हेटौडा । अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव प्रवेश रुम्बाका बुबा हिवाङ दोर्जे लामाको निधनको २१ औं दिनमा संगठनको केन्द्रीय समितिको आयोजनमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ ।
मकवानपुर जिल्ला मनहरी गापा वडा नं ८ स्थित मृतकको निवासमा साउन १२ गते गरिएको कार्यक्रमको अध्यक्षता संगठनका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले गर्नुभएको थियो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्यूरो सदस्य तथा ११ नं व्यूरोका इन्चार्ज चन्द्रहरि सुवेदी अटलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि र कार्यक्रमका अध्यक्षले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी मकवानपुर जिल्लाका सेक्रेटरी वीर बहादुर घलान, मनहरि गाउँपालिका उपाध्यक्ष सीता कुलामी मगर, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला सेक्रेटरी सद्धाम अन्सारी लगायतका नेताहरुको आतिथ्यता तथा उपस्थिति रहेको थियो ।
श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन संगठनका केन्द्रीय सचिव तथा बागमती प्रदेश इन्चार्ज दिनेश जोशीले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि, कार्यक्रमका अध्यक्ष र अतिथिहरुले संयुक्त रुपमा परिवारलाई समवेदना पत्र हस्तान्तरण गर्नुभएको थियो ।

संगठनको केन्द्रीय समितिद्वारा हस्तान्तरित समवेदना पत्रमा लेखिएको छ, “हाम्रो संगठन अखिल (क्रान्तिकार)का केन्द्रीय सचिव कमरेड प्रवेश रुम्बाका आदरणीय बुबा हिवाङ दोर्जे लामाको ७६ वर्षको उमेरमा २०८३ असार २४ गते रातको १२ बजे मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नं ८ स्थित आफ्नै निवासमा भएको दुःखद् निधनप्रति अखिल (क्रान्तिकारी) केन्द्रीय समिति गहिरो दुःख व्यक्त गर्दछ । आदरणीय बुबा हिवाङ दोर्जे लामाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल कमरेड प्रवेश रुम्बा तथा सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।”
































