बैकहरुकै कारण एटिम असुरक्षित

बैकहरुकै कारण एटिम असुरक्षित

banks-logoकाठमाडौं । बैंकहरुले नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार सुरक्षा प्रविधि नअपनाउदा अधिकांश एटीएम सेवा असुरक्षित भएको बुझिएको छ । राष्ट्र बैंकले आ.व. ०७२÷७३ को मौद्रिक नीतिमार्फत् बैंकहरूलाई डेबिट, क्रेडिटलगायत प्रिपेड कार्डहरूमा आधुनिक ‘चिप्स’ प्रयोग गर्न निर्देशन दिएको थियो । चिप्स एटीएम कार्डमा प्रयोग गरिने आधुनिक औजार हो । यसमा कार्डवालाको हस्ताक्षरलगायत अन्य धेरै विवरण हुन्छ । यस्तो कार्डमार्फत् रकम निकाल्दा मेसिनले ग्राहकको धेरै विवरण प्रमाणीकरण गर्ने भएकाले सामान्य कार्डभन्दा यस्तो कार्ड बढी सुरक्षित मानिन्छ । सोही कारण राष्ट्र बैंकले ३ महिनाको समय दिएर ०७२ सालमै बैंक तथा वित्तीय संस्थालाई ‘चिप्स बेस्ड कार्ड’ प्रयोगमा ल्याउन निर्देशन दिएको थियो । तर, राष्ट्र बैंकको निर्देशन बेवास्ता गर्दै अधिकांश बैंक तथा वित्तीय संस्थाले पुरानै प्रविधिको ‘म्याग्नेटिक स्ट्रिप कार्ड’ प्रयोगमा ल्याइरहेको राष्ट्र बैंक स्रोतले जनायो ।

मौद्रिक नीति जारी भएको केही महिनापछि उक्त नीति कार्यान्वयनका लागि राष्ट्र बैंकले परिपत्र पनि जारी गरेको थियो । तर, कार्यान्वयन नगर्ने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले न त कारबाही गरेको छ, न त निर्देशन कार्यान्वयनका लागि पुनः दबाब दिएको छ । यसरी बैंक तथा वित्तीय संस्थाको अटेरीपन र राष्ट्र बैंकको फितलो नियमन व्यवस्थाले अधिकांश एटीएम असुरक्षित भएका छन् ।