काठमाडौं । भारतको ओडिशास्थित मलकानगिरी जिल्लामा प्रहरीसँगको भिडन्तका क्रममा २४ जना माओवादी कार्यकर्ताको मृत्यु भएको छ ।
घटनास्थलबाट भारतीय प्रहरीले ठूलो मात्रामा हतियार र गोलाबारुद बरामद गरेको दावी गरेको छ ।
विशाखापट्नमका वरिष्ठ प्रहरी अधीक्षक राहुल देव शर्माले आन्ध्र प्रदेश प्रहरीको विशेष दल र ओडिसा प्रहरीको संयुक्त कारबाहीमा १८ जना माओवादी मारिएको बताएका छन् ।
सोमबार बिहान ६ बजे मलकानगिरी जिल्लाको कियासिर बेगानगी जंगलमा मुठभेड भएको हो । मुठभेडका क्रममा चार वटा एके–४७ राइफल, दुई एसएलआर, दुई इन्सास राइफल बरामद गरिएको प्रहरीको दाबी छ ।
प्रहरीको आक्रमणबाट अन्य कैयौं माओवादी लडाकुहरु घाइते भएको र उनीहरु त्यहाँबाट भाग्न सफल भएको जनाइएको छ । आक्रमणका क्रममा एक वरिष्ठ प्रहरी अधिकारीकाे पनि मृत्यु भएकाे छ ।
ओडिशाको मलकानगिरी इलाका छत्तिसगढ र आन्ध्रप्रदेशसँग जोडिएको छ । सो क्षेत्रलाई भारतीय माओवादीको गढ क्षेत्र समेत मानिन्छ ।