नेपाल दोस्रोपटक एसिया कपमा छनोट

नेपाल दोस्रोपटक एसिया कपमा छनोट

आसिफ शेखको शतक तथा गुल्शन झाको अर्धशतक मद्दतमा नेपालले एसिसी प्रिमियर कपको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई ४४ रनले हराउँदै एसिया कपमा स्थान बनाएको छ।

शनिबार मलेसियाको बायुमास ओभलमा नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१४ रन लक्ष्य दिएको थियो। प्रत्युत्तरमा युएईले ४९.१ ओभरमा सबै विकेट गुमाउँदा मात्र ३०५ रन बनाउन सक्यो।

यो जितसँगै नेपाल सन् २०२७ को एसिया कपमा स्थान बनाउन सफल भएको हो। नेपाल र युएई दुबै दोस्रोपटक एसिया कप खेल्ने योजनामा थिए। सन् २०२५ को एसिया कपमा नेपाललाई हराउँदै युएई पहिलोपटक प्रतियोगितामा सहभागी भएको थियो। त्यसअघि नेपालले सन् २०२३ मा पनि युएईलाई नै हराउँदै पहिलोपटक एसिया कप खेलेको थियो।

अब, बंगलादेशमा अर्को वर्ष हुने एसिया कपमा सर्वाधिक च्याम्पियन भारतसँगै श्रीलंका, पाकिस्तान, आयोजक बंगलादेश र अफगानिस्तान खेल्ने पक्का भएको छ।

जवाफमा  युएईका पाँचौ क्रमका ब्याटर राहुल चोप्राले सर्वाधिक १०५ बलमा तीन चौका र ४ छक्कासहित १०० रन जोडे  त्यसबाहेक सोहाइव खानले ५७ बलमा चार चौका र २ छक्कासहित ५२ रन बनाएका हुन् । त्यस्तै, ओपनर तानिश सुरीले २८ बलमा चार चौका र ३ छक्कासहित ४२ रन बनाए । कप्तान हरप्रित सिंहले ३३ रनको योगदान गरेका हुन् ।

नेपालका बलर करण केसीले सर्वाधिक तीन तथा ललित राजवंशीले दुई विकेट लिए । कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद र गुल्शन झाले समान एक विकेट लिएका थिए ।

यसअघि कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ गर्ने गरेको निर्णय प्रभावकारी रह्यो। नेपाली शीर्षक्रमका ब्याटरले एसिया कप छनोटको निर्णायक खेलमा खुलेरै ब्याटिङ गरे। नेपालको ओपनिङदेखि मध्यक्रम सबैले सानदार ब्याटिङ गरेका हुन्।

ओपनर आसिफ शेखले तीन वर्षपछि शतक बनाए। उनले १०६ बलमा १०२ रन बनाएका हुन्। २५ वर्षीय ब्याटरले ८ चौका र ४ छक्का प्रहार गरेका थिए। उनले सतक बनाउँदा नेपालले ३४ ओभरमा दुई विकेट गुमाएर १८५ रन बनाइसकेको थियो।

आसिफको यो दोस्रो सतक हो। यसअघि उनले कीर्तिपुर मैदानमा पिएनजीविरुद्ध सन् २०२३ मा पहिलो पटक सतक बनाएका थिए। ७६ एकदिवसीय खेल खेलिरहेका आसिफले हालसम्म दुई सतक र १५ अर्धसतक बनाएका छन्।

अर्का ओपनर अर्जुन कुमालले आसिफसँगै उत्कृष्ट सुरुआत गरेका थिए। दुई खेलाडीबीच पहिलो विकेटको लागि ९७ रनको साझेदारी भएपछि अन्य ब्याटरलाई समेत बिना दबाब खेल्न सहज भएको थियो। युवा ओपनर अर्जुनले ६३ बलमा ४३ रन बनाएर रन आउट भए।

गुल्शन झाले आक्रामक अर्धसतक बनाए। पाँचौं नम्बर क्रिजमा आएका उनले ३८ बलमा तीन चौका र ४ छक्का हिर्काए। छक्का हान्ने क्रममा उनलाई अबरार अहमदले तानिस सुरीबाट क्याच गराएका थिए।

पूर्वकप्तान रोहितकुमार पौडेलले पनि ४४ बलमा ४० रनको योगदान गरे। उनले २ चौका प्रहार गरेका थिए। रोहितले क्रिजमा आसिफ र गुल्शनसँग दुई बलियो साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पुर्याएका थिए। रोहित र आसिफबीच तेस्रो विकेटको लागि ५३ बलमा ६८ रनको साझेदारी भयो। चौथो विकेटको लागि रोहितले गुल्शनसँग ५४ बलमा ६७ रनको तेस्रो ठूलो साझेदारी गरेका हुन्।

बसिर अहमद १५ रनमा अविजित रहे। उनले चार बलमा दुई चौका र एक छक्का हिर्काएका थिए। यसअघि तेस्रो नम्बर क्रिजमा आएका इशान पाण्डे १३ रन बनाएर आउट भए। दीपेन्द्रसिंह ऐरीले पनि १८ बलमा १८ रन बनाए।

युएईका अबरार अहमदले सर्वाधिक ४ विकेट लिएका थिए। तर, उनले ८ ओभरमा सर्वाधिक ६२ रन नै खर्चिए। ९ ओभरमा ६२ रन बेहोरेका खुजाइमा तान्विरले पनि दुई विकेट लिए।

फाइनलसँगै युएईको पनि अपराजित यात्रामा पूर्णविराम लागेको छ। उसले समूह ‘बी’मा चारसहित सेमिफाइनल गरी कूल ५ खेल खेल्दा हार बेहोर्नु परेको थिएन। युएईले समूह चरणमा कतार, कुवेत, सिंगापुर र ओमान तथा सेमिफाइनलमा हङकङलाई हराएको थियो।

नेपाल भने एक खेल हारेर फाइनलमा पुगेको थियो। नेपाल पहिलो खेलमा बहराइन, दोस्रो खेलमा मलेसिया र तेस्रो खेलमा साउदी अरेबियालाई हराउँदै एक खेलअघि नै सेमिफाइनलमा पुग्यो। तर, समूहको अन्तिम खेलमा हङकङसँग पराजित हुन पुग्यो। सेमिफाइनलमा नेपालले ओमानविरुद्ध अविश्वसनीय जित निकालेको थियो।