एइबरमाथि बार्सिलोनाको सहज जित

एइबरमाथि बार्सिलोनाको सहज जित

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडमाथिको दबाब कायम गरेको छ ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले एइबरमाथि ४–० को जित निकाल्दै शीर्ष स्थानको रियलसँगको अंक दुरी २ मा झारेको हो ।

बार्सिलोनाको जितमा डेनिस स्वारेज, लियोनल मेस्सी, लुइस स्वारेज र नेइमारले गोल गरे । ३१ औं मिनेटमा डेनिस स्वारेजले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई १–० को अग्रता दिलाएका थिए ।

बार्सिलोनाले दोस्रो हाफमा थप तीन गोल गर्यो । दोस्रो हाफमा मेस्सी स्वारेज र नेयमारले गोल गरे । खेलको ५० औं मिनेटमा मेस्सी तथा ६८ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनाको अग्रता ३–० मा पुर्याए भने अतिरिक्त समयमा नेइमारले गोल गरेपछि बार्सिलोनाले ४–० को जित निकाल्न सफल भयो ।

जितपछि तेस्रो स्थानको बार्सिलोनाको १९ खेलबाट ४१ अंक छ । यो एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिड भन्दा दुई अंक कम हो । दोस्रो स्थानमा रहेको सेभिल्लाको ४२ अंक छ ।