नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट देश, विश्वमा १३१ औं भ्रष्ट, सोमालिया विश्वकै भ्रष्ट मुलुक

नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट देश, विश्वमा १३१ औं भ्रष्ट, सोमालिया विश्वकै भ्रष्ट मुलुक

काठमाडौं । नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुकमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अवधारणा सूचकांक २०१६ मा नेपाल विश्वका भ्रष्ट मुलुकको सूचीमा २९ अंक पाएर १३१ औं नम्बरमा परेको छ ।

गत वर्ष नेपाल १६८ देशमध्ये २७ अंक पाएरु १३० औं स्थानमा थियो । यस वर्ष भने १७६ देशमा १३१ औं नम्बरमा परेको हो । नयाँ सूचीमा नेपालको भ्रष्टाचार अवधारणामा सामान्य सुधार आएपनि अंकमा भएको थोरै फेरबदलले भ्रष्टाचारमा कमी आएको भन्न नमिल्ने ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।

यो वर्ष भ्रष्टाचार अवधारणा सूचकांकमा रहेका १०० भन्दा बढी देशले ५० भन्दा कम अंक पाएका छन् । विश्वव्यापी रुपमा रहेको भ्रष्टाचारमा सुधार आएको नदेखिएको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।

दक्षिण एसियाली देशहरुमा भुटान सबैभन्दा कम भ्रष्ट मुलुकको रुपमा शीर्ष स्थानमा छ । उसले ६५ अंक प्राप्त गरेको छ र २७ औं स्थानमा अटाएको छ । भारत ४० अंकसहित ७९ औं, माल्दिभ्स र श्रीलंका ९५ औं स्थानमा छन् भने पाकिस्टान ३२ अंकसहित ११६ औं स्थानमा छ ।

नेपालभन्दा तल बंगलादेश र अफगानिस्तान रहेका छन् । बंगलादेश १४५ औं स्थानमा र अफगानिस्तान १५ अंकसहित १६९ स्थानमा छ ।

सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र न्यूजिल्याण्ड परेका छन् । दुबै देशले ९० अंक पाएका छन् । १० अंक पाएको सोमालिया विश्वकै भ्रष्ट मुलुकको सूचीको पहिलो स्थानमा रहेको छ ।