काठमाडौं । क्रान्तिकारी माओवादीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालीमाथि भारतीय शासक वर्गले गर्दै आएको चौतर्फी अतिक्रमण विरुद्ध देशभक्त, स्वाभिमान र बहादुर नेपाली एक भएर जाइलाग्नु न्यायपूर्ण भएको ठहर गरेको छ । अन्तर्राष्ट्रिय कानुन विपरीत दुई देश वीचको दशगजाभित्रको सीमा मिचेर कुनौलीको खांडोखोलामा एकपक्षीय रुपमा बांधिरहेको बांधले नेपालको वस्ती डुबानमा परेपछि स्थानीय नेपाली अतिक्रमणकारी विरुद्ध जाइ लागेका थिए ।
शुक्रवार १३ गते सप्तरी जिल्लाको तिलाठी र भारतको विहार राज्यको सुपौल जिल्ला अन्तर्गत कुनौली ग्राम पञ्चायतको बीचको दशगजा सीमामा नेपाली जनताका तर्फबाट बारम्बार बांध नबांध्न अनुरोध गर्दागर्दै भारतीय पक्षबाट जबर्जस्ती नेपाली भूभाग मिचेर बाँध बनाउँदै गरेकाले त्यसका विरुद्ध तिलाठीका देशभक्त, स्वाभिमानी र बहादुर नेपाली जनताहरू प्रतिरोधमा उत्रिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ– ‘बांधका कारण नेपालको ठूलो भूभाग डुवानमा पर्ने गरेको घटना नयाँ होइन । भारतले नेपालको सीमा अतिक्रमण र नेपालमाथि प्रत्यक्ष हस्तक्षेपका अनेकौं घटना घट्दै आएको कुरा सर्वविदितै छ । तर, यही श्रावण १३ गते सप्तरी जिल्लाको तिलाठी र भारतको विहार राज्यको सुपौल जिल्ला अन्तर्गत कुनौली ग्राम पञ्चायतको बीचको दशगजा सीमामा नेपाली जनताका तर्फबाट बारम्बार बाँध नबाँध्न अनुरोध गर्दागर्दै भारतीय पक्षबाट जबर्जस्ती नेपाली भूभाग मिचेर बाँध बनाउँदै गरेकाले त्यसका विरुद्ध तिलाठीका देशभक्त, स्वाभिमान र बहादुर नेपाली जनताहरू उत्रिए ।‘
पहिले देखि नै योजनावद्ध तयारीमा रहेका भारतीय अतिक्रमणकारीले नेपालीमाथि ढुङ्गामूढा गरेर एक दर्जन बढि नेपाली जनता घाइते बनाएको खबरले संपूर्ण नेपाली जनतालाई आक्रोशित तुल्याएको छ भन्दै विज्ञप्तिमा भनिएको छ– ‘आफ्नो राष्ट्र र राष्ट्रियताका लागि ठूला–ठूला बलिदान गर्ने परम्परालाई कायम राख्दै सङ्घर्षमा भाग लिनुभएका सबै देशभक्त नेपाली दिदीबहिनी र दाजुभाइहरूप्रति सम्मानपूर्ण अभिवादन गर्दै उहांहरूको न्यायपूर्ण सङ्घर्षमा हाम्रो पार्टी पूर्ण ऐक्यबद्धता जाहेर गर्दछ ।’
वर्तमान सरकार र लोकतान्त्रिक गणतन्त्रका मसिहाहरु यसबारेमा केही बोलेका छैनन् । यस्तो किंकर्तव्यविमूढतालाई इंगित गर्दै विज्ञप्तिमा थप भनिएको छ– ‘यसप्रकारको खुला अतिक्रमण हुंदा पनि चुप लागेर बस्ने यो सरकारको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । सप्तरीको तिलाठी लगायत देशका अन्य सबै स्थानमा भारतद्वारा जबर्जस्ती बनाइरहेको बांध निर्माण प्रक्रिया अविलम्ब रोक्नका लागि विना ढिलाई कुटनीतिक पहल अघि बढाउन हामी यो सरकारसंग जोडदार माग गर्दछौं ।’
विज्ञप्तिको अन्त्यमा भनिएको छ– ‘न्यायपूर्ण सङ्घर्षमा संलग्न हुंदा आक्रमणमा परी घाइते हुनु भएका सबैको निःशुल्क उपचार गर्न र क्षतिपूर्तिको समेत व्यवस्था गर्न पनि पार्टी जोडदार माग गर्दछ ।’