न्युयोर्क । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा आफ्नो कार्यकालको औपचारिक सुरुवात गरेपछि प्रथम महिला हुने मेलानिया ट्रम्प र उनका छोरा बारोनका साथमा ह्वाइट हाउसमा बस्न नपाउने भएकी छन् ।
बारोनलाई ट्रम्प दम्पत्ति दुवैले शैक्षिक सत्रको बिचमा ह्वाइट हाउस लान नचाहेका कारण मेलानिया आफ्नो छोरासँग ह्वाइट हाउसमा बस्न नपाउने भएकी हुन् ।
ट्रान्जिसन टिम कम्युनिकेशन डाइरेक्टर जेसन मिलरले शैक्षिक सत्रको बिचमा १० वर्षीय बालकलाई ह्वाइट हाउस लैजानु संवेदनशील हुने र भविष्यमा यस विषयमा औपचारिक घोषणा हुने बताएका छन् ।
न्युयोर्क पोस्टमा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पकी ४६ वर्षीय पत्नी र उनका छोरा न्युयोर्कस्थित ट्रम्प टावरमा नै बस्ने उल्लेख गरिएको छ ।
अमेरिकी राष्ट्रपतिका लागि गत नोभेम्बर ८ मा भएको निर्वाचनको प्रचारका क्रममा पनि मेलानिया र बारोन सँगै देखिएका थिए ।