सुर्खेतको प्रहरी हिरासतमा सामान्य मानव अधिकारको पनि पालना गरेको पाइएन

सुर्खेतको प्रहरी हिरासतमा सामान्य मानव अधिकारको पनि पालना गरेको पाइएन

० फागुन २१ को निर्वाचन भन्दा पहिले सुर्खेतमा तपाईँहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो । कहिले कहाँबाट गिरफ्तार गरिएको थियो ?
–फागुन २१ को निर्वाचनभन्दा पहिले सुर्खेतमा हामीलाई प्रहरीले दुईपटक गिरफ्तार गरेको थियो। माघ २२ गतेका दिन निर्वाचन बहिष्कार गरौं भन्ने पर्चा वितरण गर्दै गएर जिल्ला प्रशासन कार्यालयको प्रतीक्षालयमा ज्ञापनपत्र दिन जाने भनेर बसेको बेला हामी पाँचजनालाई गिरफ्तारी गरिएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको म रत्न ओली र कर्ण बिसी, नेकपा (बहुमत)का राज पौडेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका डेभिड परियार र वैज्ञानिक समाजवादीकै श्याम परियार गरी हामी पाँच जनालाई गिरफ्तार गरेको थियो। अर्को दिन २३ गते हामीलाई रिहा गरेको थियो ।

दोस्रोपटक, फागुन १३ गते हामी ९ जनालाई प्रहरीले गिरफ्तार गरेको थियो। जसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सुर्खेत जिल्लाका इन्चार्ज नारायण न्यौपाने , म सोही पार्टीका जिल्ला सेक्रेटरी रतन ओली ,कामरेड नारायण न्यौपानेका छोरा ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य कर्ण बिसी,नेकपा (बहुमत) सुर्खेत जिल्ला सचिव राज पौडेल, नेकपा (बहुमत)का पूर्ण तिवारी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका डेविड परियार र श्याम कुँवर, मानबहादुर थापा, सहित ९ जनालाई विभिन्न ठाउँबाट गिरफ्तार गरेको थियो । नारायणजीको छोरालाई अर्को दिन फागुन १४ गते छाडिदियो भने हामी सबैलाई २५ गतेसम्म राख्यो। मलाई छिन्चुबाट गिरफ्तार गरेको थियो, कर्ण बिसीजीलाई वीरेन्द्रनगरको एरिचोकबाट गिरफ्तार गरेको थियो । नारायणजीलाई बाटामा हिँड्दा हिँड्दै बिमारी आमालाई लिएर हिँडेको बेला गिरफ्तार गरेको थियो । सुर्खेतका विभिन्न ठाउँबाट गिरफ्तार गरिएको थियो।

० तपाईँहरुलाई के भनेर उनीहरुले गिरफ्तार गरेका थिए ?
–माघ २२ गते हामी सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाको बजारमा पर्चा वितरण गर्दै गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन जान भनी जिल्ला प्रशासन कार्यालयको अगाडि प्रतिक्षालयमा पुगेका थियौ । हामीलाई त्यहीबाट गिरफ्तार गरेर लगिएको थियो। दोस्रोपटक फागुन १३ गते गिरफ्तार गर्दाखेरि पनि हामीलाई दुवैपटक नै निर्वाचन बहिष्कार गर्नु असंवैधानिक हो, गैरकानुनी हो, निर्वाचनको विरोध गर्न मिल्दैन भनेर हामीलाई गिरफ्तार गरिएको थियो । वीरेन्द्र नगरपालिकाका नगर प्रहरी इन्सपेक्टर राजन भट्टराईले नारायण न्यौपानेजी र उहाँको छोरालाई निर्घात कुटपिट नै गरेछ। लछार पछार ,हातपात नै गरेको पछि हामीलाई उहाँले बताउनुभयो । अरु ठाउँमा अन्य खालका प्रहरी, अन्य खालका सुरक्षाकर्मीहरू परिचालित भएको थिए भने सुर्खेतमा हामीलाई गिरफ्तार गर्दा हाम्रा विरुद्धमा बढी नै चाहिँ आक्रोशित भएर लाग्ने काम नगर प्रहरी गर्यो । जनपथ प्रहरी नलागिकन किन नगर प्रहरीले हामीलाई गिरफ्तार गर्ने र कुटपिटमा उत्रिने काम गर्यो? त्यो भने हामीले अहिलेसम्म पनि बुझ्न सकेका छैनौ ।

० जिल्ला प्रहरी कार्यालयमा पुर्‍याएपछि  के भने ?
–हामीप्रति राम्रो व्यवहार भएन। एउटा मानवीय व्यवहार पनि भएन । दुर्व्यवहार गरियो । मैले अगाडि नै भनिसके नारायण न्यौपानेजी र उहाँको छोरालाई त कुटपिट गर्ने काम नै भयो। आगामी बहिस्कारको योजना के छ ? बम विस्फोटन गराउने होला ? यस्ता प्रकारले हामीमाथि प्रश्न सोध्ने काम गरिएको थियो।

० सुर्खेत जिल्ला प्रहरी कार्यालयको हिरासतमा अरु के कस्ता मान्छेहरुसँग तपाईंको भेट भयो ?
–सुर्खेत जिल्ला प्रहरी कार्यालयको हिरासतमा विभिन्न मुद्दामा समातिएका व्यक्तिहरू रहेका थिए।प्रहरी र हिरासत प्रशासनले थुनुवाहरूलाई त्यस्तै तालिम दिएको हुन्छ होला सायद – अगाडि थुनुवामा परेकाहरूले पछाडि आउनेहरूलाई अत्यन्तै हेला गर्ने, पछि आउनेलाई हप्कीधप्की गर्ने , दादागिरी गर्ने , हिरासत भित्र त्यस प्रकारका गतिविधि हामीले देख्यौं।विभिन्न खालका कैदीबन्दीहरूसँग हाम्रा कुराकानी बात व्यहोरा भए।पूर्ण तिवारी भन्ने हामीसँगै हिरासतमा बसेका आन्दोलनकारी साथी हुनुहुन्थ्यो। उहाँ अपाङ्ग पनि हुनुहुन्छ।यसमा परेका थुनुवाहरूले बिचरा ती अपाङ्गपूर्ण तिवारी साथीलाई राति घुरेस सुत्दा घुरेको भनेर गालामा गाला गालामा हानेहन्। पछि हामीले हिरासत प्रशासनसँग कुरा गरेर उहाँलाई त्यो ठाउँबाट छुटाएर हामीसँगै राख्ने र सुताउने गर्यौ। त्यस्तो पनि हामीले भोग्नुपर्यो।

० खानपिनको व्यवस्था के थियो?
– हामीले हिरासतकै खाना खायौँ दाल,भात, तरकारी । बाहिरबाट वा घरबाट आफन्तले ल्याइदिएका खानाहरू भएपनि उनीहरूले हामीलाई दिँदैन थिए। हामीले त्यहीको खाना खानुपर्थ्यो । हामीलाई के लाग्यो भने त्यहाँ पनि बाहिरका खाना लिएर खाने हो भने त्यहाँको खाना व्यापार नहुने भएकाले हामीलाई त्यहीको खाना खुानुपर्ने बाध्यतामा पारिएको जस्तो हामीले महसुस गर्यौं । सुर्खेत भनेपछि कर्णाली अञ्चलकै सदरमुकाम हो। तर त्यहाँको हिरासतको स्थिति एकदमै दुखद छ । फोहोर छ। दिशा गर्ने ठाउँमा ट्वाइलेट बुझिएर ठूलो समस्या त्यहाँ हुन्छ। दुर्गन्ध फैलिन्छ त्यस्तो स्थितिमा हामीले एसपीलाई, त्यहाँको प्रशासनलाई भन्यौं । कमसेकम एउटा मानवीय हिसाबलेख्याल गरिएको छैन । आजको युगमा मानवअधिकारको दृष्टिकोणबाट पनि थुनुवा कैदीबन्दीहरूलाई त्यसरी अस्वस्थ ठाउँमा राख्न पाइँदैन। तर सुर्खेतमा त्यस्तै भइरहेको छ। र हामीलाई पनि त्यस्तै दुर्गन्धित ठाउँमा राखियो। २०५९ सालमा सेनाबाट गिरफ्तार भएर एक महिनासम्म यातना भोगेको थिएँ र यसपटकको निर्वाचनमा दुईपटक हिरासत जानुपर्यो।

० फागुन २१ गतेको निर्वाचन त सकियो यसलाई तपाईँले कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
– यो निर्वाचन जनताका निम्ति गरिएको निर्वाचन होइन । देशका लागि गरिएको निर्वाचन पनि होइन । यो निर्वाचन अमेरिकी साम्राज्यवादको इशारामा उनीहरुकै «स्वार्थको निम्ति गरिएको निर्वाचन हो । यो निर्वाचनबाट जनताहरू परिवर्तनका पक्षमा रहेछन् भन्ने बुझियो। पुराना राजनीतिक पार्टीहरूलाई बदल्नुपर्छ यिनीहरु ठिक भएनन् भनेर मत अभिव्यक्त गर्नु पनि जनता परिवर्तनकै पक्षमा हुनु हो। यद्यपि जसलाई जनताले मतदान गरे ती ठीक हुुन् भन्ने होइन ।

० क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायतका क्रान्तिकारी पार्टीहरूलाई अबका दिनमा अगाडि कसरी बढ्नुपर्छ भन्ने बारेमा तपाईंको सल्लाह के छ?
–यसपटकको निर्वाचन बहिष्कार आन्दोलनमा हामी गिरफ्तार भएका कारणले जति जनताको बीचमा जानुपर्ने थियो हामी जनताको बीचमा जान पाएनौ र पार्टी संगठनलाई अगाडि बढाउनको निम्ति घर बसेर हुँदैन जनताको बीचमा जानुपर्छ भन्ने मलाई लाग्दछ । मसिनोसँग समीक्षा गरेर जनताका समस्याहरुलाई उठाएर आन्दोलनलाई अगाडि बढाउँदै पार्टीलाई जनताको बीचमा लैजाने गरिकन कार्यक्रम बनाउनुपर्छ भन्ने लाग्दछ ।

साभार हाँक टुडे अनलाइनबाट