ब्रुनाई माथि नेपालको शानदार जित

nepal-brunai

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले ब्रुनाईलाई ३–० ले हराउँदै नेपाल एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको कुचिङस्थित सरावत स्टेडियममा मंगलबार भएको खेलमा नेपालले ब्रुनाइमाथि सानदार जित निकाल्दै सेमिफाइनलमा पुगेको हो ।

नेपाल ४ अंक जोडेर समूह ‘ए’को बिजेता हुँदै सेमिफाइनलमा पुगेको हो । ब्रुनाइसँगको खेलमा नवयुग श्रेष्ठ, भरत खवास र विमल घर्तीमगरले गोल गरेका थिए । नवयुग र भरतले सानदार ढंगले गोल गरेका थिए भने बिमलले पेनाल्टीको सदुपयोग गर्दै बललाई जाली चुमाएका थिए ।

पहिलो खेलमा टिमोर लेस्टेमाथि ४–० को जित रचेको ब्रुनाईले नेपालसँग भने नराम्रो हार ब्यहोरेको छ । खलेको अन्तिम समयमा ब्रुनाइले हानेको प्रहार गोलकिपर किरण चेम्जोङले मुश्किलले बचाएका थिए ।

नेपालले पहिलो खेलमा टिमोर लेस्टेसँग गोलरहित नतिजा निकालेको थियो । बुधबार हुने समुह बिको समुह चरणको अन्तिम खेलमा श्रीलंका र मकाउ तथा मंगोलिया र लाओस भिड्दैछन् । उपाधिको दाबेदार मानिएको नेपालले अब सेमिफाइनलमा लाओस वा मंगोलियाको सामना गर्नेछ ।

एएफसीले एएफसी च्यालेन्ज कप आयोजना हुन छोडेपछि त्यसको विकल्पको रुपमा एएफसी सोलिडारिटी कप आयोजना गरेको हो । एएफसीले सन् २०१८ को विश्वकप र २०१९ को एसियन कप छनोटबाट बाहिरिइसकेका टोलीलाई प्रतियोगितामा सहभागी गराएको हो । लिग कम नकाउटका आधारमा जारी प्रतियोगितामा सात राष्ट्रको सहभागिता रहेको छ ।