काठमाडौं । उपभोक्ताबाट लिएको रकमबाट नेपाल आयल निगमले २५ लाख खर्चेर सांसदहरुलाई चीन घुमाउन लगेको छ । चीनबाट पेट्रोलियम पदार्थ आयात गर्ने सम्भावना, चीनको उपभोक्ता ऐन, बजारलगायत विषय अध्ययन गर्ने बहानामा ६ सांसदसहित १० जनाको टोली चीन गएको छ । पेट्रोलियम पदार्थको अध्ययन गर्ने भनिए पनि उक्त टोलीमा एकजना पनि प्राविधिक र विशेषज्ञ व्यक्ति छैनन् ।
चीनको आमन्त्रणमा जानु स्वाभाविक भए पनि निगमलाई व्ययभार पर्ने गरी गएका सांसदहरुको चौतर्फी आलोचना भएको छ । भ्रमणमा व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सभापति भीष्मराज आङदेम्बे (नेपाली कांग्रेस) को नेतृत्वमा सांसद सुवासचन्द्र ठकुरी (एमाले), भेषकुमारी राउत (माओवादी केन्द्र), रमेशकुमार लामा (राप्रपा), डिकबहादुर लिम्बू (कांग्रेस), समितिका सचिव भरत खड्का, निगमका दुई र आपूर्ति मन्त्रालयका एक उच्च अधिकारी सहभागी रहेको समितिले जनाएको छ ।
मंगलबार चीन प्रस्थान गरेको टोली १२ दिनपछि मंसिर ४ मा फर्किने कार्यक्रम रहेको संसदीय समितिले जनाएको छ । निगमस्रोतका अनुसार भ्रमण दलमा सहभागी सांसदलगायत १० जनाले प्रतिव्यक्ति दैनिक १ सय २० अमेरिकी डलर (१२ हजार ८ सय ४० रुपैयाँ) का दरले भत्ता बुझ्नेछन्। १२ दिनको भत्ता प्रतिदिन १ हजार २ सय डलरका दरले १४ हजार ४ सय डलरसहित हवाई टिकट खर्च हुनेछ। १० जनाको टोलीको भ्रमणमा दुईतर्फी हवाई टिकटको करिब १ लाख रुपैयाँका दरले १० लाख रुपैयाँ र भत्ता १४ हजार ४ सय डलर (१५ लाख ४० हजार ८ सय रुपैयाँ) गरी २५ लाख ४० हजार रुपैयाँ खर्च हुनेछ। कार्यक्रममा सहभागीलाई भत्ता, हवाई टिकटलगायत करिब २२ देखि २५ लाख रुपैयाँ खर्च हुनेछ ।