नेता कार्यकर्ता गिरफ्तारीविरुद्ध क्रान्तिकारी माओवादीद्वारा आन्दोलन घोषणा

नेता कार्यकर्ता गिरफ्तारीविरुद्ध क्रान्तिकारी माओवादीद्वारा आन्दोलन घोषणा


maoistकाठमाडौं । नेता कार्यकर्ता गिरफ्तारीविरुद्ध नेकपा (क्रान्तिकारी माओवादी) ले आन्दोलनको घोषणा गरेको छ ।

क्रान्तिकारी माओवादी नेवाः समन्वय समितिले बुधबार पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा पत्रकार सम्मेलन गरी आज बिहीबार साँझसम्म पक्राउ परेका सबैलाई रिहा गर्न माग गर्दै अन्यता ९ गते उपत्यकाबन्द सहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

आन्दोलनका कार्यक्रम अन्तर्गत भोलि (शुक्रबार) १० देखि ११ गतेसम्म १ घन्टा चक्काजाम, ८ गते दिउँसो सिठ्ठी जुलुस निकाल्ने र ९ गते उपत्यका बन्द गर्ने रहेका छन् ।

बुधबार काठमाडौंको बागबजारस्थित अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय नजिकैबाट नेकपा .(क्रान्तिकारी) माओवादीका केन्द्रीय सदस्य शिवराम यादव, अखिल (क्रान्तिकारी) का सहसंयोजक राम नेपाली, केन्द्रीय सदस्य महेश श्रेष्ठ र दिपेन्द्र सुनुवारलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरुलाई स्थानीय स्टेशनरीमा १ हजारको सहयोग रसिद कटाएको अवस्थामा फेला पारेर पक्राउ गरिएको जनाएको छ । क्रान्तिकारी माओवादीले भने आफूहरुको राजनीतिक वैचारिक तथा आर्थिक अभियानसमेत संगै लिएर जनतामाझ गएको र त्यो कुनै चन्दा आतंक नभएको जनाएको छ ।

आफूहरुले कसैलाई दबाब दिएर रकम नउठाएको उल्लेख गर्दै सहमतिमा नै रसिद काटिएको उल्लेख गरे । क्रान्तिकारी माओवादी नेवाः राज्य समितिका इन्चार्ज दिनेश शर्मा सागरले अहिलेको सरकार दशैको मुखमा निकृष्ट ढंगले प्रस्तुत भएको उल्लेख गर्दै उनले आफूहरुले त्यसको प्रतिवाद गर्ने चेतावनी दिए ।

उनले कुनै पनि राजनीतिक दलले स्वेच्छिक रुपमा पनि रहकम संकलन गर्न नपाउने व्यवस्था गर्न सरकारलाई चुनौती समेत दिएका छन् । क्रान्तिकारी माओवादीले पक्राउ परेका नेता कार्यकर्तालाई साँझसम्म रिहाई गर्न माग गरेको छ ।