काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरणले प्रा.डा. गोविन्द केसीले सुरु गरेको आठौं पटकको आमरण अनशनप्रति ऐक्यवद्धता जाहेर गरेका छन् ।
आज शुक्रवार दिउँसो केसी अनसन बसिरहेको शिक्षण अस्पतालमा पुगी उनले ऐक्यवद्धता जनाएका हुन् ।
केसीसँगको भेटका क्रममा वैद्यले शैक्षिक मागहरुप्रतिको चिन्तामा देशभरका शिक्षाप्रेमी, न्यायप्रेमीहरुका साथै युवा विद्यार्थीहरु एकाकार रहेकाे भन्दै भ्रष्टाचारीहरुलाई कारबाहीको दायरामा ल्याउन चालेको यो अभियानमा अाफूहरूकाे पूर्ण साथ रहेकाे बताए ।
अनसनरत डा. केसीले यो समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा विचार गर्न अाग्रह गरे ।
त्यसपछि अध्यक्ष वैद्यले यसबारेमा सम्बन्धित पक्ष बेलैमा गम्भीर बन्नु जरुरी रहेकाे भन्दै ‘सरकार बढि सम्वेदनशील हुनु पर्ने र समस्या समाधान गर्नतिर तुरन्त पहल लिनुपर्ने धाराणा राखे ।
अभियान सफल पार्नु ठूलो कुरा भएकाे भन्दै उनले आफ्नो स्वास्थ्यको पनि ख्याल गर्न डा.केसीलार्इ वैद्यले सुझाव दिदै राजनीतिक दलहरु बांडिए पनि धेरैले यो अभियानमा साथ दिने र नागरिक समाज पनि साथमा रहने बताए ।
उपस्थितमध्ये धेरैले डा. केसीको उमेर धेरै भइसकेको र पटकपटक गरी आठौं पटकको आमरण अनसनले उनको स्वास्थ्यमा पनि निकै समस्या ल्याएको कुराकानी गरिरहेका थिए ।
डा. केसी लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने लगायतका मागहरु अघि सारेर विगत केही दिनदेखि आमरण अनसनमा छन् ।