संयुक्त राष्ट्रिय सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सङ्घर्ष समितिद्वारा सङ्घर्षको घोषणा

संयुक्त राष्ट्रिय सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सङ्घर्ष समितिद्वारा सङ्घर्षको घोषणा

देशमा विद्यमान सुकुम्वासी सङ्घ, सङ्गठन तथा संस्थाहरुद्वारा आज शुक्रबार वुद्धनगरमा एक संयुक्त वैठक बसी संयुक्त राष्ट्रिय सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सङ्घर्ष समिति निर्माण गरी सङ्घर्षका कार्यक्रमहरु घोषणा गरेको छ । नेपाल सरकार सहरी विकास मन्त्रालय अन्तर्गत अधिकारसम्पन्न बागमती सभ्याता एकीकृत विकास समितिले नदी वरपरका वस्तीहरुलाई उठाउन १५ दिने अल्मिेटम जारी गरेलगत्तै यो सङ्घर्ष समिति गठन गरी सङघर्षको घोषणा गरिएको हो ।

संयुक्त बसाइका पहलकर्ता सन्ध्या प्रधानका अनुसार घोषित सङ्घर्षका कार्यक्रमअनुसार यही १६ श्रावण गते ११.० बजे वागमती सभ्यता एकीकृत विकास समिति, सहरी विकास तथा गृह मन्त्रालमा ज्ञापन पत्र बुझाउने बताइएको छ ।
बुझाइने ज्ञापन पत्रमा देशभर रहेका सुकुम्वासीप्रति सरकारको धारणा निकै गलत रहेको कुरा उल्लेख गर्दै सुकुम्वासीको परिभाषा निकै पुरानो भइसकेकाले त्यसलाई समयसापेक्ष परिमार्जन गर्न सम्बन्धित निकायलाई सचेत गराउने पनि बताइएको छ । नदी किनारामा बसेकाहरुलाई नदीसंग सम्बन्धित संस्थाहरुमा जाऊ, जङगलका नजिक बसेकाहरुलाई वन मन्त्रालयमा जाऊ, पर्तिजग्गामा बसेकाहरुलाई भूमिसुधारमा जाऊ भन्दै प्रशासनले दिने गरेको यातना र हैरानीका विरुद्ध सुकुम्वासी समस्या समाधानको नयां र वैज्ञानिक अवधारणाको विकास गरी त्यसको उचित समाधानका लागि सरकार र यस मातहतका निकायहरुलाई बोध गराउने बारेमा सोचिएको पनि बताइएको छ । यसका लागि छलफल, बहस र सचेतनाका कार्यक्रमहरु अघि बढाउने सोच रहेको पनि बताइएको छ ।

अधिकारसम्पन्न बागमती सभ्याता एकीकृत विकास समितिले विष्णुमति नदीलाई प्रदुषणमुक्त गर्नभन्दै ती वस्तीहरु सूचना जारी गरिएका मितिले १५ दिनभित्र खाली गर्न दबाब दिएको छ । जारी सूचनामा नदी किनारमा वस्ती बसाई गाईगोठ बनाई नदी प्रदुषित गरिरहेको आरोप लगाइएको छ ।

स्वच्छ र ताजा वातावरण निर्माणका लागि वातावरण सफा बनाई सौदर्य अभिवृद्धि गर्ने सरकारको लक्ष्य रहेको पनि उक्त सूचनामा जनाइएको छ । साथै, सार्वजनिक जग्गा अतिक्रमण गरेकाले १५ दिनभित्र संरचना भत्काइसक्नु पर्ने कुरा पनि बताइएको छ । अन्यथा सम्वन्धित व्यक्ति वा पक्षले टहरा नहटाएमा सरकारले टहरा हटाउंदा लागेको खर्च उनीहरुले नै तिर्नुपर्ने बताइएको छ ।

यी कुराहरुलाई मध्यनजर गरेर अखिल नेपाल क्रान्तिकारी सुकुम्वासी संघका अध्यक्ष सन्ध्या प्रधान, नेपाल सुकुम्वासी पार्टीका हुकुम लामा, अखिल नेपाल सुकुम्वासी संघका दीपक राई, नेपाल भूमिहीन सुकुम्वासी संगठनका नारायण परिश्रमी, अखिल नेपाल क्रान्तिकारी सुकुम्वासी संघका टङ्क प्रसाद देवकोटा, नेपाल सुकुम्वासी समाजका चन्द्र लामा, नेपाल बसोवासका राजु तामाङ, एनप्याब्सनका रोशन देवान, नेपाल सुकुम्वासी संघका राजकुमार पाण्डेसहितको संयुक्त बसाइपछि निर्माण भएको संयुक्त राष्ट्रिय सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सङ्घर्ष समितिले ज्ञापन पत्र बुझाइपछि थप चरणवद्ध संघर्षका कार्यक्रम अघि बढाउने बताएको छ ।