चिनियाँ राजदूतले लेखे- सबै जातिको सहयात्रा र साझा भविष्य

चिनियाँ राजदूतले लेखे- सबै जातिको सहयात्रा र साझा भविष्य

चीन देशभित्रको जातीय एकता कायम राख्नुका साथै चिनियाँ ज्ञानको प्रयोगद्वारा समृद्धि प्रवर्द्धन गर्ने मार्गदर्शन निर्माण गर्न चाहन्छ ।
सन् २०१६ जुलाई १ मा ‘जनवादी गणतन्त्र चीन जातीय एकता तथा उन्नति प्रवर्द्धन कानुन’ औपचारिक रूपमा कार्यान्वयन भयो । नयाँ युगको जातीय मामिलाको पहिलो अलग कानुनका रूपमा रहेको यस कानुनले पहिलोपटक महासचिव सी चिन फिङको जातीय मामिलासम्बन्धी कार्यलाई जोड दिने र त्यसमा आवश्यक सुधार गर्नुपर्ने महत्वपूर्ण विचारधारालाई कानुनमा समावेश गरेको छ । यो जातीय समस्या समाधान गर्ने चिनियाँ विशेषतायुक्त कानुनी इतिहासको एक कोसेढुंगा हो ।

चीनको इतिहास भनेकै विभिन्न जाति आपसमा मिसिई बनेको विविधतामा एकतायुक्त इतिहास हो । चीनका विभिन्न जातिका जनताले एक–आपसमा आवतजावत, आदानप्रदान गर्दै मिसिँदै साझा रूपमा गौरवशाली चिनियाँ संस्कृतिको निर्माण गरे । महान् जातीय स्पिरिट सिर्जना गरे । अन्ततः रक्तवंश जोडिएको, एक समान आस्था र संस्कृति भएको, परस्पर आधारित अर्थ व्यवस्था भएको, भावनात्मक रूपमा नजिक चिनियाँ जातिको समष्टिको निर्माण भयो ।

जातीय एकता चिनियाँ विभिन्न जातिका जनताको जीवन रेखा हो । चिनियाँ जातिको समष्टिको चेतना जातीय एकताको आधार हो । एक सय वर्षदेखि चिनियाँ कम्युनिस्ट पार्टीले मार्क्सवादको जातिसम्बन्धी सिद्धान्तलाई चीनको जातीय समस्याको वास्तविक अवस्था र चीनको उत्कृष्ट परम्परागत संस्कृतिसँग एकाकार गरेको छ । त्यसको व्यावहारिक अभ्यासमा चिनियाँ कम्युनिस्ट पार्टीको जातीय मामिलासम्बन्धी कार्यलाई परिमार्जन गर्ने उपाय पत्ता लगाई जातीय समस्या समाधान गर्ने चिनियाँ विशेषतायुक्त सही मार्ग निर्माण गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ महाधिवेशनयता महासचिव सी जिन फिङको जातीय मामिलासम्बन्धी कार्यलाई जोड दिने र त्यसमा आवश्यक सुधार गर्ने महत्वपूर्ण विचारधारा निर्माण भएको छ ।

जातीय एकता तथा उन्नति प्रवर्द्धन कानुन निर्माणको उद्देश्य राष्ट्रिय कानुन निर्माण प्रक्रियाद्वारा जातीय मामिलासम्बन्धी कार्यमा चीनले हासिल गरेको महत्वपूर्ण सैद्धान्तिक तथा व्यावहारिक उपलब्धिलाई राष्ट्रिय मनोबलमा परिणत गरी चिनियाँ जातिको समष्टिको चेतनालाई सशक्त बनाई एकता र केन्द्राभिमुख शक्तिलाई अझ मजबुत बनाउनु हो । युगको आवश्यकताअनुरूप जातीय एकता तथा उन्नति प्रवर्द्धन कानुन निर्माणले चिनियाँ जातिको इतिहासबाट भविष्यतर्फ, परम्पराबाट आधुनिकतातर्फ र विविधताबाट एकताबद्ध हुने विकासको लहरको सही सम्बोधन गरेको छ । यसमा चीनका विभिन्न जातिका जनताको साझा इच्छा प्रतिबिम्बित भएको छ । जातीय एकता तथा उन्नति प्रवर्द्धन कानुनमा ७ अध्याय ६५ धारा रहेका छन् । यसले नयाँ युगमा चीनको जातीय एकता तथा उन्नतिसम्बन्धी निर्देशक विचार, आधारभूत सिद्धान्त, प्रमुख कार्य, प्रत्याभूतिका उपाय र कानुनी जिम्मेवारी व्यवस्थित रूपमा प्रस्तुत गरेको छ । कानुनमा ‘पाँचवटा साझा’ रहेको चिनियाँ जातिको इतिहाससम्बन्धी धारणा र महासचिव सी जिन फिङको जातीय मामिलासम्बन्धी कार्यलाई जोड दिने र त्यसमा आवश्यक सुधार गर्ने महत्वपूर्ण विचारधाराका ‘बाह्र अनिवार्यता’ को मूल तत्व समाविष्ट छन् ।

चिनियाँ जातिको समष्टिको चेतनालाई दृढतापूर्वक स्थापित गर्ने शिक्षालाई विभिन्न शिक्षा प्रणालीमा समावेश गरी साझा भावनात्मक घर–आँगन निर्माण गर्ने काम भइरहेको छ । साझा समानताको प्रवर्द्धन गर्नु भनेको असमानता हटाउनु होइन र असमानताको सम्मान गर्नु भनेको असमानतालाई घनीभूत बनाउनु होइन ।
देशभर राष्ट्रिय भाषा र लिपिको प्रचार गरी अल्पसंख्यक जातिको भाषा तथा लिपिको प्रयोग र अध्ययन पनि सुनिश्चित बनाइएको छ । विभिन्न जातिको उत्कृष्ट संस्कृतिको निरन्तरता र विकासमा सहयोग पुर्‍याई विभिन्न जतिबिचको आदानप्रदान र सम्मिश्रणलाई उत्प्रेरित गरी साझा समृद्धिको अवस्था ल्याउने काम भएको छ ।
अल्पसंख्यक जातीय क्षेत्रमा उच्च गुणस्तरीय विकासको सरकारी नीति कार्यान्वयन गर्ने, ती क्षेत्रको विकासलाई राष्ट्रिय विकासको एजेन्डाभित्र पर्ने, विभिन्न जातिका जनताको सुन्दर जीवनप्रतिको चाहना पूरा गर्ने, ‘चिनियाँ शैलीको आधुनिकीकरणद्वारा साझा समृद्धिको अवस्थामा पुग्दा कुनै पनि जाति छुट्नुहुँदैन’ भन्ने वाचा पूरा गर्ने, जातीय एकता तथा उन्नति बिगार्ने, जातीय विखण्डन ल्याउने कार्य गर्ने देशबाहिर रहेका संस्था र व्यक्तिलाई कानुनी कारवाही गर्ने, देशको परिस्थिति सुहाउँदो, नियम कानुनसम्मत र अन्तर्राष्ट्रिय अभ्याससँग मेल खाने यो कदम राष्ट्रिय एकता, अखण्डता र सामाजिक स्थिरता कायम गरिराख्न सार्वभौम शक्ति प्रयोग गरी चलिआएको अत्यन्त आवश्यक कदम हो ।

जातीय एकता तथा उन्नति प्रवर्द्धन कानुनको कार्यान्वयनले आधार मजबुत बनाउने, पूर्वअपेक्षा स्थिर राख्ने र दीर्घकालीन फाइदा दिलाउने कुरा सुनिश्चित गर्छ । साथै चिनियाँ जातिको एकता तथा उन्नतिमा उच्च गुणस्तरको विकास हुनेछ, विभिन्न जातिका चिनियाँ जनतालाई अनारका दानाझैँ एकसाथ मिलेर बस्न उत्प्रेरित गर्नेछ र चिनियाँ जातिलाई एकताबद्ध गरी चिनियाँ शैलीको आधुनिकीरणलाई अघि बढाउने विशाल शक्तिको निर्माण गर्नेछ ।

चीन र नेपाल दुवै बहुजातीय देश हुन्, जातीय समस्या समाधान गर्नु, विभिन्न जातिको एकता र उन्नति हरेक आधुनिक देशको शासन व्यवस्थाको कर्तव्य हो । चीनले कहिले पनि संकुचित जातिवादको दृष्टिकोणबाट जातीय समस्यालाई हेरेको छैन, सँगै ‘विश्वका सबै एक परिवार हुन्’, भन्ने भावना राखी देशभित्रको जातीय एकता कायम राख्ने मात्र होइन, चिनियाँ ज्ञानको प्रयोगद्वारा समृद्धि प्रवर्द्धन गर्ने मार्गदर्शन निर्माण गर्न चाहन्छ । त्यही मार्गदर्शन विश्वका बहुजातीय देशसमक्ष प्रस्तुत गरी मानवजातिको साझा भाग्यको समष्टि निर्माणको दिशामा दृढतापूर्वक अघि बढी मानवजातिको अझ सुन्दर भविष्य निर्माण गर्न चाहन्छ ।

(माओमिङ नेपालका लागि चीनका राजदूत हुन्) – नयाँ पत्रिकाबाट