वैदेशिक रोजगारी सम्बन्धमा सरकारले ल्यायो नयाँ व्यवस्था (पूर्ण पाठसहित)

वैदेशिक रोजगारी सम्बन्धमा सरकारले ल्यायो नयाँ व्यवस्था (पूर्ण पाठसहित)

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जानेहरुको लागि म्यादी जीवनबीमा सहितको १४ बुँदे नयाँ घोषणापत्र जारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीसम्बन्धी १४ बुँदे नयाँ व्यवस्था घोषणा गर्दै भारत बाहेकका देशमा रोजगारीमा जाने नेपाली कामदारका लागि सो व्यवस्था लागु गरिने बताएका हुन् ।

जसअनुसार वैदेशिक रोजगारीमा गएका कामदहरुको मिर्गौला फेल तथा क्यान्सरजस्ता १५ प्रकारका घातक रोगमा विद्यमान बीमा रकममा ५ लाख बराबरको रकम थप हुने व्यवस्था गरिएको छ ।

यो व्यवस्था लागू भएपछि पीडित कामदारले बीमा कम्पनीबाट २० लाख रुपैयाँसम्म बीमा रकम पाउनसक्ने दाबी गरिएको छ ।

यस्तै, वैदेशिक रोजगारीका क्रममा मृत्यु भएमा मृतकका परिवारलाई कल्याणकारी कोषबाट दिइने रकम सात लाख पु¥याइएको छ । त्यस्तो अवस्थामा मृतकका परिवारले २७ लाखसम्म पाउनसक्ने जनाइएको छ ।

भारतमा रोजगारीलाई पनि पहिलोपटक वैदेशिक रोजगारीको मान्यता दिँदै बीमा योजनामा समावेश गरिएको जनाइएको छ ।

भारतमा जानेहरुको हकमा घातक रोगमा अन्य देशमा जाने कामदार सरह ५ लाख रुपैयाँको जीवन बीमा गरी १४ लाख सम्म क्षतिपूर्ति दिइने र उनीहरुलाई पनि कल्याणकारी कोष योजनामा समावेश गराइने बताइएको छ ।

भारतमा जाने कामदारहरुले देशको सीमा छाड्ने जिल्लाबाट रोजगार अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्था आगामी फागुन महिनादेखि लागु हुनेछ ।
बीमा नवीकरण नहुँदै वैदेशिक रोजगारमा रहेका कामदारको मृत्यु, अंगभंग वा बिरामी भइ बीमा दाबी गर्न योग्य देखिएमा बीमा स्वतः नवीकरण भइ रक्षावरण हुने व्यवस्था गरिएको छ ।

मलेसिया र खाडी मुलुकहरुमा नेपाली कामदार लैजाने विदेशी कम्पनीले नै व्यहोर्ने गरी २० लाख रुपैयाँ बराबरको २४ घन्टे बीमा व्यवस्था पनि अघि बढाएको बताइएको छ ।

प्रधानमन्त्री दाहालको सम्बोधनको पूर्णपाठ 
देशभित्र पर्याप्त रोजगारीका अवसरहरु उपलव्ध नभइरहेको वर्तमान स्थितिमा वैदेशिक रोजगारी नै नेपालका युवा जनशक्तिको वैकल्पिक रोजगार र आयआर्जनको एक मुख्य माध्यम बनेको हामी सबैलाई विदितै छ ।

तर, यस सेवामा सेवाग्राहीको पहुँच नभएको, पर्याप्त सूचनाको अभाव, ठगी र अनियमितताको बिगबिगी व्याप्त देखिने गरेको अवस्था विद्यमान छ ।

मुलुकभित्रको वैदेशिक रोजगारसम्बन्धी व्यवस्थापकीय कमजोरीका कारण विदेशमासमेत नेपाली कामदारहरुले समस्याहरु भोग्नुपरेको छ ।

यस क्षेत्रमा भएका सुधारका प्रयासहरु यसको आकारका दृष्टिले निकै नै कमजोर बनेको मैले महसुस गरेको छु ।

यसै कुरालाई मध्यनजर गरी मैले वर्तमान सरकार गठन भएदेखि नै वैदेशिक रोजगारीमा जाने नेपालीहरुका समस्या समाधान गर्ने कार्यलाई प्रमुख प्राथमिकतामा राखी काम गर्दै आइरहेको छु ।

यसै सन्दर्भमा हाल नेपालबाट वैदेशिक रोजगारीमा जानेहरुको संख्यामा वृद्धि भएसँगै यसमा जोखिम पनि सँगसँगै बढिरहेको सन्दर्भमा नेपाल सरकारले वैदेशिक रोजगार (म्यादी) जीवन बीमा सम्बन्धमा गरेका केही नयाँ र महत्वपूर्ण व्यवस्था गरेको सम्बन्धमा ठोस जानकारी गराउन चाहन्छु ।

१. वैदेशिक रोजगारमा गएका नेपाली कामदारको बीमा सुविधामा विस्तार गरी कामदारको स्वास्थ्य बीमातर्फ साविकको सुरक्षा तथा सुविधालाई विस्तार गरी जीवन बीमा, आयको नोक्सानीलगायतका सुविधाहरुका अतिरिक्त मिर्गौला फेल, क्यान्सरजस्ता विभिन्न १५ प्रकारका घातक रोगबापत थप ५ लाख बीमांक बराबरको बीमा हुने नयाँ व्यवस्था गरिएको छ ।

यो व्यवस्था पछि कामदारले सम्बन्धित बीमा कम्पनीबाट २० लाखसम्म बीमा रकम पाउन सक्नेछन् । यो व्यवस्था मिति २०७३ माघ १५ गतेबाट लागू हुनेछ ।

२. यसैगरी वैदेशिक रोजगारमा जाने कामदारहरुले जम्मा गरेको कल्याणकारी कोषलाई कामदारको हितमा अधिकतम्रुपमा प्रयोग हुने व्यवस्था गर्ने सम्बन्धमा मैले व्यवस्थापिका संसदमा वैदेशिक रोजगारमा रहँदा मृत्यु भएका मृतकका परिवारलाई साविकमा दिइँदै आएको क्षतिपूर्ति रकम रु. तीन लाखमा रु. ४ लाख थपेर रु. सात लाख पुर्‍याइने घोषणा गरेअनुसार वैदेशिक रोजगार नियमावली २०६४ संशोधनको प्रक्रियामा रहेको छ ।

यस संशोधनबाट वैदेशिक रोजगारकोक्रममा दुर्घटनामा परी उपचार गर्न वा जीवन गुमाउने नेपाली कामदारलाई दिइने आर्थिक सहायतामा साविक रु. ३ लाखमा रु. ४ लाख बृद्धि गरी रु. ७ लाख पुर्‍याइने छ । यसरी थप हदा कामदारले पाउने रकम रु. २७ लाखसम्म पुग्नेछ ।

यो व्यवस्थाबारेमा थप जानकारीः
मिर्गौला फेलर, क्यान्सरजस्ता विभिन्न १५ प्रकारका घातक रोग लागेमा तत्काल क्षतिपूर्ति पाउने गरी थप ५ लाखको बीमा हुने व्यवस्था मिलाइएको छ ।

साथै, तीन महिनाभित्र मानसिक रोगलाईसमेत घातक रोगको सूचीभित्र समावेश गरी क्षतिपूर्ति दिलाउने सम्बन्धमा आवश्यक गृहकार्य गर्नसमेत बीमा समितिलाई निर्देशन दिइएको छ ।

बीमालेखले रक्षावरण गर्ने घातक रोगहरु (Critical Illness):
Cancer, Kidney failure, Primary Pulmonary Arterial hypertension, Multiple Sclerosis, Major organ transplant, Coronary artery bypass grafts, aorta graft surgery, Heart valve surgery, stroke, myocardial infarction (first heart attack), coma, total blindness, paralysis, benign brain tumor,mental illness caused due to accident (trumatic ).
घातक रोग (Critical Illness) लागि मृत्यु नभएको तर शारीरिकरुपले मृत्युसरह मानिने अवस्था प्रमाणित भएमा क्रिया खर्च र शव ल्याउने खर्चबाहेक बीमाबाट १३ लाखसम्म, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट ३ लाख र घातक रोगबापत ५ लाख गरी कुल १८ लाखसम्म प्राप्त हुनेछ ।

अस्वस्थताको अवस्थामा घातक रोगअन्तर्गत्को तत्काल पाइने बीमा दाबी व्यबस्था गरिएको छ ।

अब नयाँ व्यवस्थाअनुसार घातक रोग प्रमाणित भएमा बीमाबाट प्राप्त हुने सबै रकम बीमीतले तत्काल पाउन सक्नेछन् । यसरी प्राप्त हुने रकमले बिरामीलाई उपचार गराउन सहयोग पुग्नेछ ।

बीमाबाट कामदारले पाउने रकमको शीर्षकहरुः
जीवन बीमाबापत : रु. १० लाख
बीमितको आयको नोक्सानीबापत : रु. २ लाख
क्रियाखर्च बापत : रु १ लाख
औषधि उपचार खर्चबापत : रु १ लाखसम्म
शव ल्याउन खर्चबापत : रु. १ लाख
घातक रोगबापत : रु ५ लाख
कुल रकम : रु २० लाखसम्म
यसअघि नै बीमा गरिसकेका तर म्याद नसकिएका नागरिकहरुले घातक रोग र बीमाको पछिल्लो व्यवस्थाबमोजिम रक्षावरणको सुुविधा लिन चाहेमा समानुुपातिक थप शुल्क बुझाएर लिन सकिने व्यवस्था गरिएको छ ।

३. रोजगारीको लागि भारत जाने नेपाली नागरिकहरुको संख्या लाखौं छ । तर, हामीले न त अहिलेसम्म भारत जाने नागरिकलाई वैदेशिक रोजगारीको परिभाषाभित्र राख्ने गरेका छौं, न त बीमालगायतबाट रक्षावरण नै गर्ने गरेको छौं ।

रोजगारीको लागि भारत जाने सबै बालिग नागरिकहरुको अनिवार्य बीमा हुने नयाँ व्यवस्था गरिएको छ ।

नयाँ व्यवस्थाअन्तर्गत् भारत जाने नागरिकहरुलाईसमेत वैदेशिक रोजगारको लागि अन्य देश जाने नागरिकसरह घातक रोगबापत ५ लाख, जीवन बीमाबापत ७ लाख ५० हजार र बोर्डबाट अधिकतम् १ लाख ५० हजारसहित कुल १४ लाखसम्म राहत तथा क्षतिपूर्ति दिइने छ । यो व्यवस्था आगामी २०७३ फाल्गुण १ गतेदेखि लागू हुनेछ ।

यही अवस्थालाई मध्यनजर गर्दै अबदेखि भारतमा गएर काम गर्ने सबै नागरिकहरुलाईसमेत वैदेशिक रोजगारको मान्यता दिइनेछ । र, अन्य देश जाने नागरिकसरह राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन वैदेशिक रोजगार (म्यादी) जीवन बीमा र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डअन्तर्गतको कल्याणकारी कोषमा सहभागिता गराइनेछ ।

यस्तो बीमामा ५ लाख बराबरकै घातक रोगको बीमासमेत समावेश हुनेछ । बीमांक रकम ७ लाख ५० हजार हुनेछ ।

त्यस्तै, वैदेशिक रोजगार प्रबद्र्धन बोर्डबाट कम्तीमा १ लाख ५० हजार गरी कुल १४ लाखसम्म राहत तथा क्षतिपूर्ति दिइनेछ । यस्तो बीमाको समयावधि कम्तिमा एक वर्षको हुनेछ ।

तर, काम गर्ने समयावधि तोकिएको हकमा भने बीमा अवधि सोही बमोजिम हुनेछ ।

भारत काम गर्न जाने नागरिकले सम्बन्धित जिल्ला प्रशाशन कार्यालय वा सीमा जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट काम गर्न जाने अनुमतिपत्र अनिवार्यरुपमा बनाउनु पर्नेछ ।

यो अनुमतिपत्र दिनुअघि जिल्ला प्रशासन कार्यालयले बीमा र कल्याणकारी कोषमा अनिवार्य सहभागिता गराउनेछ । यसका लागि छुट्टै कार्यविधि बनाइ एक महिनाभित्र लागू गरिनेछ ।

४. तीन महिनाको लागि वैदेशिक रोजगार (म्यादी) जीवन बीमाको मोहलत अवधिको (ग्रेस पिरियड) नवीकरण हुने नयाँ व्यवस्था गरिएको जानकारी गराउँछु ।

यो व्यवस्थाले बीमा नवीकरण नहुदै वैदेशिक रोजगारीमा रहेका कुनै नागरिकको मृत्युु भएमा वा अंगभंग वा बिरामी भइ बीमा दाबी गर्न योग्य क्षति पुगेमा बीमाको स्वतः नवीकरण भएको मानी रक्षावरण गरिनेछ । यो व्यवस्था आजकै मितिदेखि लागू हुनेसमेत जानकारी गराउँछु ।

मिति २०७३/१०/११ देखि २०७४/०१/११ सम्म वैदेशिक रोजगारीमा रहेका कुनै नागरिकको बीमा नवीकरण नहुँदै मृत्यु, अंगभंग वा बिरामीलगायत बीमा दाबी गर्न योग्य क्षति पुगे बीमाले स्वतः रक्षावरण गर्नेछ । यो व्यवस्थाले विदेशमा रहेका सम्पूर्ण नेपाली कामदारलाई तत्काल आर्थिक सुरक्षा मिल्ने अपेक्षा गरिएको छ ।

यो व्यवस्था नेपाल सरकारको जमानत (ग्यारेन्टी) मा हुनेछ र सरकारले प्रिमियमबापत तिर्नुपर्ने अनुमानित रकममध्ये रु. १० लाख बीमा समितिलाई छुट्टै खाता खोल्न लगाइ तत्काल जम्मा गरिदिनेछ ।

५. तीन महिनाभित्र घातक रोगको बीमासमेत समावेश गरी वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण नागरिकहरुको अनिवार्य बीमा नवीकरण गर्ने व्यवस्था मिलाइएको छ ।

६. वैदेशिक रोजगारमा जाने नेपाली कामदारको बीमा अवधिलाई २०७३ साल माघ १५ गतेदेखि नै लागू हुने गरी करार अवधिभन्दा थप एक वर्ष कायम हुने नयाँ व्यवस्था मिलाइएको छ ।

यो व्यवस्थाले बीमाबाट नागरिकहरुलाई मध्यपूर्वका कतिपय देशहरुलाई ३ वर्ष र मलेसियालाई ४ वर्षसम्म रक्षावरण गर्नेछ ।

हाल करार अवधिभन्दा ६ महिना बढीको बीमा गर्ने व्यवस्था भएकोमा अब सो अवधि बृद्धि भइ एक वर्षको हुनेछ ।

वैदेशिक रोजगार प्रबद्र्धन बोर्डको कल्याणकारी कोषबाट कामदारलाई प्रदान गरिने रकमको अवधिसमेत सोहीबमोजिम हुने गरी माघ १५ गतेभित्र वैदेशिक रोजगार नियमावली संशोधन गरी लागू गर्नसमेत श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिइएको छ ।

७. मेडिकल फेल भएर फर्किएका नागरिकहरुलाई दाबी गर्ने हद म्याद नराखी पीडितलाई सहजै क्षतिपूर्ति दिलाउन साविकको व्यवस्थामा सुधार गर्नुपर्ने आवश्यकता महसुस गरी कामदारको मेडिकल गर्ने स्वास्थ्य संस्थाबाट धरौटी लिइ सो रकमबाट ४५ दिनभित्र सरकारी निकायमार्फत् नै क्षतिपूर्ति भुक्तान गर्ने व्यवस्था मिलाउन श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छु ।

वैदेशिक रोजगारमा जाने व्यक्तिले नेपालमा गरेको स्वास्थ्य परीक्षण गन्तव्य मुलुकमा गइ असफल भएको अवस्थामा फर्किएका नागरिकहरुलाई दाबी गर्ने हद म्याद नराखी सरल प्रक्रियाबाट क्षतिपूर्ति रकम फिर्ता गर्ने व्यवस्था ४५ दिनभित्र मिलाउन श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिइएको छ ।

र, त्यस्तो स्वास्थ्य जाँच गर्ने संस्थाहरुबाट बैंक ग्यारेन्टी वा धरौटी लिइ सरकारी निकायबाटै क्षतिपूर्ति भुक्तान गर्ने व्यवस्थासमेत ४५ दिनभित्र मिलाउन समेत श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिइएको छ ।

८. विशेष अवस्थाका (जेल सजाय भोगिरहेका, बिरामी भएको कारण कमाउन नसक्ने अवस्थामा रहेका) नागरिकहरुको बीमा नवीकरण शुल्क सरकारले व्यहोर्ने नयाँ व्यवस्था मिलाइएको छ । यो व्यवस्था आजको मितिले तीन महिनासम्ममात्र कायम रहने छ ।

विभिन्न सामान्य अभियोगमा जेल सजाय भोगिरहेका, बिरामी भएको कारण कमाउन नसक्ने अवस्थामा रहेकाजस्ता विशेष अवस्थाका नागरिकहरुको बीमा नवीकरण शुल्क सरकारले व्यहोर्ने छ । यो व्यवस्थासमेत आजकै मितिदेखि लागू हुनेछ ।

९. दक्षिण कोरियाबाट शव ल्याउन दिने राहत रकमको विद्यमान व्यवस्थामा परिमार्जन गर्न श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिइएको छ ।

मध्यपूर्व तथा मलेसियामा मृत्यु भएका नागरिकहरुको शव ल्याउन आर्थिक सहायता दिँदा विभिन्न कानुनी कठिनाइ भोग्नुपर्ने तर दक्षिण कोरियामा मृत्यु भएका नागरिकहरुको शव ल्याउन तत्काल कम्तीमा ५ लाखदेखि ७ लाख रुपैयाँसम्म भुक्तान गर्नुपर्ने अवस्था छ ।

यो व्यवस्थामा परिमार्जन गरी बीमा तथा रोजगारदाताले व्यहोर्ने रकममा अपुग भएमात्र बोर्डबाट थप रकम व्यहोर्ने अथवा कोरिया जाने नागरिकहरुबाट उठाइएको रकमबाटै व्यहोर्ने व्यवस्था मिलाउन श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिइएको छ ।

यो व्यवस्था गर्नुपर्ने कारणहरुः
वैदेशिक रोजगार प्रबद्र्धन बोर्ड स्थापना भएयता मृत्यु भएका ७० जना र अन्यलाई गरी बोर्डबाट कम्तिमा ३ करोड ३२ लाख रकम क्षतिपूर्ति तथा राहत वितरण गरिएको छ । जबकि, कोरिया जाने कामदारबाट कल्याणकारी कोषमा हालसम्म ४ करोड २१ लाखमात्र सहभागिता भएको छ ।

दक्षिण कोरिया जाने नागरिकहरुको वार्षिक संख्या ६/७ हजार हुने गरेको आधारमा यस्तो सहभागिता प्रतिव्यक्ति एक हजारको दरले हुन्छ र यो वार्षिक सरदर ६०/७० लाखमात्रै हुन्छ ।

तर, बोर्डले वार्षिक करिब एक करोडसम्म राहत तथा क्षतिपूर्ति वितरण गरिरहेको छ ।

यसबाट अबको केही समयपछि कोरिया गएका नागरिकहरुको शव ल्याउन पनि खाडी तथा मलेसिया गएका नागरिकहरुले जनाएका सहभागिता रकम पठाउनुपर्ने हुनसक्छ ।

१०. वैदेशिक रोजगारमा जाने कामदारको कल्याणकारी कोषमा मुलुक र आम्दानीसमेतलाई दृष्टिगत गरी योगदानपूर्ण सहभागिता गराउन श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिइएको छ ।

मध्यपूर्वमा काम गर्न जाने नागरिकहरुको करार अवधि २ वर्ष र मलेसिया जाने कामदारहरुको करार अवधि ३ वर्षको हुन्छ ।

त्यस्तै, मध्यपूर्व र मलेसियामा काम गर्न जाने नागरिकहरुको औसत आम्दानी २५ हजार प्रतिमहिना हुन्छ । तर, दक्षिण कोरिया ४ वर्ष १० महिना र इजरायल जाने कामदारहरुको करार अवधि ५ वर्षको हुन्छ । यी दुबै देशमा काम गर्ने नागरिकहरुको न्यूनतम् आम्दानी हरेक महिना १ लाख २५ हजार हुन्छ ।

तर, उनीहरुले कल्याणकारी कोषमा गर्ने सहभागिता भने मध्यपूर्व र मलेसिया जाने नागरिकले गर्ने बराबर नै हुन्छ ।

यस्तो व्यवस्थालाई यथाशिघ्र परिमार्जन गरी जुनसुकै देश गएपनि आम्दानी र करार अवधिको अनुपातको सिद्धान्तमा टेकेर २०७३ फागुन १ गतेभित्र सहभागिता रकमको सीमा तोक्न वैदेशिक रोजगार प्रबद्र्धन बोर्डलाई निर्देशन गर्न चाहन्छु ।

११. बीमा कम्पनीहरुले बीमकको परिवारकोसमेत चालू फोन नम्बर राख्ने र म्याद गुज्रनुअगावै नवीकरण गर्न सूचित गर्ने व्यवस्था अनिवार्य गर्ने व्यवस्था मिलाउन बीमा समितिलाई निर्देशित गरिएको छ ।

साथै, बीमा प्रदायक संस्थाहरुले बीमकलाई कम्तीमा ३० दिनभित्र कम्तीमा तीनपटकसम्म मौखिक जानकारी दिइ बीमा नवीकरण गर्न सूचित नगरेको अवस्थाबाट बीमा फेल भएमा र बीमकले क्षतिपूर्ति तथा राहत पाउनबाट बन्चित भएमा सम्बन्धित बीमा कम्पनी नै जवाफदेही हुने व्यवस्था मिलाउनसमेत बीमा समितिलाई निर्देशन भइसकेको जानकारी गराउँछु ।

१२. मलेसियासहित खाडीमुलुकमा नेपाली कामदार लाने विदेशी कम्पनी स्वयंले नै व्यहोर्ने गरी कम्तीमा रु. २० लाख नेपाली रुपैयाँ बराबरको चौबीसै घन्टा बिमाको व्यवस्थाका लागि प्रक्रिया अघि बढाइने जानकारी गराउँदछु ।

१३. वैदेशिक रोजगारका क्षेत्रमा भएका व्यवस्थाहरुबारे नियमितरुपमा सन्चारमाध्यमहरुद्धारा प्रभावकारी प्रचार–प्रसार गर्ने व्यवस्था मिलाउन श्रम तथा रोजगार मन्त्रालय, बीमा समिति, तथा वैदेशिक रोजगार प्रबद्र्धन बोर्डलाई निर्देशन भइसकेको छ ।

१४. अन्त्यमा, उल्लेखित सबै निर्देशनहरु कार्यान्वयन, समन्वय तथा सन्चारमाध्यमबाट प्रचार–प्रसार गर्नको लागि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारज्यूको संयोजकत्वमा निर्देशक समिति बनाइएकोसमेत जानकारी गराउँदछु ।