काठमाडौं । क्रान्तिकारी माओवादीसम्बद्ध जनवर्गीय सङ्गठन तथा मोर्चाहरुहरुले आज बुधबार बिहान १० बजेदेखि १२ बजेका बीचमा काठमाडौं, ललितपुर तथा भक्तपुर गरी तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका छन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरुलाई लिएर ती ज्ञापन पत्रहरु दिइएका थिए ।
उपस्थित पत्रकारहरुका माझमा वितरित उक्त ज्ञापनपत्रमा राष्ट्रियतासम्बन्धि ८ वटा बुंदा समावेश गरिएका छन् । जसमा सन् १९५० को सन्धिको खारेजीदेखि त्रिभुवन विमानस्थल निर्माण भारतीय कम्पनीलाई दिने गरी गरिएको निर्णयसमेत् रद्द गर्न माग गरिएको छ । त्यसै गरी जनतन्त्र सम्बन्धि विषयमा १० वटा मागहरु राखिएका छन् । ती मागहरुमा उत्पीडित क्षेत्र, जाति र समुदायको पहिचानसहितको सङ्घीता लागू गर्न माग गर्दै वौद्धिक, साहित्यकार तथा लेखकहरुको प्राज्ञिक स्वतन्त्रतासम्मको कुराहरुलाई सम्बोधन गर्न माग गरिएको छ । त्यसपछि तेस्रो मूल शीर्षक अन्तर्गत राखिएको जनजीविकाको सवालमा १२ वटा मागहरु छन् । ती मागहरुमा स्वदेशमा नै रोजगारीको व्यवस्थादेखि महानगरपालिकाले लगाएको चर्को घरजग्गा करको विषयलाई उठाइएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीको कार्यकक्षमा ज्ञापनपत्र दिन पुगेको टोलीबाट विद्यार्थी नेता फणिन्द्र कार्कीले ज्ञापनपत्र वाचन गरी हस्तान्तरण गरेपछि प्रजिअ सुवेदीले यसलाई सम्बन्धित निकायसम्म पुर्याउने वचनबद्धता जाहेर गरे । साथै, उनले मागपत्रमा गरिएका कुरामा धेरै कुराहरु नीतिगत भएकाले सरकारसंग सम्बन्धित भएको र आफ्नो कार्यक्षेत्र भित्र पर्ने कुराहरुलाई आफूले तुरन्त गर्न प्रयत्नशील रहेको बताए ।
त्यसै गरी, ललितपुरबाट प्राप्त समाचारअनुसार ललितपुरका प्रजिअ ऋषिराम शर्माको कार्यकक्षमा ज्ञापनपत्र बुझाउन गएकाहरुको तर्फबाट केके मल्लले संयुक्त ज्ञापनपत्र वाचन गरेर सुनाएका थिए । त्यसपछि मागपत्रलाई सकारात्मक रुपमा लिंदै प्रजिअ शर्माले उक्त मागपत्र सम्बन्धित निकायमा पुर्याउने र जिल्लासंग सम्बन्धित कामहरु आफूले यथासमयमा नै संबोधन गर्ने बचन पनि दिए । यसका साथै, जिल्लावासीहरुको हकहित र आवश्यकताहरुसंग जोडेर क्रान्तिकारी माओवादीद्वारा अघि सारिने कार्यक्रमहरुमा आफ्नो साथ रहने कुरा पनि जाहेर गरे ।