मुलुकमा विकसित पछिल्ला घटनाक्रमले नेपालका राजनीतिमा क्रियाशिल रहेका तत्व र शाक्तिका साथै तिनका पृष्ठपोषक अनुयायीका छद्म रुप र आकांक्षालाई घृणित रुपमा अनावृत्त गरेका छन् । माक्र्सवादका नाउँमा नेपाली जनतालाई भ्रम दिई साम्राज्यवाद र विस्तारवादकै हितमा काम गर्दै आएको नेकपा (एमाले) र त्यसका नेता केपी ओलीको सत्ता बहिर्गमनसँगै विभिन्न किसिमका टिकाटिप्पणी हुँदै आएका छन् । राष्ट्रवादी र राष्ट्रविरोधी कित्तामा गरिएका चर्चा त्यत्ति गम्भीर एवम् यथार्थपरक देखिएका छैनन् ।

केपी ओलीका आत्मपरक एवम् नितान्त वैयक्तिक सोंच र गतिविधिलाई माथि उठाउने र ओलीलाई महान् राजनेताको पगरी गुथाउने तत्व आफैमा मुलुक र मुलुकका दुस्मन हुन् भन्ने कुराको पुष्टि सन् १९५० देखिका असमान सन्धि सम्झौताका सम्बन्धमा कुनै कुरा नउठाएको मात्रै होइन, त्यसभन्दा कांग्रेस, एमाले सम्मिलित गठबन्धन सरकारद्वारा भारतसँग गरिएको पिडिए र पिटिए सम्झौताले तिनीहरुको राष्ट्रवादी अनुहार स्पष्ट चित्रित भएको छ । उक्त पछिल्ला सम्झौतामा तत्कालीन एमाओवादीको समर्थन र सहयोग रहेको कुरा समेत स्मरणीय छ । 

पछिल्लो सत्ता गठबन्धनमा देखिएको उत्ताउलोपना र सत्तास्वार्थको आवेगपनालाई ध्यान दिने हो भने नेकपा (माके)ले मुलुकमा वास्तविक परिवर्तनभन्दा नेतृत्वमा ध्यान केन्द्रित गरेको देखिन्छ । हिजोका क्रान्तिकारी उपलब्धि र विकासलाई विस्तारवादसामु समर्पण गरी माकेका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ प्रतिक्रियावादीहरुको समूहमा मिसिन र प्रतिक्रियावादी बन्नकै निम्ति गरिएका कार्यका रुपमा पछिल्ला गतिविधि भएको हो भन्ने वास्तविकताप्रति बौद्धिक र जागरुक मानिस सहमत छन् ।

प्रतिक्रियावादी सत्तालाई नै दरिलो र सबल बनाउने काममा सम्पूर्ण शक्ति लगाउने पुष्पकमल दाहालमा विगतमा गरिएका आदर्शमूलक र पराक्रमधर्मी मुक्तिकार्यमा अपराधबोध हुन थालेको प्रतीत हुन्छ । गठबन्धनबाट प्रधानमन्त्री भइसकेपछि उनले बोलेका कुराहरुमा दशवर्षे जनयुद्धका दौरान उदात्त आदर्शका निम्ति भएका बलिदान, त्याग र उत्सर्गप्रति पश्चाताप गरिएको छ । ‘मैले नै संरचना भत्काएको छु र त्यसको जिम्मेवारी मैले नै लिन्छु’ भन्ने जस्ता अभिव्यक्तिहरु ०४७ पछि तत्कालीन नेकपा (एमाले)ले झापा काण्डलगायतका वर्गसंघर्षका गतिविधिप्रति पश्चाताप गरेजस्तै प्रचण्डले गरेको देखिन्छ । सैद्धान्तिक, वैचारिक र राजनीतिक रुपमा स्खलित भएको नेकपा (माके) र यसको नेतृत्वले भारतीय विस्तारवाद र साम्राज्यवादसामु नतमस्तक मात्रै नभई आन्तरिक गोप्य सम्झौता समेत गरेको छ । नेपाली मुक्तिकामी जनताप्रति धोका दिई वर्गीय आत्मसमर्पण गर्ने तत्व घृणायोग्य छ । 

सर्वहारावर्गको महान् संघर्षलाई लत्याई देशीविदेशी प्रतिक्रियावादी तत्वसँगको सम्पर्क, सहकार्य र सम्मिलनबाट पुष्पकमल दाहाल आफैमा अविश्वासिलो र जनविरोधी बन्न पुगेका छन् । कांग्रेसको गठबन्धन र सहकार्यले उनलाई महत्वपूर्ण, सबल र विशिष्ट बनाउँदैन, बरु वर्गअन्तरविरोध लत्याई कम्युनिष्ट आदर्शबाट च्यूत दक्षिणपन्थी नवसंशोधनवादीकै रुपमा उभ्याउँछ । सत्ताको ऐस आरामका निम्ति वैचारिक स्खलनको सहारामा पुष्पकमल दाहाल नयाँ सिंढी उक्लिरहेका छन् । सत्ता कसको निम्ति, कसरी हाँसिल गरिएको छ भन्ने कुराले उनको चरित्र र सत्ताको प्रवृत्तिको निर्धारण हुन्छ भने कांग्रेसको सहयोगमा बनाइएको सरकारले नेपाली जनताका निम्ति केही पनि गर्न नसक्ने जगजाहेर छ । यसले गर्न चाहिं के सक्छ भने आउँदा दिनमा नेपाल राष्ट्रका बहुमूल्य सम्पदा सँधैका निम्ति भारतलाई बुझाई नेपाली जनता र राष्ट्रलाई लामो समयसम्म पराधीन बनाइराख्ने कुरामा सफल हुन सक्छ । 

सबैभन्दा दुःखद् चिन्ताको विषय भनेको नेपाल राष्ट्रमाथि विदेशीको प्रभुत्व कायम हुनु हो । यसलाई अझ सुदृढ गर्ने राजनीतिक शक्ति अहिले संसदवादी नै अगाडि उभिएका छन् । आफूलाई सर्वहारा र कम्युनिष्ट भन्ने नेकपा (माके)को यथास्थितिवादी चिन्तन र वर्गविचलनयुक्त दृष्टिकोण सबभन्दा खतरा हुन पुगेको छ । भारतलाई रिझाउने र यहाँका नदीनाला सुम्पने कामलाई नै माकेका दाहालले निरन्तरता दिने संकेत मिलेको छ । साँस्कृतिक र वैचारिक रुपमा पतन भएका दाहाल र तिनका पछुवाहरु आफैमा वर्गघाती एवम् राष्ट्रघाती बन्दै जानु दुःखद् कुरा हो ।

अहिले उनीहरुले दिएका अभिव्यक्ति र भनाइहरुले मुलुकभित्र फेरि पनि सम्झौताहीन द्वन्द्व÷संघर्षको माग गर्दछ । राष्ट्रियताको मूल्यलाई कमजोर पारी दलालीकरण, शोषण, उत्पीडन एवम् राष्ट्रिय आत्मसमर्पणवादलाई बढाउने र विस्तारवाद र साम्राज्यवादलाई सघाउने कुनै पनि कार्य क्रान्तिकारी एवम् संघर्षशिल नेपाली जनतालाई सह्य हुँदैन । नेपाली जनता सात दशकदेखि भीषण संघर्ष गर्दै आएका छन् र तिनका सपना, उद्देश्य र आकांक्षाप्रति गरिने कुनै पनि किसिमका आक्रमणलाई निस्तेज बनाउने साहस राख्दछन् ।

क्रान्तिलाई अगाडि बढाउने जनतान्त्रिकहरु र तिनलाई समर्थन गर्ने क्रान्तिकारी जनसमूहहरु विस्तारवाद र साम्राज्यवाद पोषित/परस्त तत्वका विरुद्धको संघर्ष अगाडि बढ्दै पनि गइरहेको छ । अहिले देखिएको सत्ता समीकरण कुनै नयाँ समीकरण नभई पुरानै यथास्थितिवादी समीकरणका रुपमा रहेको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाललाई लिई आन्दोलन हुनुपर्दछ र त्यसको नेतृत्व परिवर्तनकारी क्रान्तिकारी शक्तिले गर्नुपर्छ भन्ने आवाज पनि बढ्दै गएको छ । 

देशमा हिजोका पश्चगामी शक्तिहरु चल्बलाउन थालेका छन् र आफूलाई परिवर्तनकारी मान्ने कथित शक्तिहरु तिनीहरुसँगै साँठगाँठ गरी मुलुकमा भ्रम पनि छर्दै गएका छन् । जनताको वास्तविक सत्ता प्राप्त नहुँदासम्म यथास्थितिवादी र संसदवादी शक्तिहरुले जनतामाथि प्रत्यक्ष र अप्रत्यक्षरुपमा अन्याय, शोषण, उत्पीडन बढाउँछ भन्ने तथ्य सुविदित छ ।

राजनीतिक तिकडम र षड्यन्त्र गरी जनतामाथि शासन गरेपनि अन्ततः यिनको बर्बादी र अन्त्य सुनिश्चित छ । दाहाल र यिनको मण्डलीको बुर्जुवाकरण एवम् बसर्मीपनाले क्रान्तिकारी आन्दोलनलाई धक्का दिएता पनि क्रान्तिको वास्तविक उत्तराधिकारी नेतृत्व परिवर्तन र मुक्तिको संघर्षमा अगाडि उभिएको छ । 
नेपालमाथि भारतीय विस्तारवादको नियन्त्रणलाई च्यात्न र देशभित्रका अनेक नामधारी राजनीतिक पार्टीका जनद्वेषी एवम् राष्ट्रविरोधी सत्ताचिन्तनलाई चिरा चिरा पार्न राष्ट्रियता, जनतन्त्र र जनजीविकाप्रति प्रतिबद्ध शक्ति एकताबद्ध भई संघर्षमा लाग्नु जरुरी भइसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर