१. सर्लाहीको ढुंग्रेखोला गाविस धरहरामा सुकुम्वासी वस्तीको मकै फडानीपछि संघर्षमा उत्रनुभएको थियो । यो सङघर्ष कहां पुग्यो ?
गत असार २१ गते सर्लाहीको ढुंग्रेखोला गाविस धरहरामा सुकुम्वासीको वस्तीभित्र पसेर प्रहरीले यसपालाको मकै बाली निकै बदमासी तरिकाले फडानी गर्यो । यो प्रहरी प्रशासनको अमानवीय व्यवहारप्रति सबैले खेद पनि व्यक्त गरे । त्यसपछि हामी प्रशासनका सुकुम्वासी विरोधी गतिविधिको विरुद्धमा जाइलाग्दै आएका छौं । यही पृष्ठभूमिमा आज संयुक्त राष्ट्रिय सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सङ्घर्ष समिति निर्माण गरेका छौं ।
२. संयुक्त राष्ट्रिय सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सङ्घर्ष समितिबारे केही बताइ दिनोस् न ।
यो एक नयां र उर्जाशील सङ्घर्ष समिति हो । सुकुम्वासीसंग सम्बन्धित मुद्दाहरुलाई यसले संयुक्त र सामूहिक नेतृत्व प्रदान गर्दै छ । यसमा अखिल नेपाल क्रान्तिकारी सुकुम्वासी संघ, नेपाल सुकुम्वासी पार्टी, अखिल नेपाल सुकुम्वासी संघ, नेपाल भूमिहीन सुकुम्वासी संगठन, अखिल नेपाल क्रान्तिकारी सुकुम्वासी संघ, नेपाल सुकुम्वासी समाज, नेपाल बसोवास, एनप्याब्सन, नेपाल सुकुम्वासी संघ गरी हाल सुकुम्वासीसंग सम्वन्धित दशवटा संघ÷संस्थाहरु यसमा आवद्ध छौं । आस्थाका हिसाबले यसमा माओवादीदेखि एमाले र कांग्रेससम्मका सबै सुकुम्वासी संगठनहरु एक ठाउंमा अटाएका छौ ।
३. काठमाडौंमा सहरी विकास तथा वागमती समितिले नदी वरपरका वस्ती खाली गर्न १५ दिने सूचना जारी गरेको छ । कसरी अघि बढ्ने सोच्नुभएको छ ?
काठमाडौं भ्यालीमा सरकारले यसका स्थानीय निकायहरु मार्फत् सुकुम्वासीहरुलाई तर्साउन थालेको छ । मनोहरा नदीको आसपास बसेका, विष्णुमती र वागमतीको नदी किनारमा बसेकाहरुलाई सहरी विकास अन्तर्गत अधिकारसम्पन्न बागमती सभ्याता एकीकृत विकास समितिले सूचना टांस गरेका मितिले १५ दिनभित्र ती वस्ती उठाउन भनेको छ । सरकारको सुकुम्बासीप्रतिको हेराइ र सोच निकै पुरानो छ । सुकुम्बासीको नयां परिभाषा जरुरी छ ।
यो सोचबाट निर्देशित र परिचालित सरकारका यस्ताखाले गतिविधिलाई हामीहरुले निकै गम्भीरताका साथ लिएका छौं पनि । त्यसैले हामी अधिकारसम्पन्न बागमती सभ्याता एकीकृत विकास समितिले विना वैकल्पिक व्यवस्था नै सुकुम्वासी हटाउन चालिरहेको कदमलाई विफल पारिदिने योजनामा रहेका छौं । देशैभरका ४८ लाख सुकुम्वासीले हाम्रो यो संघर्षलाई साथ दिने छन् ।
४. के हो तपाईहरुले उठाएको सुकुम्वासीको नयां परिभाषा ?
सुकुम्वासीको परिभाषा निकै पुरानो भइसकेको छ । यसले राणाकालीन सोचमा पञ्चायतकालीन परिमार्जन मात्र बोकेको छ । यसले वर्तमानमा समयसापेक्ष सुकुम्वासीको परिभाषा दिन सक्तैन । त्यसैले यसको परिमार्जनको आवश्यकता छ ।
पुरानो परिभाषाअनुसार नै कर्मचारीहरुले नदी किनारामा बसेकाहरुलाई नदीसंग सम्बन्धित संस्थाहरुमा जाऊ भन्ने गरेका छन् । जङगलका नजिक बसेकाहरुलाई वन मन्त्रालयमा जाऊ भनी त्यहांबाट उठाउने प्रयास गरिन्छ । पर्तिजग्गामा बसेकाहरुलाई भूमिसुधारमा जाऊ भन्दै प्रशासनले यातना दिने गरेको दृष्टान्त हाम्रा माझमा छ ।
यसका साथै बाजेका पालादेखि भूमि नभएको, कहिंकतै पनि जागीर नखाएको, आर्थिक स्रोत केही नभएको जस्ता हास्यास्पद र बेतुकका कुरा सुकुम्बासी मापनका आधार हुन सक्छन् ? मानिस सामाजिक र चेतनशील प्राणी हो । यो सजीव प्राणी पनि हो । यसले सांझबिहान खाना खान्छ, कपडा लगाउंछ पनि । तीन पुस्तासम्म केही नभएपछि के सुकुम्बासी बांचिरहन्छ ? के अजीवको प्राणी हो, यो सुकुम्वासी भनेको ?
त्यसैले सुकुम्वासीको नयां परिभाषा जरुरी छ ।