सन् २०१६ को पहिलो ८ महिनाभित्र विश्वका दुई शक्तिशाली र चर्चित नेताले आफ्नो ९० औं जन्मदिन अर्थात ९ दशकको यात्राको कोशेढुंगा पार गरेका छन् । ती दुई नेताको पृष्ठभूमी भने आकाश र जमिनको फरक छ । यसरी आफ्नो ९० औं जन्मोत्सव मनाउने नेता हुन्, बेलायती महारानी एलिजावेथ द्वितीय र क्युवाली कम्युनिष्ट नेता फिडेल क्यास्ट्रो ।
बेलायती महारानी एलिजावेथ आफ्नो पुख्र्यौली राजसिंहासनमा बसेकी हुन् भने क्युवाली नेता क्यास्ट्रो एक सामान्य उखु किसानको परिवारमा जन्मिएर अमेरिकाको नाकै मुनी विशाल साम्राज्यलाई चुनौती दिएर बसेका क्रान्तिकारी नेता हुन् ।
फिडेल क्यास्ट्रोको जन्म सन् १९२६ अगस्ट १३ तारिखमा क्युवाको बिरानमा एक सामान्य किसान परिवारमा भएको हो । उनका पुर्खा स्पेनबाट बसाई सरेर क्युवा पुगेका हुन् । उनले हाइटीका उखु किसानमाथि भएको शोषण देखेपछि उनमा सर्वहारावर्गका निम्ति संघर्षमा उत्रने चेतना पैदा भयो र उनी वैधानिक र अवैधानिक दुवै किसिमबाट संघर्षमा उत्रने निष्कर्षमा पुगे । यही क्रान्तिकारी चेतना भएका क्यास्ट्रोले क्युवालाई सन् १९५९ देखि सन् १९७६ सम्म प्रधानमन्त्रीको रुपमा र सन् १९७६ देखि २००८ सम्म राष्ट्रपतिको रुपमा नेतृत्व प्रदान गरे । राजनीतिक रुपमा माक्र्सवादी–लेनिनवादी तथा क्युवान राष्ट्रवादी उनले सन् १९६१ देखि २०११ सम्म पार्टीको नेतृत्व गरे । हाल उनी आफ्ना भाई राहुल क्यास्ट्रोलाई सत्ता हस्तान्तरण गरेर आराम गरिरहेका छन् । स्वास्थ्य समस्याका कारण उनले सत्ता भाईलाई सुम्पेका हुन् । उनको समय क्युवामा एक दलीय व्यवस्था थियो र सबै उद्योग र व्यवसाय राष्ट्रियकरण गरिएको थियो भने राज्यलाई समाजवादी व्यवस्थातर्फ उन्मुख गराइएको थियो ।
यता, बेलायती महारानी एलिजावेथ द्वितीय २१ अप्रिल सने १९२६ मा जन्मिएकी हुन् । उनी समकालीन विश्वमा शक्तिशाली राष्ट्रप्रमुख हुन् । उनले आफ्नो शिक्षा बर्मिङघम दरबारमा नै लिएकी हुन् ।
उनका बाबु जर्ज पाँचौं सन् १९३७ मा बेलायती राजा भएका थिए । दोस्रा विश्वयुद्धका समयमा उनले महत्वपूर्ण भूमिका निभाएकी थिइन् । उनले १९४७ नोभेम्बरमा प्रिन्स फिलिपसँग विवाह गरिन् । उनका पहिलो सन्तानको रुपमा सन् १९४८ मा युवराज चाल्र्सको जन्म भयो ।
फिडेल क्यास्ट्रो सन् १९४४ मा आफ्नो विद्यालयस्तरको पढाई पुरा गरे । उनी त्यसबेला अनुशासित विद्यार्थीको रुपमा पुरस्कृत समेत भए । त्यसपछि उनी कानुन अध्ययनका लागि हवाना विश्वविद्यालय भर्ना भए । सन् १९४० को दशकमा क्युवामा भइरहेको आक्रामक विद्यार्थी राजनीतिकै क्रममा उनी विद्यार्थी राजनीतिमा स्थापित हुन पुगे । सन् १९४७ मा एक भाषणका क्रममा उनले भने, ‘देशको अर्थतन्त्र केही सीमित विदेशीको हातमा छ, युवाहरुले कहिल्यै आत्मसमर्पण गर्न सक्दैनौं ।’ त्यसबेलासम्म उनी क्युवामा चर्चाको केन्द्रमा आइसकेका थिए । सन् १९५२ मा उनले आफ्ना भाई राहुललाई समेत साथमा लिएर क्रान्तिको सुरुवात गरे । यसै क्रममा उनीहरु जेल परे र करिब दुई वर्षपछि देश निकाला भएर मेक्सिकोमा निर्भासित जीवन विताउन थाले । यसै क्रममा उनीहरुको क्रान्तिकारी नेता चे ग्वेभारासँग भेट भयो । सन् १९५६ मा क्यास्ट्रो दाजुभाई र चे ग्वेभारा क्रान्तिलाई पुनः अगाडि बढाउनका लागि क्युवा फर्किए । अन्ततः सन् १९५९ मा उनीहरुले गुरिल्ला युद्धमार्फत राष्ट्रपति फुल्गेन्सियो बाटिस्टालाई हराएर क्रान्तिको झण्डा फहराउन सफल भए ।
यता, बेलायतमा पनि एलिजावेथ द्वितीया सन् १९५० को दशकमा सत्तामा आइन् । सन् १९५२ मा उनका बाबुको निधनपछि बेलायती राजकाजको जिम्मा उनमा आयो । २ जुन १९५३ मा उनको शुभराज्याभिषेक सम्पन्न भयो ।
फिडेल क्यास्ट्रो सन् १९५९ मा सत्तामा आएपनि उनको चुनौती कम भएन । एकातिर क्युवालाई अग्रगतिको बाटोमा हिँडाउनु र अर्कोतर्फ भर्खरै पराजित अमेरिका समर्थकले उनलाई सत्ताबाट हटाउने कोशिस गरिनै रहे । सन् १९६१ मा उनालाई सत्ताबाट हटाउने कोशिस अनुसार आक्रमण भयो । यसक्रममा हजारौंलाई कैद गरियो भने क्युवाको सम्बन्ध सोभियत युनियनसँग मजबुत बन्यो । सन् १९७६ मा उनी क्युवाको राष्ट्रपति बने भने अंगोला, इथियोपिया र यमनको कम्युनिष्ट आन्दोलनलाई समर्थन गरेर पश्चिमा शक्तिलाई दबाबमा राख्न सफल भए । तर, आर्थिक कठिनाईका कारण हजारौं क्युवालीहरुले देशभित्र शरणार्थी बन्नुपर्ने अवस्था आयो र दूतावासहरुमा शरणार्थीका लागि कोशिस गरे । त्यसबाट हताश भएका क्यास्ट्रोले शरणार्थी बन्न र देश छाड्न चाहनेहरुका लागि उत्तरी बन्दरगाह खोले ।
सन् १९९० को दशकमा सोभियत युनियनको विघटनपछि क्युवाको अर्थतन्त्र फेरि एक पटक अराजकतामा फस्यो । क्युवाले करिब ६ बिलियन डलर बराबरको सहायता गुमाउन पुग्यो । क्युबाका फ्याक्ट्री र कृषि अपांग (प्यारालाईसिस) जस्ता बन्न पुगे । सन् १९८८ मा उनले पोप जोन पाउल द्वितीयसँग भेट गरे । उनले क्युबाको सुधारको पक्षमा छलफल गरेका थिए । यो नै पोपले गरेको पहिलो क्युवा भ्रमण थियो ।
सन् १९६० को दशकमा बेलायती महारानी एलिजावेथ द्वितीयाले दुई जना प्रधानमन्त्रीलाई स्वागत गरिन् । उनकै कार्यकालमा बेलायतले पहिलो महिला प्रधानमन्त्रीको रुपमा मार्गरेट थ्याचरलाई पायो । सन् १९७९ मा उत्तरी आयरल्यान्डमा बढ्दो तनावकाबीच उनका काकाका छोरा लर्ड लुईस माउन्टबेटनको एक डुंगामा गराइएको बम बिस्फोटमा मृत्यु भयो । एलिजावेथ दम्पत्तिले सन् १९८६ मा चीन भ्रमण गरे ।त्यसअघि कुनैपनि बेलायती राजपरिवारले चीनको भ्रमण गरेका थिएनन् । उनले चीनको द ग्रेट वालको यात्रा गरिन् । सन् १९९७ मा युवराज चाल्र्सकी पन्ती राजकुमारी डायनाको कार दुर्घटनामा निधन भयो । युवराज चाल्र्सले सन् २००३ मा क्यामेलिया पार्करसँग दोस्रो विवाह गरे । महारानी एलिजावेथ उनीहरुलाई आर्शिवाद दिन उपस्थित भइन् तर नागरिक सम्मान समारोहमा गइनन् । हालैमात्र बेलालायतले ईयूबाट बहिर्गमनको निर्णयसँगै दोस्रो महिला प्रधानमन्त्री पाएको छ ।
सन् २००६ मा कमजोर स्वास्थ्य समस्याका कारण फिडेल क्यास्ट्रोले सत्ता भाईलाई हस्तान्तरण गरे । अहिले पनि बेलायती महारानी राजपाठमा नै छिन् । क्यास्ट्रो एउटा सामान्य घरमा आफ्नो जीवन बिताइरहेका छन् । उनका हरेक क्रियाकलापले विश्व राजनीतिमा नयाँ नयाँ तरंग ल्याइ नै रह्यो । गतवर्ष मात्रै अमेरिकी राष्ट्रपति बाराक ओबामाको भ्रमणलाई लिएर उनले आफूलाई अमेरिकाप्रति विश्वास नै नभएको बताए । उनको यो भनाईले विश्वकै सञ्चारमाध्यममा स्थान पायो । यसअर्थमा उनी सामान्य किसान परिवारमा जन्मिएर क्युवाका कम्युनिष्ट राजनीति स्थापित गरेर सामान्य नै जीवन बिताइरहेका छन् । तर, आज पनि उनको व्यक्तित्वसँग नतमस्तक हुनेहरुको कमी छैन ।
दुवै नेताको जीवनकालमा दुई फरक प्रकारका संघर्ष चलि नै रहे । महारानी एलिजाबेथ आफ्नो वर्गको निम्ति महान नै हुन् भने क्यास्ट्रो आम सर्वहारा वर्गका प्रतिनिधि र प्रेरणाका पात्र पनि । हालैमात्र दुवै नेताले आफ्नो जन्मको ९० औं वर्ष पुरा गरेका छन् । क्यास्ट्रोले सामान्य रुपमा आफ्नो जन्मदिन मनाए भने महारानी एलिजाबेथले भव्य रुपमा जन्मदिन मनाईन् । उनको जन्मदिन मनाउन हजारौं सर्वसाधारण भेला भए र रमाइलो गर्दै उत्सव मनाए ।
एउटा सामान्य किसान परिवारमा जन्मिएर सिंगो क्युवालीको सर्वमान्य नेता बन्ने जुन कष्ट क्यास्ट्रोले उठाए, यसैबाट उनी आम सर्वहारा वर्गको मन मस्तिष्कमा बस्न सफल भए । राष्ट्रपतिबाट बिदा भइसकेपछि पनि उनले हाल सामान्य घरमा जीवन बिताइरहेका छन् । यसले कुनै पनि क्रान्तिकारीको सपनामा भोग बिलास र ऐसआरामको स्थान हुन्न भन्ने पुष्टि गरेको छ । क्युवाली जनताको मुक्ति, शोषित र उत्पीडित किसानको पक्षमा जीवनभरको संघर्ष, प्रधानमन्त्री र राष्ट्रपति बनेपन सर्वहारा वर्गको आन्दोलनमा निरन्तरता र पश्चिमा साम्राज्यवादविरुद्ध निरन्तर लडाई अनी सत्ताबाहिर पुग्दा पनि सामान्य जीवनयापन नै क्यास्ट्रोको पहिचान बनेको छ ।