काठमाडौं । २०८२ चैत्र ७ गते ( २०२६ मार्च २१ ) मा चार दलित संगठनहरूले एक अन्तरक्रियाको आयोजना गरी ६१ औ जातिभेद उन्मुलन दिवस मनाएकाछन् । “वर्तमान राजनीतिक परिस्थितिमा दलित मुक्तिको सवाल” विषयक अन्तरक्रिया कार्यक्रम गरी दलित संगठनहरुले जातिभेद उन्मुलन दिवस मनाएकाहुन् । चार दलित संगठनहरू क्रान्तिकारी दलित मुक्तिमोर्चा नेपाल,एकीकृत दलित मुक्ति मोर्चा नेपाल, जातव्यवस्था उन्मूलन मोर्चा नेपाल, संयुक्त दलित अधिकार मञ्च आयोजक रहेका थिए ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले मन्तव्य राख्दै भन्नुभयो,“ नेपालमा राजनीतिक रूपले मात्रै प्रतिगमन नभएर सामाजिक तथा सांस्कृतिक रूपले पनि प्रतिगमन भएको छ। समाजलाई अग्रगामी र प्रगतिशील विचारले नेतृत्व गरेर अगाडि बढाउनुपर्ने हो, त्यसको सट्टामा साम्राज्यवादका एजेण्ट दलाल पुँजीवादीहरू राज्य सत्तामा हावी भएका कारणले गर्दा राजनीतिक रुपले देशमा प्रतिगमन भएको छ। त्यसैगरी सामाजिक तथा सांस्कृतिक रूपले पनि समाजमा प्रतिगमन भएको छ। २०७२ को संविधानले दलितहरुलाई मौलिक अधिकारको व्यवस्था गरेको छ , छुवाछुत कसुर सजाय ऐन २०६८ ले छुवाछुत गर्नु भनेको फौजदारी अभियोगको रुपमा लिएको छ र यदि कसैले जातीय विभेद गर्दछ भने त्यसलाई राज्य नै पीडित नागरिकको पक्षबाट लड्नुपर्ने संवैधानिक र कानुनी व्यवस्था छ।
संविधान र कानुनमा त व्यवस्था छ तर समाजमा सामन्ती प्रवृत्ति कायमै भएका कारणले गर्दाखेरि यी संविधान र कानुनका कुराहरु लागु हुन सकेका छैनन् । अहिले पनि काठमाडौँ जस्तो राजधानीमा डेरा खोज्दा जात लुकाउनुपर्ने अथवा जातका कारणले डेरा नपाउने समस्याहरू छन् ।” नेपालीले अगाडि भन्नुभयो, “कम्युनिस्ट आन्दोलन कमजोर हुँदा दलित अधिकार कमजोर हुने र कम्युनिष्ट आन्दोलन अगाडि बढेको अवस्थामा नै दलितहरूले आफ्ना अधिकार पाउने हुँदा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएर लैजानुपर्ने आजको आवश्यकता छ ।” सुर्खेतमा हालै बलात्कार गरी हत्या गरिएकी इनीशा बिकको सन्दर्भलाई जोड्दै नेपालीले भन्नुभयो, “ती अपराधीहरू, हत्या गर्ने अपराधीहरू चारजना गिरफ्तार भएका छन् तर सिङ्गै राज्य व्यवस्था र राज्य सञ्चालनमा रहेका व्यक्तिहरु, राजनीतिक दलहरु अपराधीहरुलाई चोख्याउने तिर लागिरहेका छन् । धेरै ठूलो अपराध हुँदा पनि मानिसमा एउटा संवेदनशीलता देखिएन । ”

अर्को सन्दर्भमा नेपालीले नेपालमा राष्ट्रिय मुक्ति राष्ट्रिय संघर्षमा नै जानुपर्ने हो कि भन्ने स्थिति सिर्जना भएको पनि बताउनुभयो। जेन्जी विद्रोहपछि गठन भएको सरकार र त्यो सरकारले गरेको निर्वाचन सबैलाई हेर्दा यहाँ अमेरिकी साम्राज्यवादको प्रमुख खेल भएको बुझिन्छ भन्दै नेपालीले लगातार रुपमा इण्डोपेशिफिक रणनीतिका उच्च अधिकारीहरु नेपाल आइरहेका छन् भन्दै राष्टिय स्वाधीनताका लागि नेपालीहरु सतर्क हुनुपर्ने बताउनुुभयो ।

कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका जागृत रायमाझीले मन्तव्य राख्नुभएको थियो। रायमाझीले दलित मुक्तिको प्रश्न केवल दलितको मात्रै मुक्ति नभएर सबै जातीय उत्पीडनको मुक्तिको प्रश्नसँग जोडिएको बताउनुभयो। उहाँले जात प्रणालीले ठगी खाने मानिसहरूको समूह निर्माण गरेको र ठगीधन्दालाई परिष्कृत गर्दै लगेको समेत स्पष्ट गर्नुभयो। दक्षिण एसियामा वर्गीयताको प्रश्नलाई अन्य महादेशको सन्दर्भभन्दा बेग्लै ढंगले बुझ्नुपर्ने उहाँको भनाइ थियो । यहाँ जात प्रणालीले वर्ग पनि निर्माण गरेको उल्लेख गर्नुभयो। उहाँले दक्षिण एसियाको विशिष्टतालाई हेरेर यहाँको क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउनुपर्ने कुरामा जोड दिनुभयो। एकीकृत दलित मुक्तिमोर्चाका संयोजक कृष्ण सेवाले सबै खालका जनताका सङ्घर्षहरू संसदवादमा गएर बिलिन भएको बताउनुभयो। उहाँले संसदवादले दलित मुक्ति आन्दोलनलाई पनि कमजोर पारेको बताउनुभयो। उहाँले दलितहरूलाई मान्छेको रुपमा समाजले अझै पनि हेर्न नसकेको स्थिति रहेको स्पष्ट गर्दै यस खालका समाजको स्थितिलाई बदल्नको लागि संघर्षबाहेक अर्को उपाय नभएको पनि स्पष्ट गर्नुभयो ।

६१औं जातीय विभेद उन्मूलन दिवसका सन्दर्भमा चार दलित संगठनहरूले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिलाई क्रान्तिकारी दलित मुक्तिमोर्चा नेपालकी कार्यालय सदस्य शोभा विश्वकर्माले वाचन गरेर सुनाउनुभएको थियो। कार्यक्रमको अध्यक्षता क्रान्तिकारी दलित मुक्तिमोर्चा नेपालका संयोजक टेकबहादुर विश्वकर्मा र सञ्चालन शान्ति गजमेरले गर्नुभएको थियो। शहिदहरूप्रति एक मिनेट मौन धारण गरिएको थियो।





























