एजेन्सी । अफ्गानिस्तानको राजधानी काबुलमा भएको दुईवटा ठूला आत्मघाती बम बिष्फोटनमा परी ८० जनको मृत्यु भएको छ भने २३० जना भन्दा बढि घाइते भएका छन् । शनिवार भएको उक्त आक्रमणको दोषी तालिवानलाई देखाए पनि केही समयपछि सो घटनाको जिम्मेवारी आईएस्ले लिएको छ । यो घटना अफगानिस्तानका अल्पसंख्यक हजाराहरुले शान्तिपूर्वक काबुलमा प्रदर्शन गरिरहेको बेलामा भएको थियो ।
आईएस्ले उक्त घटनाको जिम्मेवारी लिंदै पहिलेदेखि नै आफूहरुले अल्पसंख्यक हजाराहरुलाई निशाना सांधेको कुरा खुलाएको छ । आफूलाई अत्यधिक विष्फोटक पदार्थले सुसज्जित गरेका आईएस्का दुई जना युवाहरुले अल्पसंख्यकको प्रदर्शनमा सो बिष्फोट गराका थिए । अफगान अधिकारीहरुले यसरी किल्लाबन्दी गरिएको राजधानी शहरमा बिष्फोट गराई यति धेरैको ज्यान लिनु राज्यका लागि निकै चुनौति भएको उल्लेख गरेका छन् ।
उक्त प्रदर्शनका आयोजक जवाद नाजीले प्रदर्शन भइरहेका आफ्नो छेवैमा बेला दुईवटा बिष्फोटनको आवाज सुनिएको र वास्तविकता थाह पाएपछि आफू गहिरो शोकमा रहेको बताएका छन् । अन्तर्राष्ट्रिय एजेन्सीहरुबाट प्राप्त समाचार अनुसार यो वर्षमा काबुलमा भएगरेका घटनाहरुमध्ये यो निकै घातक र ठूलो रहेको त्यहांका मानिसहरुले बताएका छन् ।
उता तालिवानले भने यो घटनाको घोर निन्दा एवम् भत्र्सना गरेको छ ।
जानकारी प्राप्त भएअनुसार अल्पसंख्यक हजाराहरुले बामियानको ठूलो क्षेत्रमा रहेका आफ्ना अन्धकार वस्तीहरुमा हजारौं पावर भएका विजुलीका लाइनहरु नजिकैको पहाडी घांटीबाट लगिन लागेको र सो विजुली आफ्ना वस्तीहरुमा जडान गरिदिन यो प्रदर्शनको आयोजना गरेका थिए । बामियान स्थित हजाराका यी वस्तीहरु अहिले सम्म पनि विजुली बत्तीबाट बञ्चित छन् ।
विजुलीबाट बञ्चित यो प्रान्तको बीचौंबीच भागबाट तुर्केमिनिस्थान, उज्बेकिस्तान, ताजिकिस्तान र अफ्गानिस्तान तथा पाकिस्तानलाई जोड्ने गरी ५०० किलो भोल्टको विजुली लाइन विस्तार गरिंदै छ । यो नै त्यहांको बढि संभाव्य र छोटो दूरी भएको पहाडी मार्ग ठानिन्छ । हजाराका नेताहरुले सरकार आफू अल्पसंख्यकहरुप्रति पूर्वाग्रही भएको र बिछ्याउंदै गरेको लाइनमुनि आफूहरुलाई अन्धकारमा नै जीउन बाध्यपार्ने योजनामा रहेको बताएका छन् । यसै कारणले हजारा अल्पसंख्यकहरुले यति ठूलो प्रदर्शनको आयोजना गरेका थिए ।
हजारा अल्पसंख्यकको यो पनि दावा रहेको छ कि निकै छोटो दूरीबाट यो लाइन बिछ्याउंदै गर्दा सरकारलाई निकै धेरै फाइदा भएको छ । यो फइदा सरकारले जनतासंग शेयर गरोस् ।
हजारा अल्पसंख्यकहरु मंगोलिया तथा मध्यएशियाबाट त्यहां पुगेका हुन् । तिनीहरु शिया स्लामहरु हुन् । पाकिस्तान र अफ्गानिस्तानमा बाक्लो बस्ती रहेका सुन्नीका आंखामा तिनीहरु भिन्न मानिन्छन् । तथापि अफ्गानिस्तानमा भने हजाराहरु तेस्रो ठूलो आदिवासी समूहमा पर्दछन् । यो अल्प संख्यकले अफ्गानिस्तानको १५ देखि २० प्रतिशत जनसंख्याको भार ओगटेको छ । यो अल्पसंख्यक जाति पाकिस्तानको क्वेटा शहरमा पनि बाक्लो गरी बसोबास गरेको छ ।
भनिन्छ हजारा अल्पसंख्यकलाई तालिबान र अल कायदाले पनि विगत १९९० को दशक देखि निशाना बनाउंदै आएका छन् ।
अल्पसंख्यक हजारा स्थानीय कथनअनुसार जेङ्गिज खानका सन्तान तथा सिपाहीहरुका सन्तानहरु हुन् । जेङ्गिज खानले १३औं शताब्दीमा अफगानिस्तानमाथि हमला गरी कब्जा जमाएर शासन गरेका थिए ।