एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन कुराकानी गरेका छन् ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाईट हाउसले दुई नेताबीच टेलिफोन संवाद भएको पुष्टि गरेको छ ।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मोदीसँगको कुराकानीका क्रममा अमेरिकाले भारतलाई एक सच्चा साथी र संसारमा देखिएका चुनौतीको सामना गर्नका लागि साझेदार सम्झिएको उल्लेख छ ।
टेलिफोन कुराकानीका क्रममा मोदी र ट्रम्पबीच अर्थव्यवस्था र रक्षा जस्ता क्षेत्रमा अमेरिका र भारतबीच मजबुत सम्बन्ध स्थापित गरेर अघि बढ्ने सहमति भएको छ ।
मोदीले ट्रम्पसँग मध्य तथा दक्षिण एसियाको सुरक्षा चुनौतीबारे कुराकानी गरेका थिए । दुई नेताबीच आतंकवादविरुद्ध काँधमा काँध मिलाएर लड्ने सहमति भएको छ ।
ट्रम्पले मोदीलाई यस वर्ष अमेरिकाको भ्रमण गर्न निम्ता समेत दिएका छन् । पाँच दिनअघि मात्रै ट्रम्पले अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा पदभार ग्रहण गरेका थिए । मोदी ट्रम्पसँग राष्ट्रपति बनेपछि टेलिफोन कुराकानी गर्ने पाँचौ नेता हुन् ।
२१ जनवरीमा उनले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र मेक्सिकोका राष्ट्रपति एनरिक पेना नेइटोसँग कुराकानी गरेका थिए भने आइतबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन कुराकानी गर्दै अमेरिका आउने निम्तो दिएका थिए ।
यसैगरी उनले यसअघि नै इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसीसँग पनि कुराकानी गरिसकेका छन् ।