दमक । जंगली हात्तीको आक्रमणमा परी पुनः एक जनाको मृत्यु भएको छ । जंगली हात्तीको आक्रमणबाट १३ वर्षीय बालिका शर्मिला लिम्बूको मृत्यु भएको हो ।
आइतबार जंगली हात्तीको आक्रमणमा परी भद्रपुर–२ निवासी ४१ वर्षीया पालमाया सुब्बाको मृत्यु भएको थियो ।
जङ्गली हात्तीको आक्रमणमा परी एक बालिकासहित दुईजनाले ज्यान गुमाएसँगै झापाको भद्रपुर नगरपालिका–२ शोकमग्न भएको छ ।
आइतबार मायालु सामुदायिक वनमा घाँस काट्न गएका उनीहरुलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणमा परी पालमायाको आइतबार नै मृत्यु भएको अवस्थामा शव फेला परेको थियो ।
यता आइतबारदेखि नै बेपत्ता बनेकी शर्मिलाको सोमबार मात्रै शव फेला परेको हो । हराएकी बालिकालाई सोमबार स्थानीयवासी, प्रहरी र जिल्ला वन कार्यालय झापाको टोलीले मृत अवस्थामा फेला पारेको थियो ।