तीन महिने अभियान र जनअपेक्षा

तीन महिने अभियान र जनअपेक्षा

नेकपा (क्रान्तिकारी माओवादी)को केही समय पहिले बसेको केन्द्रीय समितिको बैठकले संगठन विस्तार तथा सुदृढीकरण अभियान’ संचालन गर्ने निर्णय गरेको छ । यो निर्णयको पार्टीका लागि मात्र होइन, समग्र नेपाली समाजका लागि, विशेषतः नेपाली समाजको क्रान्तिकारी रुपान्तरणका लागि पनि धेरै ठुलो महत्व रहेको छ । गत माघ ५ गते यो अभियानको कतिपय राज्यहरुमा र देशका अधिकांस जिल्लामा समेत उद्घाटन भैसकेपछि यसले सार्वजनिक चासो र जिज्ञासा पनि बढाउने काम गरेको छ वा गर्नेछ । प्रस्तुत लेख मूलतः यसै विषयमा केन्द्रित रहनेछ ।

निराशा, पलायन, हतोत्साह

ठुला ठुला क्रान्तिकारी आन्दोलनमा सहभागी क्रान्तिकारी नेपाली जनता केही वर्षदेखि यता निराश र हतोत्साही भएको सर्वत्र अनुभव गरिँदै आएको छ । जनता मात्र होइन, लामो समयदेखि संघर्षको नेतृत्व गर्दै आएका पार्टीका एक स्तरका नेताहरु र कार्यकर्ता समेतमा यो प्रवृत्ति देखापर्दै आएको छ । यिनीहरुमा पलायनका भावहरु देखिने गरेका छन् । आखिर सबै प्रकारका खतरासँग खेल्दै आएका ती वीर वीरांगनाहरु किन यसरी हतोत्साहित हुन पुगेका हुन् ? के अब नेपालमा क्रान्तिको संभावना टरेको हो त ? यी निरासा, पलायन र हतोत्साहका बादलहरु कहिले फाट्ने होलान् ? यतिखेर नेपाली जनतालाई यी सबै प्रश्नको सहि जवाफ चाहिएको छ ।  

माथि निराशा, पलायन, हतोत्साहका विषयमा जुन चर्चा गरियो, सबै भन्दा पहिले त त्यसको कारण पत्ता लगाउनु आवश्यक छ । त्यसका विविध कारणहरु हुन सक्दछन् । त्यसमध्ये सबैभन्दा महत्वपूर्ण कारण हो– दश वर्षको जनक्रान्तिको पराजय । उक्त जनक्रान्तिको एउटा भिषण  प्रतिक्रान्तिद्वारा विस्थापन गरिएको छ । यो प्रतिक्रान्ति त्यत्ति सहज र सरल तरिकाबाट नभएर सामान्य जनताले छिटै बुझि नहाल्ने तरिकाबाट भएको छ । यो प्रतिक्रान्तिमा फौजी शक्तिले कम गैरफौजी वा राजनीतिक वा कुटनीतिक शक्तिहरुले बढी भूमिका खेलेका छन् । यो प्रतिक्रान्ति पहिले क्रान्तिको नेतृत्व गरेका शीर्ष पंक्तिका नेताहरुमार्फत् नै सम्पन्न गराइएको छ । यसमा प्रमुख भूमिका खेल्ने साम्राज्यवादी र विस्तारवादी शक्तिका प्रतिनिधिहरु सतहमा कम देखापरेका छन् । यसमा वाह्य रुपमा देखापरेका पात्रहरु कुनै समयका नायकहरु हुन् । ती नायकहरु, जसले सर्वहारावर्गको मार्गदर्शक सिद्धान्तमा आफ्नो नामसम्म पनि जोड्न पुगे, तिनीहरु नै आज खलनायक बनेर प्रतिक्रान्तिको नेतृत्व गरिरहेका छन् । तिनीहरु आज प्रतिक्रान्तिलाई महत्वपूर्ण उपलब्धि भनेर कुतर्क प्रस्तुत गरेर क्रान्तिकारी कार्यकर्ता र जनतामा विभ्रम पैदा गराइरहेका छन् । खलनायकहरुद्वारा पारिएका यस प्रकारका भ्रमको पर्दाफास नगरिकन, यो दिग्भ्रमबाट नेपाली जनतालाई मुक्त नगराइकन नयाँ ढंगले क्रान्तिको विकास गर्न पनि सकिँदैन ।

एउटा ठुलो प्रतिक्रान्ति पश्चात् जनताको स्तरमा निराशा फैलिनु, उनीहरु हतोत्साहित हुनुलाई स्वभाविक मान्नु पर्दछ । विश्व क्रान्तिका अनुभवले पनि यहि कुरा देखाएको छ । तर, एउटा क्रान्तिकारी पार्टीका नेता र कार्यकर्ता पनि जनता सँगै वा जनता जस्तै निराश र हतोत्साहित बन्नु हुँदैन । यदि क्रान्तिकारी पार्टीका नेता पनि जनताकै स्तरमा ओर्लेर निराश र पलायन हुन्छन् भने नेता र जनताका वीचको अन्तर नै कहाँ रह्यो र ? क्रान्तिकारी नेतृत्वले क्रान्तिको पराजय भएको छ भने त्यसलाई स्वीकार्ने र त्यसको कारण पत्ता लगाउने काम गर्नु पर्दछ, आफैं निराश हुने होइन । तत्कालिन रुसमा सन् १९०५ को क्रान्ति असफल भएपछि त्यहाँ जुन प्रतिक्रान्ति भयो, त्यसबाट रसियाली समाजमा ठूलो निराशा छायो । कतिपय मानिसहरु अब क्रान्ति नै सम्भव छैन भन्ने सम्मको निष्कर्षमा पनि पुगे । तर लेनिन र वहाँले नेतृत्व गर्नुभएको बोल्शेविक पार्टीका नेताहरु पनि त्यसैगरी निराश भएको भए, के सन् १९१७ का फरवरी र अक्टुबर क्रान्ति सम्पन्न हुन सक्ने थियो र ? त्यो संभव थिएन । उक्त क्रान्तिले विश्वव्यापी रुपमा पार्ने प्रभाव पनि पार्न सक्ने थिएन । विश्व क्रान्ति र विश्व कम्युनिष्ट आन्दोलनले पनि विकास गर्ने अवसर पाउने थिएन । यतिखेर हामी सबैले सन् १९०५ मा रुसमा क्रान्तिको पराजय पश्चात् कसरी बोश्लेविक पार्टीले त्यसको सामना ग¥यो र फेरि महान समाजवादी क्रान्ति सम्पन्न ग¥यो भन्ने ऐतिहासिक अनुभवबाट गम्भीर शिक्षा लिनु आवश्यक छ ।

प्रतिक्रान्तिका वास्तविक कारण पत्ता लगाएर ती कारणहरुको चिरफार गर्ने, तिनलाई पराजित गर्ने कामको यतिखेर ठुलो महत्व छ । सँधैभरि निराशा, पलायन र हतोत्साहका कथाहरु मात्र सुनाउने होइन कि अब फेरि क्रान्तिकारी उत्साह, साहस र सकृयता पैदा गराउने काम गर्नु आवश्यक छ ।    

स्थति फेरिएको छ

माथि निराशा, हतोत्साह र पलायनको स्थितिको जुन चर्चा गरियो, त्यसमा विस्तारै परिवर्तन आउँदै गएको छ । यसको मुख्य कारण के हो भने संसदीय मूलधारका पार्टीहरु– नेपाली कांग्रेस (नेका), एमाले र माओवादी केन्द्र(माके), राप्रपा आदि दलहरु पूर्णरुपमा असफल सावित भएका छन् । ती दलहरु नेपालका लागि समस्या समाधान गर्ने होइन, समस्या थप्दै जाने देश र नेपाली जनताका लागि बोझ र अभिशाप बन्दै गएका छन् । यो संविधान सभालाई तिनीहरुले नेपाली समाजभित्रका समस्याको समाधान दिने अचुक हतियारका रुपमा जसरी व्याख्या गरेका थिए, परिणाम ठिक त्यसको उल्टो निक्लेको छ । राष्ट्रिय स्वाधीनताको समस्या अहिले विकराल बनेको छ । यो विगतका असमान सन्धि कार्यान्वयन मात्र होइन, अहिले देशलाई भुटानीकरण र सिक्किमीकरणतिर धकेल्ने काम भैरहेको छ । उपरोक्त चार दल बाहेक मधेश कन्द्रीत दलहरु समेतका भारतीय दलाल शक्तिहरुको मिलेमतोमा यो राष्ट्रघात भैरहेको छ । बेरोजगारीका समस्या, महँगी, भ्रष्टाचारले सिमा नाघेको छ । जनसंविधान बन्ने संभावना नै देखिँदैन, जबर्जस्ती यही पश्चगामी संविधान जारि गर्ने काम भएको छ । यो पश्चगामी संविधानलाई स्वीकार गर्न नेपाली जनताको एउटा ठूलो हिस्सा तयार छैन । देशको यो अवस्थासँग नजिकबाट परिचित नेपाली जनता अब यो स्थितिको अन्त्य हुनुप¥यो भन्ने पक्षमा उभिन थालेका छन् । नेपाली समाजमा निराशाको बादल विस्तारै फाट्दै जान थालेको छ । नेकपा (क्रान्तिकारी माओवादी) ले जुन कुराको भविष्यवाणी गरेको थियो, अहिले त्यो सहि सावित हुँदै गएको छ । पश्चगामी संविधान त प्रतिकृयावादी र अवसरवादी पार्टीहरुले जारी गरेका छन्, तर त्यो लागू हुन सकेको छैन । ती पार्टीका नेताहरु यसबारे दिनदिनै चिन्ता जाहेर गरिरहेका छन् ।, तर यसलाई लागु गराउन तिनीहरु असफल सावित भैरहेका छन् । नेकपा (क्रान्तिकारी माओवादी) देशको एक मात्र क्रान्तिकारी शक्तिको रुपमा दिनदिनै स्थापित हुँदै गएको छ । यो पार्टीको नेतृत्वमाथि यो स्थितिको अन्त्यका लागि पार्टी अघि बढ्नु पर्दछ भन्ने दवाब बढ्दै गएको छ ।

वस्तुगत र आत्मगत शक्तिको तालमेल

यतिखेर नेपालमा अर्को जनआन्दोलन वा जनक्रान्तिको खाँचो दिनदिनै महशुस हुँदै गएको छ । तर क्रान्तिकारी शक्ति आत्मगत रुपमा कमजोर अवस्थामा छ । वस्तुगत परिस्थिति क्रान्तिका लागि परिपक्व तर आत्मगत शक्ति कमजोर यही नै यतिखेरको परिस्थितिको विशेषता हो ।

उपरोक्त विशेषतामाथि ध्यान दिँदै क्रान्तिकारी माओवादी पार्टीको केन्द्रीय समितिले तीन महिने अभियान संचालन गर्ने निर्णय गरेको छ । यो अभियानको जोड क्रान्तिका लागि परिपक्व वस्तुगत स्थितिको अनुकूल आत्मगत स्थितिको विकास गर्नु रहेको छ । यसका निमित्त पार्टीले संगठन सुदृढीकरण र विस्तारमा शक्ति केन्द्रीत गर्ने निर्णय गरेको छ । क्रान्तिकारीहरुको शक्ति जनताका बीचको संगठनमा नै अन्तर्निहित रहेको हुन्छ । त्यसैले पार्टीले जनतालाई क्रान्तिकारी संगठनहरुमा आवद्ध गराउने काममा तीब्रता दिनेछ ।

संगठनसँग घनिष्ट रुपमा जोडिएको विषय राष्ट्र र जनताका जल्दाबल्दा समस्याका समाधानका लागि संघर्षलाई अघि बढाउनु हो । यतिखेर ठुला जन आन्दोलन उठिहाल्ने अवस्था तयार भैसकेको छैन । साना साना संघर्षलाई अघि बढाउँदै लगेर ठूलो जनआन्दोलन सृष्टि गर्ने हो । पार्टीले अभियानका दौरानमा साना धेरै ठुलो संख्यामा जन संघर्ष संचालन गर्ने नीतिलाई पनि अभियानका दौरानमा अघि बढाउने छ । यही माघ ५ गते र त्यसको आसपासमा आयोजित जन संघर्षका कार्यक्रमले ‘विहानीले दिनको झझल्को दिन्छ’ भन्ने भनाईलाई पुष्टि गरेको छ ।
आगामी तीन महिनामा नेपाली समाजले नयाँ फड्को मार्न सक्ने आशा र अपेक्षासहित यो अभियानलाई अघि बढाइँदै छ । हामीले यसको पूर्ण सफलताको अपेक्षा गरेका छौं ।   
माघ ९ गते ।