विप्लव माओवादीले फेरि गर्यो नेपाल बन्दको घोषणा

विप्लव माओवादीले फेरि गर्यो नेपाल बन्दको घोषणा

biplab

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले फेरि नेपाल बन्द सहित आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । सर्लाहीको सुकुम्वासी बस्तीमा सरकारले दमन गरेको भन्दै विपल्व माओवादीले साउन १० गते नेपाल बन्दको घोषणा गरेको हो । यसअघि जेठ २७ गते पनि विप्लव माओवादीले नेपाल बन्द गरेको थियो ।

विप्लव माओवादीको केन्द्रीय कार्यालयको तर्फबाट शुक्रबार राजधानीको पत्रकार सम्मेलन गरी साउन १ देखिको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आन्दोलन घोषणा कार्यक्रममा विप्लव भने उपस्थित थिएनन् ।

कार्यक्रमअनुसार पहिलो चरणमा साउन १ गते देशव्यापी पत्रकार सम्मेलन तथा भण्डाफोर गर्ने, २ गते बिहान ९–११ बजेसम्म देशव्यापी चक्काजाम, ३ गते देशव्यापी अन्तरक्रिया, ५ गते देशव्यापी जनप्रदर्शन र १० गते नेपाल बन्द तथा बन्दमा मानवअधिकारवादी परिचालन गर्ने रहेको छ ।

सरकारले सुरक्षा फौज परिचालन गरेर सर्लाहीको सागरनाथ सुकुम्वासी बस्तीमा बर्बर दमनको क्रमलाई जारी राखेको भन्दै विरोधस्वरुप नेपाल बन्दको घोषणा गरेको प्रवक्ता खडगबहादुर विश्वकर्माले जनाए ।

सुकुम्वासीमाथि दमन बन्द गरेर घाइतको निशुल्क उपचार र सुकुम्वासीको भौतिक सम्पत्तिको क्षतिपूर्ति दिन सरकारसँग माग गरिएको छ ।