स्वान्सीसँग लिभरपुल पराजित, युनाइटेडको जितमा रोनीको कीर्तिमानी गोल

स्वान्सीसँग लिभरपुल पराजित, युनाइटेडको जितमा रोनीको कीर्तिमानी गोल

काठमाडौं । इग्लिस प्रिमियर लिग फुटबलमा उपाधीको दाबेदार लिभरपुल स्वान्सी सिटीसँग स्तब्ध बनेको छ ।

शनिबारराति भएको खेलमा लिभरपुल सिटीसँग आफ्नै घरेलु मैदान एलफिल्डमा ३–२ ले पराजित भएको हो ।

खेलमा स्वान्सी सिटीलाई विजयी गराउन फर्नान्डो लोरेन्तेले दुई गोल गरे भने जिल्फी सिगुर्डसनले एक गोल गरे । लिभरपुलका रोबर्टो फिर्मिनोले दुई गोल गरेपनि जितका लागि पर्याप्त भएन ।

शनिबारराति नै भएको अर्को खेलमा म्यान्चेस्टर सिटी र स्टोक सिटीले १–१ गोलको बराबरी खेलेका छन् । खेलमा युनाईटेडका हुँवा माटाले १९ औं मिनेटमा नै आत्मघाती गोल गरेपनि युनाईटेड १–० ले पछि परेको थियो । सोही गोल फर्काउन उसलाई खेलको अतिरित्त समयसम्म कुर्नुपर्यो ।

माटाको स्थानमा मैदान प्रवेश गरेका वायन रोनीले ९० औं मिनेटमा एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् । यो गोलसँगै रोनी म्यान्चेस्टर युनाईटेडका सर्वाधिक गोलकर्ता बनेका छन् । उनले ४४ वर्षअघिको सर बबी चार्लटनको कीर्तिमान भंग गरेका हुन् ।

प्रिमियर लिग अन्तर्गतकै अर्को खेलमा म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपरले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

खेलमा सिटीका लेरोए साने र केभिन डे ब्रायनले एक एक गोल गरेपछि टोटनह्याम २–० ले पछि परेको थियो । तर लण्डन क्लबका लागि डेले अली र हिउङ मिन सनले एक एक गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।

प्रिमियर लिग अन्तर्गतका अन्य खेलहरुमा एभर्टनले क्रिष्टल प्यालेसलाई १–० ले हरायो भने वेष्ट ह्याम युनाईटेडले मिडिल्सब्रोलाई ३–१ ले पराजित गर्यो ।

यसैगरी वेष्ट ब्रोमले सण्डरल्याण्डलाई २–० ले हराँउदा बर्नमाउथ र वाट्फोर्डले २–२ गोलको बराबरी खेलेका छन् ।

प्रिमियर लिग फुटबलमा आइतबारराति तीन खेल हुनेछन् । साउथह्याम्पटनले गत सिजनको विजेता र लेष्टर सिटीसँग खेल्दा आर्सनल र बर्नली तथा चेल्सी र हल सिटी आमने सामुने हुनेछन् ।

शीर्ष स्थानमा रहेको चेल्सीले २१ खेलबाट ५२ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको टोटनह्यामको २२ खेलबाट ४६, तेस्रो स्थानमा रहेको लिभरपुलको समान खेलबाट ४५ अंक रहेको छ ।