“राज्य आतंकले विचारलाई निस्तेज गर्न सक्दैन”   

“राज्य आतंकले विचारलाई निस्तेज गर्न सक्दैन”   

"बलियो साम्राज्यवाद विरोधी मोर्चा बनाएर सबैभन्दा पहिला वैदेशिक हस्तक्षेपको विरुद्ध संघर्ष केन्द्रित"

 – रवि पाण्डेय (वैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल)

१) तपाईंलाई निर्वाचन बहिष्कारका क्रममा दुई पटक प्रहरीले गिरफ्तार गर्‍यो। ती गिरफ्तारीका सन्दर्भ र स्थानबारे स्पष्ट पारिदिनुस् न?

राज्यले मलाई विचार प्रवाह गरेकै आधारमा दुई पटक नियन्त्रणमा लियो। पहिलो पटक २०८२ फागुन १ गते, ३१औँ जनयुद्ध दिवसका अवसरमा जिल्ला सदरमुकाम परासीमा कालो ब्यानर प्रदर्शन गर्दा गिरफ्तार गरियो। त्यतिबेला “हाम्रो नाकै अगाडि किन कालो ब्यानर टाँगेको?” भन्दै प्रहरीले दर्जनौँ केरकार गर्‍यो। तर, अग्रज कमरेड प्रेम रिमालको रोहवरमा करिब ३ घण्टाको कडा दबाब र सोधपुछ पछि म रिहा भएँ। दोस्रो पटकको गिरफ्तारी त अत्यन्तै निकृष्ट र आततायी थियो। निर्वाचनको मुखैमा फागुन १८ गते साँझ, म आफ्नै पसलमा जीवनसाथी, साना सन्तान र दर्जनौँ ग्राहकहरूका बीचमा हुँदा बिना पक्राउ पुर्जी र बिना खानतलासी पुर्जी, कुनै अपराधीलाई झैँ ‘अपहरण शैली’ मा मलाई त्यहाँबाट उठाइयो। यो १८ गते साँझदेखि २२ गते दिउँसो १२ बजेसम्म करिब ९० घण्टाभन्दा बढी लामो गैरकानुनी हिरासत थियो। कठपुतली सरकारको प्रधानमन्त्रीको ठाडो निर्देशनमा गिरफ्तार गरिएको हुँदा मेरो हिरासत  बसाइँ गैर न्यायिक र निकै पेचिलो बन्यो ।

२) तपाईँलाई कुन ठाउँको हिरासतमा राखिएको थियो? हिरासतमा रहँदा तपाईँप्रतिको व्यवहार प्रहरी प्रशासनको के कस्तो थियो?

मलाई जिल्ला प्रहरी कार्यालय, नवलपरासी (पश्चिम) को हिरासतमा राखिएको थियो। सुरुमा प्रहरीले सामान्य थुनुवा सरह व्यवहार गर्न खोजेको थियो। तर, हाम्रो गिरफ्तारी पूर्णतः गैरकानुनी र मानवअधिकारको उल्लङ्घन भएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भयो। साथै, नेपाल बार एशोसिएशन, नवलपरासी र जिल्ला पार्टीको आफ्नै सशक्त पहलका कारण प्रहरी प्रशासन अन्ततः मलाई ‘राजनीतिक बन्दी’ को रूपमा व्यवहार गर्न र मर्यादित वातावरण दिन बाध्य भयो। यो हाम्रो वैचारिक र कानुनी संघर्षको ठूलो विजय थियो।

३) हिरासत अवधिभरि तपाईँको दिनचर्या कसरी बितेको थियो?

हिरासतको त्यो ९० घण्टाको समयलाई मैले अध्ययन र वैचारिक निखारको अवसरका रूपमा उपयोग गरेँ। मेरो दिनचर्या टेलिभिजनमा समाचारहरू विश्लेषण गर्ने र चलचित्रहरू हेर्ने मात्र रहेन, बरु गहन अध्ययनमा पनि केन्द्रित भयो। मैले महान दार्शनिक फ्रेडरिक एङ्गेल्सद्वारा लिखित पुस्तकहरू, विशेष गरी क्रान्ति र समाज विकासको चरण सम्बन्धी कृतिहरू र विभिन्न साहित्यका पुस्तकहरू अध्ययन गरेर समय बिताएँ। त्यहाँ आपराधिक पृष्ठभूमिका बन्दीहरू नगन्य जस्तै थिए, जसले गर्दा मलाई अध्ययन र छलफलका लागि शान्त वातावरण मिल्यो।

४) हिरासतमा राखिएका अन्य विभिन्न मुद्दामा आएका मानिसहरूसँग पनि भलाकुसारी गर्नुभयो होला। आखिर हिरासत समाजकै एउटा प्रतिबिम्ब हुन्छ, त्यसबारे पनि सुनाइदिनुस् न?

-चर्को दबाब पछि हिरासतमा प्रहरीले मलाई छुट्टै बस्नका लागि आग्रह पनि गरेको  थियो ।  मलाई ती अन्य युवा माझ बस्न सहज लाग्यो। त्यहाँ निर्वाचनका क्रममा उम्मेदवार कुटेर आएका र साम्राज्यवादद्वारा प्रायोजित निर्वाचनका उम्मेदवारका पर्चा तथा ब्यानरहरू जलाएको अभियोगमा थुनामा परेका थुप्रै युवाहरू थिए। ती युवाहरूलाई सही मार्गनिर्देशन गर्न र उनीहरूको विद्रोहलाई वैचारिक धार दिन मलाई उचित लाग्यो। हिरासतमा रहँदा मलाई केही शारीरिक समस्या आउँदा समेत ती युवाहरूले देखाएको सद्भाव र मेरो स्वास्थ्यप्रति राखेको ख्याल साँच्चै सम्झनलायक छ। उनीहरूको आत्मीयताले मलाई यो व्यवस्थाका विरुद्ध लड्न थप ऊर्जा प्रदान गर्‍यो।

५) फागुन २१ गतेको निर्वाचन सम्पन्न भई त्यसको परिणाम पनि आइसकेको छ। यो निर्वाचनलाई संक्षिप्तमा मूल्याङ्कन गर्नुपर्दा के भन्नुहुन्छ?

– यो निर्वाचन केवल ‘दलाल संसदीय व्यवस्थाको नौटंकी’ हो। मेरो विश्लेषणमा हाम्रो जिल्लामा ४९ प्रतिशतभन्दा बढी मत खसेको छैन र त्यसमा पनि करिब ६ प्रतिशत मत बदर भएको छ। अघिल्लो निर्वाचनको तुलनामा यो निकै कम सहभागिता हो। तर विडम्बना के छ भने, साम्राज्यवादले विभिन्न अल्गोरिदम प्रयोग गरेर जनतामा ठूलो उत्साह छाएको र धेरै मत खसेको झुटो दाबी गरिरहेको छ। हामीलाई ९० घण्टाभन्दा बढी थुनेर राज्यले जुन प्रहसन रच्यो, त्यसले नवलपरासीका आधारभूत जनताका समस्या हल गर्न सक्दैन। जबसम्म यो दलाल व्यवस्था फेरिँदैन, तबसम्म जनताको अवस्था फेरिन्छ भन्नु केवल हास्यास्पद कुरा मात्र हो।

६) क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल लगायतका क्रान्तिकारी पार्टीहरूले अबको दिनमा के कस्ता कार्यक्रमहरू बनाएर जानुपर्छ भन्ने तपाईंको सुझाव छ?

-दलाल व्यवस्था विरुद्ध लागेका क्रान्तिकारीहरू ध्रुवीकृत हुन अब ढिलाइ गर्नुहुँदैन। संयुक्त संघर्ष समितिमा आबद्ध क्रान्तिकारी पार्टीहरूबीच तत्काल एकता प्रक्रिया अगाडि बढाउनुपर्छ। नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै देशलाई वैज्ञानिक समाजवादतर्फ लैजाने जुझारु र प्रतिरोधी कार्यक्रमहरू ल्याउनुपर्छ। राष्ट्रिय स्वाधीनताको रक्षाका लागि एउटा बलियो साम्राज्यवाद विरोधी मोर्चा बनाएर सबैभन्दा पहिला वैदेशिक हस्तक्षेपको विरुद्ध संघर्ष केन्द्रित गर्नुपर्छ। अबको हाम्रो बाटो सम्झौताहीन जनसंघर्षको बाटो हो त्यसैले पार्टीको आन्तरिक शक्तिलाई दृढ र सुदृढ गर्नुपर्छ ।