एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित संसद भवन नजिकै भएका दुई वटा शक्तिशाली बम विस्फोटमा ३० जनाको मृत्यु भएको छ भने अन्य ८० जना घाइते भएका छन् ।
संसद भवनबाट कर्मचारीहरु बाहिरिने क्रममा आक्रमण भएको थियो । बम आक्रमणमा मारिनेमध्ये अधिकांश सर्वसाधारण र संसद भवनबाट बाहिरिदै गरेका कर्मचारी परेको अधिकारीहरुले जनाएका छन् ।
आक्रमणलगत्तै आतंकवादी संगठन तालिवानका प्रवक्ताले अफगान गुप्तचर एजेन्सीका सदस्यहरुलाई लक्षित गर्दै आक्रमण गरिएको दाबी गरेका छन् । आक्रमणकारी हिँड्दै आएर आत्मघाती आक्रमण गरेका जनाइएको छ ।
अफगानिस्तानमा भएको यो आक्रमण केही महिनादेखि तालिवानले गर्दै आएको हिंसात्मक आक्रमणकै शृंखला हो । आक्रमणमा एक वरिष्ठ सुरक्षा अधिकारी पनि मारिएका छन् ।
अफगानी स्वास्थ्य मन्त्रालयका अधिकारी वाहिद माजरोहले घाइतेहरुलाई विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको जनाएका छन् ।
आक्रमणमा घाइते भएका अफगानी संसदका सुरक्षा गार्ड जाबीले पहिलो विस्फोट संसद भवनबाहिर भएको र त्यसमा परी सो स्थानमा काम गरिरहेका कामदार मारिएको जनाएका छन् । त्यसलगत्तै आत्मघाती आक्रमणकारीले विस्फोट गराएका थिए ।
पहिलो विस्फोटमा घाइते तथा मारिएकाको उद्दार गर्न प्रहरी पुग्दैगर्दा दोस्रो विस्फोट भएको थियो । मंगलबार नै हेलमण्ड प्रान्तमा भएको आत्मघाती हमलामा ७ जना मारिएका थिए ।
हेलमन्ड प्रान्तका प्रहरी प्रमुख गेन अघा केम्तोजले गुप्तचर निकायका अधिकारीले प्रयोग गरेको गेस्ट हाउसलाई लक्षित गरी आक्रमण भएको जनाएका छन् ।