बुटवल । नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय कार्यालय सदस्य परि थापाले संविधान संशोधन प्रस्तावपछि मुलुकमा बढेको द्वन्द्वलाई संसदवादी दलबीचको झगडा भएको टिप्पणी गरेका छन् ।

उनले सरकारले भारतीय विस्तारवादीको इशारामा संशोधन प्रस्ताव ल्याएको र एमालेले नक्कली राष्ट्रवादी चरित्र देखाएको दावी गरे । पार्टीको मध्य–पश्चिम कमाण्डको विस्तारित बैठकलाई बुटवलमा उद्घाटन गदैं उनले सरकार र एमाले दुबैले गलत काम गरेको बताए ।

उनले दलहरुले जारी गरेको संविधान पश्चगामी भएकाले खारेज गरेर जनसंविधान निर्माण गर्नुपर्नेमा जोड दिए । देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपालका केन्द्रीय सचिव समेत रहेका उनले राष्ट्रियता यतिवेला ठूलो संकटमा परेकोले मुलुकले ठुलो परिवर्तनको माग गरेको बताए ।

राष्ट्र र जनताका हितका लागि जनगणतन्त्र स्थापनाका गर्न पार्टीले संघर्षमा जोड दिएको भन्दैं त्यसमा लाग्न सबैमा अनुरोध समेत गरे । थापाले आफुलाई प्रगतिशील भन्नेहरु सरकारमा गएपनि भ्रष्ट्राचार निर्मुल हुंनुको साटो संस्थागत बन्दैं गएको दावी गरे ।

पार्टी अवध राज्य समिति ईन्चार्ज प्रेमनाथ सुवेदीको अध्यक्षतामा भएको बैठकमा चार राज्य समितिका ईन्चार्ज तथा केन्द्रीय सदस्यहरुले आ–आफ्नो सांगठनिक रिर्पाेटिङ गदैं राष्ट्रियता, जनतन्त्र र जनजीविकाको लागि पार्टीले संघर्ष गर्नुपर्नेमा जोड दिएका थिए ।

मध्य–पश्चिम स्तरिय बैठक सम्पन्न भएपछि अब राज्य स्तरका बैठक बसेर केन्द्रीय कार्यक्रम अनुसार अगाडि बढ्ने सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर