एजेन्सी । ब्राजिलको स्थानीय फुटबल टिमलाई लिएर गइरहेको चार्टर्ड विमान कोलम्बियाको मेडलिनमा दुर्घटनाग्रस्त हुँदा ७५ जनाको मृत्यु भएको छ भने केहीलाई जिवितै उद्दार गर्न सफल भएको छ । यसरी भएका ठूला हवाई दुर्घटनामा यात्रु बाँच्ने बिरलै घटनामात्रै पाइन्छन् । कोलम्बियामा भएको विमान दुर्घटनामा केहीलाई उद्दार गर्न सक्नु यस्तै दुर्लभ घटनामध्ये एक हो ।
यो विमानमा चापेकोएन्स टिमका फुटबल खेलाडी दक्षिण अमेरिकी क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता कोपा सुदामेरिकानाको फाइनल खेल्नका लागि गइरहेको थियो । चापेकोएन्स फुटबल टिमको नाम पनि अब ठूला हवाई दुर्घटनामा मारिने खेलाडीको सूचीमा थपिएको छ । यसअघि भएका केही ठूला विमान दुर्घटनामा यसैगरी खेलाडीहरुको मृत्यु भएको थियो ।
१. लोकोभोटिभ यारोस्लेभल आइस हकी टिम –२०११
रुसको तीन पटक च्याम्पियन भइसकेको लोकोमोटिभ यारोस्लेभल आईस हकी टिम सेप्टेम्बर २०११ म भएको हवाई दुर्घटनाको शिकार भएको थियो । यसमा टिमका सबै खेलाडीको मृत्यु भएको थियो । विमान सिजनको पहिलो म्याचका लागि बेलारुस गईरहेको थियो । आकाशमा उडिरहेको समयमा नै विमानमा आगो लागेको थियो । सो दुर्घटनामा केही शब र विमानका भग्नावशेष तुनोशना नदीमा खसेका थिए । चालक दलका ७ जना सदस्यसहित ३६ जना खेलाडी र खेल अधिकारीको यो दुर्घटनामा मृत्यु भएको थियो ।
२.जाम्बिया राष्ट्रिय फुटबल टिम–१९९३
२८ अप्रिल १९९३ मा जाम्बियाको राष्ट्रिय फुटबल टिमका १८ सदस्य विश्वकप छनोट खेलका लागि सेनेगल गइरहेका थिए । जाम्बिया एयरफोर्सको यो विमान गेबान नजिकै दुर्घटना हुँदा सबै खेलाडीको मृत्यु भएको थियो ।
३. एलियान्जा लीमा–१९८७
पेरुको सबैभन्दा राम्रो मानिएको फुटबल टिम एलियान्जाको विमान लीमा फर्कने क्रममा ल्याण्डिङ गर्नुभन्दा ठीक अघि दुर्घटनाग्रस्त भएको थियो । विमानमा सवार ४३ जनाका साथै एलियान्जा लीमा टिमका सबै खेलाडी यो दुर्घटनामा मारिए । यो विमान दुर्घटनमा पाइलट भने बाँच्न सफल भएका थिए ।

४.ओल्ड क्रिश्चियन रग्बी टिम–१९७२
१३ अक्टोबर १९७२ मा ‘फेयरचाइल्ड’ उरुग्वेको ओल्ड क्रिश्चियन टिम राजधानी मन्टेभिडियोबाट चिलीको सान्टियागो गइरहेका बेला वेपत्ता भएको थियो । दुई महिनापछि चिलीको वायुसेनाले दुर्घटनामा बच्न सफल १४ जनालाई उद्दार गर्न सफल भएको थियो । जिउँदो बचेका दुई यात्रु १० दिनसम्म पैदल हिँडेर गएका थिए । यो कथामा एक किताब समेत लेखिएको छ र फिल्म समेत बनेको छ । जसमा यसबारे विस्तारमा उल्लेख गरिएको छ । यो दुर्घटनामा जिउँदो बच्न सफल यी मानिसले मान्छेको मासु समेत खानु परेको थियो ।
५. अमेरिका फिगर स्केटिंग टिम–१९६१
यस हवाई दुर्घटनामा अमेरिकाको फिगर स्केटिंग टिमका १८ सदस्यसहित विमानमा सवार सबै ७३ जनाको मृत्यु भएको थियो । विमान ब्रसेल्सको विमानस्थलमा अवतरणका समयमा दुर्घटनाग्रस्त भएको थियो । टिम विश्व च्याम्पियनसिपमा भाग लिनका लागि तत्कालीन चकोस्लोभाकिया जाँदै थियो । दुर्घटनापछि खेल रद्द भयो । अमेरिकी टिमको यस खेलमा १९५० देखि दबदबा थियो । तर यी खेलाडी र प्रशिक्षक गुमाएपछि टिमलाई माथि उक्सिन लामो समय लागेको थियो ।
यसैगरी फेब्रुअरी १९५८ मा म्युनिखमा भएको विमान दुर्घटनामा म्यान्चेस्टर युनाइटेडका सबै खेलाडी मारिएका थिए ।