शान्ति कायम गर्ने प्रयासमा गम्भीर धक्का भएको बताएको छ । 

सन् १९६७ मा इजरायलले प्यालेष्टाइनको पश्चिमी किनारा र पूर्वी जेरुशलम कब्जा गरेपछि गरेर १ सय ४० वस्तीमा करीब ५ लाख यहुदी बस्ती बसाएको थियो । 

अन्तर्राष्ट्रिय कानुन अनुसार पनि यी वस्तीलाई अवैध मानिन्छ । तर अमेरिकाको आडमा इजरायलले प्यालेस्टाइनी भूमीमा बलमिच्याईपूर्वक बस्ती बसाउँदै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर