barack_obamaएजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो बिरासत धान्न हिलारी क्लिन्टनलाई मतदान गर्न मतदाताहरूलाई आग्रह गरेका छन् ।

फिलाडेल्फियामा डेमोक्रेटिक पार्टीको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले हिलारी राष्ट्रपतिका लागि सबैभन्दा योग्य उम्मेदवार भएको बताए ।

सम्बोधनका क्रममा उनले कुनै पनि महिला र पुरुष अमेरिकाको राष्ट्रपति पदका लागि हिलारीभन्दा योग्य नरहेको पनि दाबी गरे ।

आफ्नो सम्पूर्ण भाषण नै हिलारीको समर्थन र ट्रम्पको विरोधमा खर्चिएका ओबामाले बाँकी समय आफ्नो आठवर्षे कार्यकालमा गरेका कामको व्याख्यामा बिताएका थिए । उनले अमेरिकाको भविष्यलाई लिएर अझै आशावादी बनेको बताए ।

ओबामाले आफूले आफ्नो कार्यकालमा ५ करोड नयाँ रोजगारी सिर्जना गरेको, स्वच्छ ऊर्जाको उत्पादन दुईगुणा बनाएको, स्वास्थ्य क्षेत्रमा सुधार तथा परमाणु हतियारको उत्पादन बन्द गरेर नयाँ अध्यायको सुरुवात गरेको उल्लेख गरे । यस्तै, उनले छिमेकी देश क्युबासँग सम्बन्ध सुधारको प्रक्रिया आरम्भ गरेको बताए ।

उनले भने, ‘यस क्रममा मैले संसारलाई ओसामा बिन लादेनको खतरा अन्त्य गरे । तर, हामीले अझै पनि हरेक अमेरिकी नागरिकका लागि धेरै गर्न बाँकी नै छ ।’ ओबामाको सम्बोधनका क्रममा सम्मेलन स्थलमा उपस्थित जनताले ‘एस वी क्यान’को नारा लगाएका थिए । उनले हरेक रंग र धर्मका मानिसका लागि अमेरिका अझै मजबुत बनाउनुपर्नेमा जोड दिए ।

उनले हिलारी क्लिन्टनलाई कठिनभन्दा कठिन समयमा पनि पछि नहटी काम गर्ने र असहज परिस्थितिमा पनि निर्णय लिन सक्ने क्षमता भएको व्यक्तिका रूपमा चित्रण गरे । उनले भने, ‘हिलारीको पुरै दुनियाँमा सम्मान छ । उनको सम्मान केवल सरकारले मात्रै होइन, जनताले समेत गर्छन, जसका लागि उनी काम गर्छिन् ।’

उनले हिलारी एक आमा र देशभक्त मात्रै नभएर लडाकू महिला पनि भएको भन्दै अमेरिकाको नयाँ कमान्डर–इन–चिफ बन्न तयार रहेको बताएका हुन् ।

सन् २००८ को राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिकतर्फको प्राइमरीमा हिलारी ओबामाकी कडा प्रतिद्वन्द्वी थिइन् । उनले ओबामाको पहिलो कार्यकालमा सन् २००९ देखि सन् २०१२ सम्म विदेशमन्त्रीका रूपमा काम गरेकी थिइन् ।

आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनका लागि हिलारी औपचारिक रूपमा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको प्रत्यासीका रूपमा रहेकी छन् । उनी अमेरिकामा ठूलो राजनीतिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने पहिलो महिला हुन् ।

उनले आगामी नोभेम्बर महिनामा अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्नेछिन् ।

अमेरिकी प्रथम महिला, विदेशमन्त्री र न्युयोर्ककी सिनेटरसमेत रहिसकेकी हिलारीले डेमोक्रेटिक पार्टीका ४ हजार ७ सय ६४ डेलिगेट्सको बहुमत हासिल गर्दै राष्ट्रपतिकी उम्मेदवार बनेकी हुन् । उनी अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनकी पत्नी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर