झर्रोटर्रो : ‘विज्ञापन’

झर्रोटर्रो : ‘विज्ञापन’

तिखेर माकेका सुप्रिमोको नेतृत्वमा बनेको ककटेल सरकारले ग्रेट विज्ञापन खोलेको छ । लोकसेवा आयोग, शिक्षासेवा आयोग, न्यायसेवा आयोग जस्तै सरकार पनि संविधानकै एउटा आयोग भएकाले बेलाबेलामा यसले पनि जागिरका लागि विज्ञापन खोल्ने काम गर्छ । अहिले मन्त्रीको जागिर खुलेको छ । सरकारलाई बलियो बनाउन र बहुमतीय भूकम्प रोक्नका लागि भूकम्प प्रतिरोधी सरकार बनाउने उद्धेश्यले विज्ञापन खोल्नु परेको कुरा सरकारले आफ्नो विज्ञप्तीमा जनाएको छ । बेलाबखत प्रभु र महाप्रभुहरू रिसाएर सरकारमा भूकम्प ल्याइदिने र सरकार गल्र्याम्म ढालिदिने भएकाले भूकम्प प्रतिरोधी सरकार बनाउन आवश्यक भएको सरकार पुननिर्माण प्राधिकरणका कार्यकारी प्रमुख प्रम सुप्रिमोले बताए । प्रभुहरूले दलहरूलाई अदलाबदली गरिदिने र सरकार ढाल्दै नयाँ नयाँ सरकार बनाइदिइराख्ने भएकाले त्यसलाई रोक्न विज्ञापन खोल्नु परेको विज्ञप्तीमा जनाइएको छ । अहिलेको सरकार विशेष अवस्थामा विगतमा टाउकाको मोल तोक्ने र तोकिमाग्नेका बीचमा वैचारिक एकता कायम गराई बनेको सरकार भएकाले यसलाई केही समय दीगो राख्नु पर्ने भएका कारण मन्त्रीमण्डल विस्तार गर्नु पर्ने आवश्यकता भएको सरकारका प्रवक्ता कार्कीसावले झर्रोटर्रोलाई बताए ।

 पुस २७ मा प्रेत राजाको जन्मदिनमा आयोजित पञ्चप्रेतहरूको पार्टीले राखेको जलपान कार्यक्रममा सुप्रिमोले सरकार विस्तारका लागि पञ्चप्रेतहरूसँग विशेष परामर्श गरेका थिए । त्यसपछि बसेको मन्त्रीहरूको भत्ताबैठकमा प्रेत राजाकै स्वप्ननिर्देशनका आधारमा सर्बदलीय एकता कायम गर्न सरकार विस्तार गर्नुपर्ने आवश्यकताका बारेमा प्रमले ब्रिफिङ गरेका थिए । सोही बमोजिम जारि गरिएको विज्ञापन यस झर्रोटर्रो कार्यालयमा विशेष अनुरोधका साथ प्रकाशित गर्न निर्देशन भई आएकाले यहाँ उक्त विज्ञापन प्रकाशित गरिएको हो ।
विज्ञापन यसप्रकार जस्ताको तस्तै प्रकाशित गरिएको छ ।

आवश्यकता : आवश्यकता : आवश्यकता
विज्ञापन नं. : ५९५÷२०७३÷०७४
पद :    मन्त्री ।
तह :    उपप्रधान मन्त्रीदेखि मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीसम्म (बहालवाला उपहरूको रोलक्रममा दखल नहुनेगरी) ।
योग्यता : कुनै राजनीतिक दलबाट सांसद भएको मात्र । दल खारेज भएका, कारवाही परेका र भ्रष्टाचारमा विशेष दखल भएकालाई विशेष प्राथमिकता दिइनेछ ।
तलब भत्ता : कानूनले तोके बमोजिम । यस अतिरिक्त आफ्नो भागमा पर्ने मन्त्रालयबाट सकेजती बजेट इधरउधर पारेर आफ्नो पकेट क्षेत्रमा छुट्याई आआफ्ना दलका रैतीहरूलाई बाँडचुँड गरी कुम्ल्याउन पाइने ।
अन्य सुविधा : विदेश भ्रमण, एनजिओ आइएनजिओका कार्यक्रम र सेमिनारहरूमा दिनहुँ सहभागी हुन पाइने । विभिन्न विहे, भोज, वर्थडे, भुतप्रेतहरूका जन्मदिनमा विशेष अतिथि हुन पाइने । ट्वाइलेटदेखि कुलानाला, ढल, भैँसीपूजा बिग्रेभत्केका घरहरूको शिलान्यास, एउटा पुस्ताबाट सुरुगरी तेस्रो पुस्तामा पनि सम्पन्न भइनसक्ने महाविकासे झोले आयोजनाहरूको शिलान्यास गर्न आदि इत्यादिको उद्घाटनमा सहभागि हुन विशेष व्यवस्था ।
परीक्षाको किसिम : दुई पक्षीय भेटवार्ता र सम्झौता ।
शर्त : सरकारले पेश गर्ने जुनसुकै विधेयकमा आँखा चिम्लियर ल्याप्चे ठोक्नु पर्ने । सरकारको हितमा हुने जस्तोसुकै राष्ट्रघाती सन्धि सम्झौताको जमेर वकालत गर्नुपर्ने ।
फाराम दस्तुर : निःशुल्क । आवश्यक परे सरकारले खर्चपर्च दिन सक्नेछ ।
फाराम भर्ने मिति : विज्ञापन खोलेको मितिदेखि सरकार नढल्दासम्म चौविसै घण्टा खुल्ला रहनेछ । सकेसम्म मध्यरातमा भए अति उत्तम मानिने छ ।
आवश्यक कागजातहरू :     क) औपचारिक शिक्षाको आवश्यकता नपर्ने ।
ख) नेपाली नागरिकता थान १, (सकेसम्म अङ्गिकृतलाई पहिलो प्राथमिकता दिइने छ । र दुईतीन वटा नागरिकता भएमा अति उत्तम ।)
ग) महामहिम प्रभुहरूबाट प्राप्त साठीपिकेट थान १ ।
घ) अख्तियारले डामेका प्रमाणहरू भएमा थान १ (अनिवार्य नभएको) ।
फाराम बुभाmउने स्थान ः प्रमको कार्यालय सिंहदरबार वा निवास बालुवाटार वा दक्षिणी प्रभुको दुतावास लैनचौर ।
९ पुस २०७३

kailubraha73@gmail.com