ओबामाले भेटे आफैले अयोग्य घोषणा गरेका ट्रम्पलाई, के के कुरा भयो ?

trump_obamaएजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा स्वागत गरेका छन् ।

भेटपछि ट्रम्पले ओबामासँगको भेट आफ्नो लागि सम्मानको विषय भएको बताएका छन् भने ओबामाले यो भेटलाई शानदार भनेका छन् ।

ओवल कार्यालयमा डेढ घन्टासम्म चलेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रपति ओबामाले आफूहरुबीच घरेलु र अन्तर्राष्ट्रिय मामिलामा कुराकानी भएको बताएका छन् ।

ओबामाले भने, ‘म नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यही भन्न चाहन्छु कि उनी सफल हुन् । किनकी उनको सफलतामा नै अमेरिकाको सफलता लुकेको छ ।’

उनका अनुसार भेटमा सत्ता हस्तान्तरणका साथसाथै विदेश नीतिबारे पनि कुराकानी भएको छ । र, ट्रम्पले जसरी आफ्नो टिमसँग मिलेर काम गर्न चाहेका छन, त्यसबाट आफू प्रभावित भएको समेत ओबामाले बताए ।

ट्रम्पले पनि भेटका लागि ओबामालाई धन्यवाद दिए । उनले भने, ‘हामीले अमेरिकाको उपलब्धीका साथसाथै चुनौतीको पनि चर्चा गर्यौं । म अमेरिकाको हितका लागि राष्ट्रपति बाराक ओबामासँग मिलेर काम गर्न चाहन्छु । मलाई भविश्यमा उनको सल्लाह आवश्यक छ । ओबामासँग भेट्नु सम्मानको कुरा हो । उनीसँग आगामी दिनमा पनि कुराकानी भइरहनेछ ।’

ओबामासँग ९० मिनेट वार्ता गरेपछि डोनाल्ड ट्रम्प ह्वाइट हाउसबाट बाहिरिएका छन् । भेटका लागि उनी न्यूयोर्कबाट आफ्नो निजी विमानमा वासिङटन एयरपोर्टमा उत्रिएका थिए ।

उनीसँग पत्नी मेलानिया पनि थिइन, जसले अमेरिकाकी वर्तमान प्रथम महिला मिशेल ओबामासँग भेट गरेकी छन् । राष्ट्रपति पदको चुनावका क्रममा ओबामा र ट्रम्पबीच आरोप प्रत्यारोप भएको थियो ।

ट्रम्पले ओबामाको अमेरिकी नागरिकतामाथि प्रश्न उठाएका थिए भने ओबामाले पनि उनलाई यो पदका लागि अयोग्य घोषणा गरेका थिए । ट्रम्पले ओबामाका सबै नीतिलाई खारेज गर्ने बताएका थिए ।