सम्पादकीय : बालेनको फासिवादी क्रूरताका विरुद्ध निर्णायक प्रतिरोधको खाँचो !

सम्पादकीय : बालेनको फासिवादी क्रूरताका विरुद्ध निर्णायक प्रतिरोधको खाँचो !

सत्ताको चरित्र वर्गीय हुन्छ र सत्ताले आफ्नो वर्गचरित्र प्रदर्शन गर्दछ भन्ने यथार्थलाई वर्तमान बालेन्द्र साहको सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथिको फासिवादी क्रूरताले प्रष्ट पारेको छ । जसले विद्यमान कानुन, संविधान, ऐन नियम, विधि, पद्धति सबै मिचेर गरिब सुकुम्बासीहरुको बस्तीमा डोजर लगाएर उठिबास लगाइदिएको छ । यहाँसम्म कि मुलुकको स्वाधीनता र सार्वभौमिकतामाथि बाह्य (अन्तर्राष्ट्रिय हस्तक्षेप) हुँदा प्रयोग गरिने सैन्य शक्तिलाई सुकुम्बासीका विरुद्ध परिचालित गरेको छ, त्यो पनि कानुनविपरीत । सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई बालेन्द्र सरकारले सबैभन्दा ठूलो दुश्मन देख्यो र उनीहरुका विरुद्ध राज्यका पाँचवटा सुरक्षा शक्तिलाई एकैसाथ प्रयोग ग¥यो– नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नगर प्रहरी । इजरायलेले प्यालेस्टाइनको गाजा क्षेत्रमा मिसाइल प्रहार गरेर आम नरसंहार मच्चाएजस्तै सुकुमबासी बस्तीमा बालेन्द्र सरकारले मानवताविरुद्धको क्रूरता प्रदर्शन ग¥यो । र, एकसाथ नागरिक सर्वोच्चता र संवैधानिक सर्वोच्चतामाथि धावा बोल्यो । कथित लोकप्रियताको जामा पहिरिएर अनेक प्रपञ्चमार्फत् जनमतको अपरहण गरी गरिब निमुखामाथि फासिवादी बुर्कुसी मारिरहेको छ । र, बेलगाम मैमत्त साढेझै गरिब जनताले बर्षौको मेहनत र परिश्रमले बनाएको ‘प्राण प्रिय’ घरमा डोजर आतंक मच्चाउँदै हिँडेको छ । मानवीय संवेदनाशून्य फासिवादी शासकलाई सत्ताबाट सडकमा ल्याएर सजाय दिन अब आम नागरिकसँग सडक संघर्षको विकल्प छैन । अब सडकबाट सशक्त र निर्णायक प्रहार एकमात्र बालेन्द्रको फासिवादलाई लगाम लगाउने एकमात्र विकल्प रहेको छ ।

बालेन्द्र नेतृत्वको सरकार र सत्ता नेपालका दलाल तथा नोकरशाही पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने सरकार हो । यसले आफ्नो सत्ता स्वार्थका लागि विदेशी शक्तिको दलाली गर्दछ । र, उनीहरुकै स्वार्थ रक्षाका निम्ति आफूलाई समर्पित गर्दछ । अनि उनीहरुकै इशारामा काम गर्ने गर्दछ । अहिले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जबर्जस्ती उठिबास गर्दा कसलाई फाइदा पुग्छ ? सहरका सम्भ्रान्त वर्ग, हुनेखाने, धनीमानी, पुँजीपति वर्गलाई । यो वर्गको प्रत्यक्ष संलग्नता र सहकार्य वैदेशिक शक्तिहरुसँग छ । उनीहरुकै इशारामा र उनीहरुलाई नै खुशी पार्नका निम्ति अनि एडिबीको ऋणमा कमिसन खान खोज्ने तत्वहरुको उक्साहटमा बालेन्द्रले सहरको सौन्दर्यकरणको नाममा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि उठिबास लगाएका हुन् । जोखिमयुक्त बस्तीहरुलाई उचित विकल्प दिएर स्थानान्तरण गर्न जरुरी थियो भने जोखिममुक्त बस्तीहरुलाई वर्गीकरणका आधारमा लगत संकलन गरी संविधान र ऐन कानुनका आधारमा व्यवस्थापन गर्न सकिने उपाय, विधि र पद्धतिहरु हुँदाहुँदै राज्यले हार्ड पावर प्रयोग गरेर जसरी गरिब सुकुम्बासीहरुलाई उठिबास लगायो, त्यसैगरी बालेन्द्र सरकारको पनि उठिबास लाग्ने निश्चित छ । सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले नै यो सरकारलाई उठिबास लगाउने छन् ।
जति धेरै दमन हुन्छ, त्यति नै धेरै प्रतिरोध पनि हुन्छ । यो वर्ग समाजको नियम हो । सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथिको क्रूर दमनबाट छोटो समयमै मै बालेन्द्र सरकारको फासिवादी चरित्र उदाङ्गो बनेको छ । यसले साम्राज्यवाद र दलाल पुँजीवादी तत्वहरुको इशारामा मूलतः कम्युनिस्टहरुको जनमत गरिब, भूमिहीन, किसान, मजदुर, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमा रहेको हुन्छ । यो वर्ग नै कम्युनिस्टहरुको आधारभूत शक्तिको स्रोत हो भन्ने पहिचान गरेर नै सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि डोजर लगार उठिबास लगाइएको हो । तर, बिडम्बना, कम्युनिस्ट पार्टीहरुले भने यसको महत्वबोध गर्न नसकेको हो कि भन्ने गम्भीर प्रश्नहरु पनि खडा भएका छन् । सार्वजनिक रुपमा प्रश्नहरु पनि उठ्ने गरेका छन् कि सुकुम्बासी तथा अव्यवस्थितमाथि यति ठूलो दमन हुँदा पनि किन नेपालका कम्युनिस्टहरुले व्यवस्थित रुपमा आन्दोलन संगठित गर्न सकेनन् ? घटनाक्रमले स्पष्ट पारिसकेको छ कि साम्राज्यवादीहरु र उनीहरुको कठ्पुलती बालेन्द्र सरकार नेपालमा कम्युनिस्ट आन्दोलनका जराहरु काट्न लागिपरेको छ– चाहे विद्यार्थी संगठनमाथिको प्रतिबन्ध होस् वा सुुकुम्बासीहरुको उठिबास । तसर्थ, सच्चा क्रान्तिकारी कम्युनिस्टहरु तथा जनपक्षीय शक्तिहरु र सच्चा देशभक्त तथा लोकतान्त्रिक शक्तिहरु एकताबद्ध भएर संघर्षलाई वृहत र निर्णायक प्रतिरोधको रुपमा अगाडि बढाउन जरुरी छ ।