(नेपालको कम्युनिस्ट आन्दोलनमा ६ दशकभन्दा बढी समयदेखि माक्र्सवादी विचार, दर्शन, राजनीति, संगठन, संघर्षलगायत समग्र क्षेत्रबाट महत्वपूर्ण योगदान गर्दै आउनु भएका र तीसको दशकदेखि क्रान्तिकारी धारको नेतृत्व गर्दै आउनुभएका एक अविचल आदर्श शीखर व्यक्तित्व तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका निवर्तमान महासचिव मोहन वैद्य किरण अहिले स्वास्थ्य समस्याका कारण घरमै आराम गरिरहनु भएको छ । माक्र्सवादी दार्शनिक, सौन्दर्य चिन्तक, विचारक तथा दशवर्षे महान जनयुद्धका पहलकर्ता र नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका वैचारिक अभिभावकको रुपमा भूमिका निर्वाह गरिरहनुभएका कमरेड किरणसँग जेनजी विद्रोहपछि उत्पन्न राजनीतिक परिस्थिति वरिपरि केन्द्रित रहेर संक्षिप्त रुपमा गरिएको महत्वपूर्ण कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ । –सम्पादक)
कमरेड, अहिले हजुरको स्वास्थ्य अवस्था कस्तो छ ?
–सामान्यतः ठिकै छ । केही सुधार भएको जस्तै छ ।
कमरेडको आजकल दिनचर्या कसरी बितिरहेको छ ?
–विहान सामान्य शारीरिक व्यायाम गरिन्छ करिब १०–११ बजेसम्म । दिउसोको समयमा केही बेर सुस्ताउने, कहिलेकाहिँ लेख्ने र पढ्ने गरेको छु । बेलुकीपख पनि सामान्यतः व्यायाम गर्छु । यहीनै छ ।
भदौ २३–२४ को जेनजी विद्रोहपछि देशमा एउटा नयाँ राजनीतिक परिस्थिति उत्पन्न भएको छ । जेनजी विद्रोह र त्यसयता विकसित राजनीतिक घटनाक्रमलाई चाहिँ यहाँले कसरी हेरिरहनु भएको छ ?
–यो प्रश्न आजको सैद्धान्तिक, राजनीतिक दृष्टिले हेर्नुपर्दा निकै महत्वपूर्ण प्रश्न हो । भदौं २३ र २४ को जेनजी परिघटनालाई लिएर धेरै अन्यौलता पैदा भइरहेको छ । संसदवादी शक्तिहरु असफल भइरहेका थिए । आखिरमा ओली सरकार पनि ढल्यो । त्यो महत्वपूर्ण विषय होइन । अहिलेको घटनाक्रम हेर्दा महत्वपूर्ण पक्ष भनेको देशको सार्वभौमिकता र राष्ट्रिय स्वाधीनताको स्थिति हो । यो निकै नै गम्भिर देखिएको छ ।
यहाँले भन्न खोज्नुभएको यो जेनजी परिघटनामा भूराजनीतिक स्वार्थले प्रमुख रुपमा भूमिका खेल्यो भन्ने हो ?
–सिंहदरबार, संसदभवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन जलाउँदा यहाँको सुरक्षा फोर्सले के हेरेर बसेको थियो ? यहाँको सेनाले के हेरेको थियो ? स्थिति कस्तो बन्यो भने निर्वाचित प्रधानमन्त्री, राष्ट्रपतिलाई, संसदवादी र प्रतिपक्ष दलका नेताहरुलाई सेनाले गिरफ्तार गर्छ, भन्नलाई सुरक्षाका निम्ति सुरक्षित स्थानमा राखिएको भनिन्छ । तर त्यो गिरफ्तारी नै हो ।
संसदवादी दलहरुले संसद सबभन्दा ठूलो हो । देशको सार्वभौमिकतालाई संविधानमा महत्व दिएर राखेका छौं भनेर भन्दै आएका थिए । त्यो कहाँ गयो ? देश कसको हातमा छ ? प्रधानमन्त्रीको हातमा त रहेन । राष्ट्रपतिको हातमा पनि रहेन । सामान्यतः हेर्दाखेरि अब सेनाको हातमा गयो देश । सेनालाई कसले चलाउँछ ? संविधानले, राष्ट्रपतिले अर्थात् संसदीय दलको नेता प्रधानमन्त्रीले ? सेनालाई यिनले चलाउने हो कि अरु कसैले चलाउने हो ? आखिरमा प्रश्न सेनातिर जान्छ ।
यो समग्र घटना प्रक्रियामा संसदीय व्यवस्थाको असफलता त छँदै थियो, संसदीय दलका नेताहरुको असफलता पनि छँदै थियो । के बुझ्न जरुरी छ भने जेनजी परिघटनापछि राष्ट्रिय स्वाधीनतामाथि ठूलो खतरा पैदा भएको छ ।
यहाँले सेनाको भूमिकामाथि गम्भीर प्रश्न उठाउनु भयो । सेनाले त राज्य शुन्यतामा पुगेकोले समन्वय मात्रै गरिदिएको हो । देश राजनीतिक पार्टीले यही संविधान अनुसार चलाउने हो । चुनावबाट आएका राजनीतिक पार्टीहरुले देशको नेतृत्व गर्ने अभिव्यक्ति त दिइरहेको छ नि ?
–भन्नलाई त्यसो भनिएको होला, तर त्यसो किन गर्नुप¥यो ? यत्रो उद्युम र विध्वंश किन मच्चाउनु प¥यो ? त्यसको परिणाम के हो ? संसद विघटन गरेर, संसदको ठाउँमा त्यही संसद आउने, ल्याउने ? यसको त कुनै अर्थ भएन नि त ? ओलीलाई मात्रै हटाउनु थियो भने यत्रो विध्वंश किन मच्चाउनु पथ्र्यो ? अर्कोकुरा सार्वभौमसत्ता कसको हातमा छ ? भन्ने गम्भीर प्रश्न खडा भयो । जवाफ दिनुपर्छ सबैले, सेनाले पनि दिनुपर्छ– कसले चलायो सेनालाई ? सिंहदरबार सुरक्षा गर्न बसेको सेनाले किन सिंहदरबारको सुरक्षा गर्न सकेन ? त्यत्रो २४ गतेको परिघटनामा सेना कहाँ गएको थियो ? उ त मन्त्रिहरु, प्रधानमन्त्री र अन्य संसदवादी दलका नेताहरुलाई गिरफ्तार गर्नेमा व्यस्त देखियो । मिठो शब्दमा सुरक्षाका लागि सुरक्षित स्थानमा राखिएको भनियो तर त्यो योजनाबद्ध गिरफ्तारी थियो ।
सेनाको प्रश्न जेनजीसँग पनि जोडिन्छ । जेनजीहरुले सुशासन, भ्रष्टाचारको विरोध, अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाएर आन्दोलन सुरु गरेका थिए, त्यो स्वभाविक नै थियो । त्यो आन्दोलनमाथि गोली हानियो, युवा विध्यार्थीहरुको हत्या गरियो, त्यो एकदम गलत भएको थियो । तर भदौ २४ को घटना जेनजीको हातमा रह्यो कि रहेन ? यत्रो घटनामा सेनाको भूमिका के हो ? प्रश्न त उठ्यो नि । सेनालाई कसले चलायो ? यो प्रश्नको जवाफ चाहिन्छ । प्रत्यक्ष रुपमा नदेखिएपनि यसलाई बाह्य चलखेल हो भनेका छन् । मुख फोरेर भनेका छैनन् तर सेनालाई बाह्य शक्तिले चलायो भन्ने गम्भीर आशंका छ । साम्राज्यवादी विस्तारवादी शक्तिहरुले नै यो परिघटना घटाएका हुन् भन्ने देखिन्छ ।

भनेपछि जेनजी परिघटना एउटा प्रायोजित थियो । नियोजित रुपमा यो घटना घटाइयो भन्ने हो यहाँको विश्लेषण ?
–सुरु स्वतःस्फूर्त रुपमा भयो । तर जेनजी आन्दोलनको नेता को हो भन्दा त कोही पनि छैनन् । नेता र संगठन विना २४ गते कसरी देशव्यापी रुपमा बनिबनाउ घटना घट्यो ? यो विश्लेषण गर्न जरुरी छ । प्रायःले बाह्य घुसपैठ भन्छन् । घुसपैठ पनि हो । चलखेल पनि हो । अहिलेको स्थितिमा हेर्दा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको पहलमा भइरहेको देखिन्छ । किन भयो त भन्दा उनीहरु आफ्नो स्वार्थ अनुसार जान चाहन्छन् । पुराना दलालहरुभन्दा नयाँ दलालहरु स्थापित गर्न खोजिरहेका छन् । विकल्प के हो त ? नयाँ विकल्प भनेर अहिले जे आइरहेको छ, त्यो विचित्रको छ । नयाँ विकल्प भनेको त राजनीतिक विकल्प पो हुन्छ त । खोइ राजनीति ? त्यही संसद ठिक छ, त्यही संविधान ठिक छ, यही सबै ठिक छ तर पुराना पार्टी र नेताहरु ठिक भएनन् भन्छन् । त्यस्तो पनि विश्लेषण हुन्छ कहिँ ? पार्टीका आफ्ना मान्यता हुन्छन् । संसदीय व्यवस्था सुरु भएदेखिका मान्यता छन् । बेलायतदेखि नेपालमा अहिलेसम्म त्यही संसदीय व्यवस्था छ । सबै स्थितिका लागि त त्यही व्यवस्था जिम्मेवार छ नि त । नेपालमा केही हुन नसकेको त त्यही संसदीय व्यवस्थाले गर्दा हो नि त । यो सच्चाइलाई चाहिँ ढाकछोप गर्ने, अनि बेकारका नयाँ कुरा गर्ने ? यो भनेको उत्तरआधुनिकतावादी दृष्टिकोण हो । यो कसरी भने यसले इतिहासको अवमूल्यन गर्छ । यसको अर्थ पुराना दल र नेता ठिक छन् भन्ने होइन । पुराना संसदवादी दलहरु र नेताहरु मात्रै असफल भए भन्ने होइन, सत्ता र व्यवस्था पनि असफल भएको हो । तथ्य यही हो । यो बोध किन छैन जेनजीहरुमा ?
व्यक्तिवाद र लोकप्रियतावाद नेपालको राजनीतिमा हावी भइरहेको देखिन्छ, यसलाई कसरी हेर्नु भएको छ ?
–कुनै पनि राजनीतिक पार्टीहरु एकाएक जन्मिएका होइनन् । सबैको इतिहास छ । त्यो इतिहासलाई ध्वस्त पार्ने, भर्खर टुसाएका (केही राम्रा पनि होलान हुनलाई) तर उनीहरु अमूक अमूक पार्टीका अमूक अमूक नेताका विरुद्ध आक्रमण केन्द्रित गर्छन् । अमूक अमूक पार्टीका अमूक अमूक नेताको एकहोरो गुणगान गाउँछन् । यो राजनीति होइन । राजनीति पनि उही, सिद्धान्त पनि उही, व्यवस्था पनि उही, पुराना नेताहरु ओली, प्रचण्ड, देउवाको नयाँ नेताहरु, युवाहरु नेतृत्वमा आउनुपर्छ भन्छन् । सारमा वैदेशिक प्रतिक्रियावादीहरुले एउटा प्रयोग (ट्रायल) पनि गर्न खोजेका हुन् ।
अरब बसन्तको कुरा खूब ल्याउने गरिन्छ । आखिरमा त्यो अमेरिकी साम्राज्यवादको पक्षमा चलाइएको एउटा आन्दोलन हो । राष्ट्रिय स्वाधीनता, सार्वभौमिकताको रक्षा गर्ने प्रश्नमा त्यो आन्दोलन केन्द्रित छैन । तानाशाह भए भनेर सरकारका विरुद्ध आन्दोलन गराउने अनि अर्को नयाँ तानाशाहलाई ल्याएर राख्ने काम गराइरहेको छ । अहिले भेनेजुएलाका मादुरोलाई टपक्क टिपेर अमेरिका पु¥यायो । विचित्र छ । घटना त्यस्तै घट्न थाले । समग्र विश्वको परिस्थिति हेर्दा यो दुनियाँ नयाँ उपनिवेशवादबाट फेरि उपनिवेशवादतिर फर्किन थालेको जस्तो देखिन्छ । डोनाल्ड ट्रम्पका जेजस्ता योजनाहरु छन्, साम्राज्यवादले त प्रत्यक्ष युद्ध लड्न थाल्यो । नवउपनिवेशवादले त अप्रत्यक्ष रुपमा आफ्ना दलालहरुमार्फत् आफ्ना स्वार्थहरु हासिल गर्ने गर्दथ्यो । यी सबै चिजहरुसँग नेपालको जेनजी परिघटना पनि जोडिएको छ । समग्रमा भन्दा देशको स्वाधीनताको रक्षाको प्रश्नमा थप खतरा पैदा भइरहेको छ ।

अहिलेको फागुन २१ को चुनावबाट यो समग्र स्थितिको निकास दिन्छ भन्नेमा यहाँ विश्वस्त हुनुहुन्न ?
–चुनाव भएर के हुन्छ र ? त्यही प्रतिनिधिसभा (संसद)को पुनस्र्थापना हुने त हो । त्यसबाट मुलुकमा विद्यमान यावत समस्याको समाधान त हुन सक्दैन । अर्को महत्वपूर्ण कुरा के हो भने प्रत्यक्ष देखिदैन तर वास्तवमा राष्ट्रिय स्वाधीनतासँग जोडिएको प्रश्न पनि हो । तसर्थ, यो चुनावको कुनै अर्थ र औचित्य छैन । हाम्रो पार्टीले बहिस्कार गर्ने निर्णय गरेको छ । त्यो सही नै छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायत ६ वटा कम्युनिस्ट पार्टीले संयुक्त रुपमा फागुन २१ को चुनाव बहिस्कार गर्ने निर्णय गरेका छन् । संघर्षका कार्यक्रमहरु पनि सार्वजनिक भएका छन् । देशको स्वाधीनताको स्थिति गम्भिर बनिरहेको अवस्थामा ६ वटा कम्युनिस्ट पार्टीसहित छरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरु र देशभक्तहरुलाई के सुझाब दिन चाहनुहुन्छ ?
– पहिलो, ६ वटा कम्युनिस्टहरु मिलेर निर्वाचन बहिस्कारका कार्यक्रम अगाडि बढाएका छन् । यो राम्रो कुरा हो । सबैले नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादतिर जानको निम्ति मिहिनेत गर्नुपर्छ– विकल्पको निम्ति । अरु व्यक्तिका विकल्प खोज्छन् । हामीले सत्ता र व्यवस्थाको विकल्प दिनु पर्दछ । यो राजनीतिक विकल्प पेश गरेपछि मान्छेहरु पनि आउँछन् ।
दोस्रो, सम्पूर्ण देशभक्तहरु एकढिक्का हुन जरुरी छ– जोसुकै होस् । नेपालको राष्ट्रिय स्वाधीनताको निम्ति सबै विचार र राजनीति बोक्ने पार्टी वा व्यक्तिहरु एकढिक्का हुन जरुरी हुन्छ । नयाँ ढंगले राष्ट्रिय स्वाधीनताको लडाइँ लड्न जरुरी छ । देशको निम्ति धेरै ठूलो खतरा आइरहेको छ ।
तेस्रो, हामीले नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादको निम्ति आफ्ना तयारीहरुलाई अगाडि बढाउने, मित्रहरुसँग गोलबन्द हुँदै जाने (अझ फराकिलो बनाउने), देशको राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन्छन् भने जोसुकै उभियोस् न, एकताबद्ध भएर जानुपर्दछ । यही नै हो अहिलेको मूल कुरा ।
जेनजी युवाहरुलाई चाहिँ के भन्न चाहनुहुन्छ ? के सन्देश दिन चाहनुहुन्छ ?
–जेनजी (नयाँ पुस्ता)ले सबैको प्रतिनिधित्व गर्र्दैनन् । अहिले जसले पनि जेनजीको प्रशंसा गरिरहेका छन् । हैरान छ । गुण र दोषका आधारमा हो मुल्यांकन गर्ने । रुपान्तरण हुनुपर्छ, परिवर्तन हुनुपर्छ, राम्रा मान्छे आउनुपर्छ, भनेर आन्दोलन गर्ने कुरा ठिकै छ । तर जेनजीवालाहरुले सिद्धान्त, विचारमा केन्द्रित भएर सोच्नुपर्छ । सिद्धान्त, विचार र राजनीतिलाई छोडेर खालि पुराना दलका पुराना नेता काम नलाग्ने भए भनेर मात्र त हुँदैन नि त । त्यसो गर्ने हो भने त त्यो राजनीति नै होइन । नयाँ के हो त ? परिवर्तन भन्छन् । विचारै छैन के को परिवर्तन ? त्यसकारण जेनजी युवाहरुले साँच्चै नेपाल र नेपाली समाजकोको रुपान्तरण गर्न चाहेको हो भने नयाँ विचारधारा, नयाँ विश्वदृष्टिकोण, नयाँ सिद्धान्त, नयाँ राजनीतिक कार्यक्रम, कार्यदिशा, नीति, नयाँ संगठन लिएर आउनुप¥यो ।






























